+
+

मोफसलका होटलमा ८० प्रतिशतभन्दा बढी भारतीय, पर्यटकको रुपमा छैन गणना

अच्युत पुरी अच्युत पुरी
२०८० असार १० गते १७:४०
फाइल तस्वीर

१० असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशमा रहेका ४६ वटा पर्यटकीय होटलमध्ये १० वटा होटल छनोट गरी गरेको आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन (साउन-पुस)अनुसार यी होटलमा कुल ५ हजार ३६ जना विदेशी पाहुनाले सेवा लिएका छन् । त्यसमध्ये ४ हजार ४१२ जना भारतीय हुन् । चीनका १४९ जना र तेस्रो मुलुकका ४७५ जना पाहुनाले यी होटलमा सेवा लिएका छन् । त्यहाँ सेवा लिनेमध्ये ८७ प्रतिशत भारतीय हुन् ।

यस्तै लुम्बिनी प्रदेशबाट छानिएका १० होटलमा ६ महिनाको अवधिमा कुल १५ हजार १९९ जना विदेशीले सेवा लिएका छन् । जसमध्ये भारतीयको संख्या १२ हजार ७११ रहेको छ । यस अवधिमा चिनियाँ पर्यटकको संख्या ४६८ जना रहेको छ भने तेस्रो मुलुकका २ हजार २० जनाले यी होटलमा सेवा लिएका छन् । यो प्रदेशमा सेवा लिएकामध्ये ८३ प्रतिशत भारतीय छन् ।

यस्तै प्रकारको अध्ययन कर्णाली प्रदेशमा गर्दा १० वटा होटलले सेवा दिएका भारतीय नागरिकको संख्या ८०.९७ प्रतिशतले वृद्धि हुन पुगेको नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यस प्रदेशमा चिनियाँ नागरिकको आगमन उल्लेख देखिएको छैन ।

तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या भने केही बढ्न थालेको अध्ययनमा देखिएको छ ।

यी तीन अध्ययन प्रतिवेदन अनुसार अहिले मोफसलका अधिकांश होटलहरुका धेरैजसो पाहुना भारतीय हुन् ।

होटल संघ नेपाल (हान)का कोषाध्यक्ष युवराज श्रेष्ठ यो तथ्य यथार्थ रहेको बताउँछन् ।

उनका अनुसार काठमाडौंदेखि ग्रामीण भेगसम्म अहिले होटलका मुख्य पाहुना भारतीय छन् ।

यसले होटलको अक्कुपेन्सी बढाउन समेत ठूलो भूमिका खेलेको उनी बताउँछन् । ‘पाँचतारेदेखि सामान्य होटल/लजसम्मका आकर्षक पाहुना हुन् भारतीय नागरिक,’ उनले भने, ‘खासगरी ठूलो समूहमा आउनेहरुका कारण साना तथा मझौला होटलले राम्रो बिजनेस पाएका छन् ।’

सरकारको परिभाषमा उनीहरु पर्यटक होइनन्

होटलमा उल्लेख्य बिजनेस दिने भारतीयमध्ये कति जना पर्यटक हुन् र कति होइनन् भन्ने यकिन तथ्यांक भने नेपालमा कसैसँग पनि छैन । किनकि सडक मार्गबाट भित्रने भारतीयको तथ्यांक सरकारले राख्ने गरेको छैन र उनीहरुलाई पर्यटकका रुपमा गणना गर्ने गरेको पनि छैन ।

नेपाल सरकारले भारतीय नागरिकमध्ये जहाज चढेर त्रिभुवन विमानस्थल वा अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भारतीयको मात्र रेकर्ड राख्छ । यस्तो रेकर्ड अध्यागमन विभागले राख्ने गर्छ । सोही तथ्यांकलाई नेपाल पर्यटन बोर्डले पर्यटकीय प्रयोजनका लागि प्रयोग गर्छ ।

स्थल नाकाबाट प्रवेश गरेर करोडौं रुपैयाँ खर्च गर्ने भारतीय नागरिक समेत पर्यटक मानिँदैन । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने अहिलेको प्रावधानले भीआईपी भारतीय पनि स्थलमार्गबाट नेपाल आउँदा पर्यटक नमानिने अवस्था रहेको स्वीकार गर्छन् ।

होटल संघ नेपाल (हान)का अनुसार अहिले नेपालका होटलहरुले वार्षिक २५ लाखभन्दा बढी पर्यटकलाई सेवा दिन सक्छन् ।

कोभिड महामारीभन्दा अगाडि सन् २०१८ र २०१९ मा पर्यटक आगमन वाषिर्क १० लाख नाघेको थियो । सो समयमा होटलहरुले ८० प्रतिशत भन्दा माथिको अक्कुपेन्सी रहेको बताएका थिए । यसले औपचारिक गणना भएका पर्यटक हाराहारमै थप पाहुना होटलमा बसेको देखिन्छ । यो बीचको ग्याप गणना नभएका (स्थलमार्ग हुँदै आएका) भारतीयका कारण भएको हानका कार्यकारी कोषाध्यक्ष श्रेष्ठले बताए ।

पर्यटन ऐन २०३५ भन्छ, ‘नेपालमा आउने विदेशी नागरिक र नेपालको एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने नेपाली नै पर्यटक हुन् ।’ सो ऐनअनुसार पर्यटक भन्नाले विदेशी मुलुकबाट भ्रमणका लागि नेपालमा आउने गैरनेपाली नागरिक भन्ने सम्झनुपर्छ । तर, प्रत्यक वर्ष छिमेकी देश भारतबाट स्थलमार्ग भएर आउने लाखौं भारतीय पर्यटकको गणनामा पर्दैनन् ।
त्यही भारतको नयाँ दिल्लीबाट २ घण्टाको जहाज चढेर काठमाडौं ओर्लने प्रत्येक भारतीय नागरिक भने पर्यटक मानिन्छ ।

काठमाडौंमा एक रुपैयाँ खर्च नगरी ३० मिनेट मात्र बसेर फर्किए पनि जहाज चढेर आएकाहरु विदेशी पर्यटकको लिस्टमा पर्छन् ।

संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको परिभाषाअनुसार कुनै व्यक्तिले जुनसुकै प्रयोजनमा होस्, आफ्नो थातथलो छाडेर छाडेर कम्तिमा २४ घण्टा अन्यत्रै बिताउँछ भने उ पर्यटक हो । अध्यागमन विभागबाट पासपोर्टमा छाप लागेको तेस्रो मुलुकको नागरिक लुम्बिनीमा ३० मिनेट बिताएर र्फकन्छ भने त्यो नेपालको नजरमा पर्यटक हो । उसलाई पर्यटकका रुपमा गणना गरिन्छ ।

आफ्नै सवारी साधन लिएर भैरहवा, नेपालगन्ज, विराटनगर र वीरगन्जका तारे होटलमा रातभर क्यासिनो खेल्ने र खुलेर खर्च गर्ने भारतीय नागरिक नेपालको नजरमा पर्यटक होइन । बिहारमा मदिरामा प्रतिबन्ध लागेपछि सीमावर्ती नेपालका होटल तथा रेष्टुरेन्टमा भारतीयहरु खचाखच छन् । तर, त्यहाँ जति खर्च गरे पनि उनीहरुले पर्यटकको मान्यता प्राप्त गर्दैनन् ।

पर्यटन मन्त्रालयले दिन सकेनन् गणनाको निरन्तरता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०१७ मा स्थलमार्गबाट आउने नागरिकको तथ्यांक संकलनको सुरुवात गरेको थियो । सो वर्ष हवाईमार्गबाट १ लाख ६० हजार १ सय ३२ जना भारतीय नेपाल आएका थिए । स्थलमार्गबाट १० लाख २३ हजार ३ सय ३० जना भारतीय भित्रिएको तथ्यांक मन्त्रालयले सो वर्ष सार्वजनिक गरेको थियो । सो वर्ष २४ घण्टाभन्दा समय नेपालमा रहेर स्थलमार्गबाटै फिर्ता भएका भारतीयलाई गणना गरिएको मन्त्रालयले बताएको थियो । त्यसपछि भने पर्यटनले यस्तो तथ्यांक निकाल्न छाड्यो । यो पनि अनुमानमा आधारित तथ्यांक थियो । जसमा वर्षभर भित्रिएका भारतीय बस, जिप, कारको तथ्यांक लिएर एक दिनभन्दा बढी बसेर फर्किएका यस्ता गाडीमा कति यात्रु हुन सक्लान् भन्ने अनुमानमा आधारित रहेर यो तथ्यांक निकालिएको थियो ।

नेपाल र भारतको मूख्य नाकामा बस्ने अध्यागमन विभागले समेत तेस्रो मुलुकका नागरिकको मात्र गणना गर्छ । अहिले स्थलमार्गबाट कति भारतीय नेपाल प्रवेश गर्छन् र नेपालमा बस्छन् भन्ने तथ्यांक छैन । पर्यटन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सो समयमा अध्यागन र नेपाल पर्यटन बोर्डबीच तथ्यांक संकलन गर्ने विषयमा बारम्बार विवाद भइरहृयो । सोहीकारण केही समय हवाई मार्गबाट आएका विदेशीको तथ्यांक समेत नियमित हुन सकेको थिए । त्यसपछि यो अभियानमै ब्रेक लाग्यो ।

भारतीयलाई पर्यटकका रुपमा गणनामा के भइरहेको छ ?

केही समय अगाडी नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकको संख्या गणनाका लागि पर्यटन मन्त्रालयमार्फत गृह मन्त्रालयसमक्ष पहल थालेको थियो ।

सोका लागि हरेक बोर्डरमा रहने चेकपोष्टमा २४ घण्टा भन्दा लामो समय बस्ने भारतीय नागरिकलाई एक फारम भराउने र उनीहरुको तथ्यांक राख्ने योजना रहेको बोर्डका निर्देशक लामिछानेले बताए ।

‘हामीले प्रस्ताव गर्‍यौं, तर गृहबाट थप चासो दिइएन, त्यसकारण योजना अहिले पनि पेन्डिङमै छ,’ उनले भने ।

नेपाल भित्रने पर्यटकको संख्या आजकै दिनमा पनि २५ लाखभन्दा माथिको हो भन्नेमा द्विविधा नरहेको उनको दाबी छ ।

भारतीयको संख्या गणना हुन नसक्दा नेपालमा आउने पर्यटकको तथ्यांक नमिलेको उनले बताए । यसका लागि बोर्डले पहल भने जारी नै राख्ने उनको भनाइ छ ।

पर्यटक आगमनमा तथ्यांकको ठूलो भूमिका हुने भन्दै उनले यसले थप पर्यटक आउन उत्प्रेरित गर्ने उनले बताए ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?