१८ असार, काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत महिलालाई ‘तिम्रो फिगरको फ्यान हुँ’ भन्दै म्यासेज लेखेको विवरण सार्वजनिक भएको छ ।
पीडितले सामाजिक सञ्जाल ट्वीटरमार्फत जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी निरीक्षक सुवास तिम्सिनाले गरेको म्यासेज कुराकानीको स्क्रिनसट सार्वजनिक गर्दै भनेकी छन्, ‘सुरक्षा सेवक भएर उनले महिलामा असुरक्षा पैदा गरिरहेका छन्, नेपाल प्रहरीको शक्तिमार्फत ।’
स्क्रिनसटमा उल्लेख भएअनुसार राति ११ बजे गरिएको तिम्सिनाले फोटो पठाउन भनेका छन् । ‘ट्रस्ट मी, इट्स विट्विन अस (विश्वास गर, यो दुईजनाबीच मात्र रहनेछ)’ उनले भनेका छन् ।
पीडितले आफू र आफ्नो शरीरबारे आफू एकदम ‘प्राइभेट’ रहेको भन्दै नपठाउने भनेकी छन् ।
‘आई ह्याभ ड्यू रेस्पेक्ट टुवार्डस् यू’ भन्दै उनले फेरि फोटो पठाउन भनेका छन् । जवाफमा पीडितले ‘म कसरी विश्वास गर्नसक्छु, अहिलेसम्म भेट पनि भएको छैन’ भनेकी छन् । तिम्सिनाले आफ्नो ‘क्लासले पनि नराम्रो गर्न नदिने’ भन्दै उनलाई फोटो पठाउन दबाब दिएको देखिन्छ ।
तिम्सिनाले फेरि तिमी भिडियो कलमा सहज महसुस गर्छौं भन्दै प्रश्न गरेका छन् । पीडितले ट्वीटरमा नयाँ आईडी खोलेर यो स्क्रीनसटको विवरण पोष्ट गर्दै सञ्चारमाध्यम र प्रहरी प्रधान कार्यालय, नक्सालको ट्वीटर ह्याण्डललाई मेन्सन गरेकी छन् ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले सामाजिक सञ्जालमा आएको विषय आफ्नो नोटिसमा आइसकेको बताए । उनले अनलाइनखबरसँग भने, ‘मैले यस विषयमा सत्यतथ्य बुझेर छानबिन गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, कास्कीलाई भनिसकेको छु ।’
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी अजय केसीले घटनाबारे जानकारी पाएलगत्तै छानबिन समिति गठन गरिएको बताए । उनले भने, ‘इलाका प्रहरी कार्यालय, सिसुवाका डीएसपी प्रकाश दाहालको नेतृत्वमा समिति गठन गरेर छानबिन थालेका छौं, के भएको हो, समितिले दिने निष्कर्षका आधारमा अघि बढ्छौं ।’
आरोपी तिम्सिनाले चाहिँ सार्वजनिक स्क्रीन सटमा देखिएको आईडी आफूले चलाउने नगरेको जिकिर गरेका छन् ।
‘म वैशाख, जेठतिर तालिममा काठमाडौं गएको थिएँ, त्यतिबेलादेखि बन्द आईडी मैले अहिलेसम्म चलाएको छैन’, उनले भने, ‘बाहिर आएपछि कोसँग कुरा गरेको होला भनेर हेर्दा त्यो पनि थाहा हुने खालको छैन ।’
यो विषयबारे थाहा पाएपछि सोमबार आफूले छानबिन गरिदिन साइबर ब्यूरोलाई निवेदन दिएको समेत उनले बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4