+
+

सरकारी स्वास्थ्य संस्थामा एन्टी रेबिज भ्याक्सिनको अभाव

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते २०:२७

२२ असार, काठमाडौं । समयमा नै खरिद प्रक्रिया नहुँदा एन्टी रेबिज भ्याक्सिन (एआरभी) खोपको अभाव भएको छ । स्टक कम भएपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सातै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई केही समयका लागि आफैंले व्यवस्थापन गर्न पत्राचार गरेको छ ।

कुकुर, बाँदरलगायत जनावरले टोकेपछि एन्टी रेबिज भ्याक्सिन लगाइन्छ । चिकित्सकका अनुसार जनावरले टोकेको थाहा पाएपछि खोप सकेसम्म चाँडै लगाउनुपर्छ ।

तर स्वास्थ्य सेवा विभागले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई खोप उपलब्ध नगराएको महिनौं भइसक्यो । जसका कारण सरकारले निःशुल्क उपलब्ध गराउने अस्पतालदेखि स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टी रेबिज भ्याक्सिन उपलब्ध छैन ।

लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ३३ वटा स्वास्थ्य संस्थालाई एन्टी रेबिज भ्याक्सिन वितरण गर्दै आएको थियो । तर एक महिनादेखि  खोप उपलब्ध गराउन नसकिएको केन्द्रका प्रमुख रोशन चौधरी बताउँछन् ।

‘स्वास्थ्य विभागले नदिएपछि हामीसँग खोप नै छैन । ३३ वटै स्वास्थ्य संस्थामा पनि खोप छैन’ चौधरीले भने, ‘स्वास्थ्य संस्थाबाट कुकुर तथा जनावरले टोक्यो खोप उपलब्ध गराउन माग आउँछ, माथिबाट नआएपछि हामीले कहाँबाट दिने !’

अरू प्रदेशको अवस्था पनि उस्तै छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख निरल अर्याल दुई महिनादेखि सरकारबाट खोप उपलब्ध नभएको बताउँछन् ।

‘अहिले स्वास्थ्य संस्थाको माग अत्यधिक छ । खोप प्रदेश सरकारले आफैंले किनेर वितरण गर्न सक्दैनौं’ अर्यालले भने, ‘प्रदेशभरका नागरिकका लागि केही भाइल सेती अस्पताललाई उपलब्ध छ । कुकुर वा अन्य जनावरले टोकेमा सम्बन्धित चिकित्सकले जोखिम प्रमाणित गरेको अवस्थामा मात्रै दिने गरेका छौं ।’

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पशु चिकित्सक डा.रोशिका श्रेष्ठका अनुसार देशभर करिब तीन लाख हाराहारीमा कुकुरलगायत जनावरको टोकाइबाट प्रभावित हुने अनुमान गरिन्छ । नेपालमा रेबिजका कारण वार्षिक १०० जनासम्मले ज्यान गुमाउने गरेको सरकारी विवरण छ ।

महाशाखा भन्छ : खरिद प्रक्रिया विवादले खोप आएन

स्वास्थ्य विभागका अधिकारीका अनुसार समयमै खोपको टेन्डर नहुँदा अहिले समस्या परेको हो ।

एन्टी रेबिज भ्याक्सिन भारतीय एक कम्पनीले मात्रै उत्पादन गर्दै आएको छ । महाशाखाका अनुसार एन्टी रेबिज भ्याक्सिन दुई लाख भाइल खरिद प्रक्रियामा छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनी अबको दुई हप्ताभित्र एन्टी रेबिज भ्याक्सिन आइपुग्ने दाबी गर्छन् ।

‘यसभन्दा अगाडिको खरिद प्रक्रिया विवाद परेकाले र प्राविधिक समस्याले खोप खरिद गर्न ढिला भएको हो’ डा. मरासिनीले भने, ‘अहिले खरिद प्रक्रिया अगाडि बढिसकेको छ । अबको दुई हप्तामा नेपालमा खोप आइपुग्छ ।’

उनका अनुसार पहिला जोखिम वर्गलाई मात्रै यो खोप लगाउने गरिएको थियो । तर अहिलेको गाइडलाइनमा भने कुकुरले टोकेका सबै मानिसलाई लगाउनुपर्ने भएकाले पनि एन्टी रेबिज भ्याक्सिनको खपत बढेको छ ।

सरकारले तोकेको अवस्थामा एन्टी रेबिज भ्याक्सिन निःशुल्क पाइन्छ । अन्यत्र भने सशुल्क मात्र पाइन्छ ।

निजी अस्पताल तथा क्लिनिकमा एक भाइलको ८०० हारहारी पर्छ । कुकुर लगायत अन्य जनवारले टोकेमा चारदेखि पाँच वटा खोप लगाउनुपर्छ । अर्थात् ३५०० रुपैयाँ भन्दा बढी रकम खोप लगाउन मात्रै खर्च लाग्छ । त्यसैले सरकारले निःशुल्क दिने भ्याक्सिन अभाव भएमा कतिपय मानिस खोपबाट वञ्चित हुन्छन् ।

खोपको माध्यमबाट रोकथाम गर्न सकिन्छ

 चिकित्सकका अनुसार कुकुर तथा जनावरले मानिसलाई टोक्दा लाग्ने रेबिज रोगलाई खोपको माध्यमबाट रोकथाम गर्न सकिन्छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार रेबिज संक्रमण भएको जनावरले मानिसलाई टोकेमा त्यस्ता जनावरको र्‍यालबाट रेबिज रोग सर्ने गर्छ । सुरुमा जनावरको र्‍यालमा रहेका भाइरस जनावरको टोकाइबाट घाउमा पुग्छ ।

उक्त भाइरस छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै स्नायु, मेरुदण्ड र मस्तिष्कसम्म पुग्छ । मस्तिष्कमा संक्रमण भएपछि मात्रै विशेष लक्षण देखिन्छ ।

डा. पुनका अनुसार घाँटीमाथि, औंला र शरीरको जुनसुकै भागमा ठूलो घाउ हुने गरी टोकेको अवस्थामा हप्ता वा महिनाभित्रै मानिसमा लक्षण देखिन सुरू गरिसक्छ ।

सुरुवाती चरणमा टोकेको ठाउँ झम्झमाउने, हल्का ज्वरो आउने र ढाडको तल्लो भाग दुख्ने गर्छ । त्यसपछिको चरणमा ¥याल काढ्ने, मुखबाट फिंज आउने, पानीदेखि तर्सिने, जथाभावी टोक्ने जस्ता लक्षण देखिन्छ ।

‘केही मानिसले कुकुरले टोकेको कुरालाई वास्ता पनि गर्दैनन् । सुरुवाती लक्षण पनि थाहा पाउँदैनन्’ डा. पुन भन्छन्, ‘एकैपटक मानिस पानी, हावादेखि डराउने गरेपछि मात्रै अस्पताल आउने गर्छन् । त्यसबेलासम्म ढिला भइसकेको हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?