+
+

‘मानिस’ बनिनसकेको मानिसको कथा

प्रकाश तिवारी प्रकाश तिवारी
२०८० साउन ८ गते १२:१४

‘म्यान इज टु फुटेड, फियदरलेस एनिमल !’ मान्छेका बारेमा ग्रीक दार्शनिक प्लेटोले व्यक्त गरेको विचार हो यो । उता डेमोक्रिटसले मानव जीवनपद्धतिसँग सम्बन्धित विषयहरूको खोज सार्वजनिक गर्दै ‘मानव संस्कृृतिको उत्पत्ति चराचुरुङ्गीको अनुकरणबाट भएको हो । मानिसले उन्ने तथा बुन्ने कला माकुराबाट, घर बनाउने कला भँगेरा तथा गौंथलीबाट, संगीत नाइटेङ्गलबाट र नाच्न-गाउन मयूर, हाँसबाट सिकेकोे’ भनी बताए ।

त्यसो त मनुष्यसँग सम्बन्धित खोज अनुसन्धान र निष्कर्षहरूको फेहरिस्त धेरै लामो हुन सक्छ । वैज्ञानिकहरूले जनावरलाई मानिसको पुर्खा ठहर्‍याएका छन् । जनावर र मानिसबीच कतिपय कुरामा समानता पनि भेटिन्छ । जस्तो कि- आहार, निद्रा, भय, मैथुन । यी त्यस्ता गुण हुन् जो जनावर र मानिस दुवैमा एकैनासको देखिन्छ ।

मानिसमा पशुका भन्दा पृथक् विशेषताहरू पनि पाइन्छन्, जस्तो कि दया, प्रेम, मुस्कुराहट, सिर्जनात्मक शक्ति … । प्रकृतिमा मानिस मात्र एउटा त्यस्तो प्राणी हो, जसमा रचनात्मक क्षमता छ । विज्ञान-प्रविधि, दर्शन, कला-साहित्य, आर्टिफिसियल इन्टिलिजेन्स लगायत यावत् विधामा मनुष्य जातिले प्राप्त गरेको सफलता अद्वितीय छ ।

मानिसले आवाजभन्दा तीव्र गतिमा उड्न सक्ने हाइपरसोनिक यान बनायो । भगवान मानिंदै आएका चन्द्र-मंगललाई पृथ्वी जस्तै ग्रह-उपग्रह हुन् भनी सिद्ध गर्‍यो । ऊ वनवासी कोइलीले भन्दा सुमधुर भाकामा गीत सुसेल्न सक्छ । ऊ पहाडी झरनाले भन्दा कर्णप्रिय ध्वनिमा संगीत रच्न सक्छ । यति विलक्षण क्षमताको धनी मनुष्य जातिको उत्पत्ति सम्बन्धमा विद्वान् तथा वैज्ञानिकहरू कस्तो अभिमत दिन्छन् त ? आउनुहोस्, उक्त विषयमा विवेचना गर्दै अघि बढौं ।

विज्ञानले मनुष्य जातिलाई लाखौं वर्षको विकासक्रम पार गर्दै जनावरबाट रूपान्तरण भई आएको प्राणी मानेको छ । ‘बि्रफ हिस्ट्री अफ हृयुमनकाइन्ड’मा युवल नोहा हरारीले लेखेका छन्- ‘मानवको पहिलो विकास लगभग पच्चीस लाख वर्ष पहिले पूर्वी अफ्रिकाको एक बाँदर प्रजातिबाट भएको हो । आजभन्दा १ लाख ५० हजार वर्ष पहिलेसम्म आइपुग्दा पूर्वी अफ्रिका आधुनिक मनुष्य जस्तै देखिने होमो सेपियन्स मानवद्वारा आवाद भइसकेको थियो ।’

‘नेपालमा प्रचलित दार्शनिक चिन्तन’मा वेदुराम भुसालले लेखेका छन्- ‘आजभन्दा करिब तीन अर्ब असी करोड वर्ष पहिले पानीमा जीवनको पहिलो अस्तित्व देखापर्‍यो । त्यही जीव क्रमशः बहुकोषीय, अरिडधारी, रिडधारी, उभयचर, स्थलचर, अण्डज, स्तनधारी हुँदै मानिसको रूपमा अगाडि आयो ।’

त्यसैगरी ‘मानव यात्रा’ (सृष्टिदेखि आर्यहरूको प्रथम संस्कृतिसम्म) मा शिवराज श्रेष्ठ मल्ल लेख्छन्- ‘पृथ्वीमा आजभन्दा २५० करोड वर्ष पहिले जीवनका लागि अनुकूल परिस्थिति बनिसकेको थियो । तापमान सेलाउँदै जाँदा समुद्र जीवन उत्पत्ति अनुकूल हुन थाल्यो । र समुद्रमा नै जीवनको पहिलो सुरुवात भयो । मानव जातिको विकास अपुच्छ गोरिला, चिम्पान्जी र ओराङओटाङ जस्ता वानरहरूबाट भएको हो ।’

सिग्मण्ड फ्रायडले पनि मनुष्य जाति लाखौं वर्षको विकासक्रमलाई पार गर्दै पशुबाट रूपान्तरित भएको भनेका छन् । साथै उनले विकासको क्रममा उसमा आदिम पाशविकता समेत पुस्तान्तरण भइआएको बताएका छन् ।

मूर्धन्य साहित्यकार बालकृष्ण समले ‘नियमित आकस्मिकता’मा तिनै विषयतर्फ थप संकेत गर्दै लेखेका छन्- ‘मान्छेको कपाल कन्याउने तरिका गोरिलाको जस्तै छ । हामी मानव जाति बाँदरबाट चढ्दै गएको होइन, देवताबाट ओर्लंदै आएको भनेर वृथा अभिमान गर्दछौं । हामीले मानिस र गोरिलाका कङ्कालको तुलनात्मक अध्ययन गर्नु जरूरी छ । बाँदरले कपाल कन्याएको हेर्नु आवश्यक छ । चिम्पान्जी र गोरिलाको क्रूरता अनुसन्धान गर्नु आवश्यक छ ।’

युगौं लामो सह-यात्रा वा सह-सम्बन्धका कारण जनावरमा निहित कैयौं गुण तथा स्वभाव मनुष्य जातिमा संक्रमित हुँदै आए । लाखौं वर्षको विकासक्रमलाई पार गरिसक्दा पनि मानिस अझै खाँटी अर्थमा मानिस बन्न सकिरहेको छैन

अध्ययनहरूबाट मानिस र जनावरबीचको सह-सम्बन्ध दशौं हजार वर्ष पुरानो भएको ज्ञात हुन्छ । होमो-सेपियन्स मानवहरू कुकुर लगायतका जनावरलाई पाल्तु बनाएर घरमा पाल्थे । मान्छेले १५ हजार वर्षभन्दा अघिदेखि घरमा कुकुर पाल्ने गर्दथ्यो भन्ने खुलेको छ । यी विविध तथ्यका आधारमा यो भन्नु अत्युक्ति हुनेछैन कि, युगौं लामो सह-यात्रा वा सह-सम्बन्धका कारण जनावरमा निहित कैयौं गुण तथा स्वभाव मनुष्य जातिमा संक्रमित हुँदै आए ।

त्यसैले होला, जब मानिसभित्र क्रोध, आवेग, आक्रोशको पारो उम्लन थाल्छ ऊ जनावरतुल्य बन्न पुग्छ । जब मान्छेको दिमागभित्र आवेग, आक्रोशको ज्वालामुखी विस्फोट हुन्छ, ऊ निर्दोष व्यक्तिको समेत हत्या गर्न पछि पर्दैन । त्यतिबेला उसका लागि आगजनी, मारकाट, लुटपाट जस्ता कृत्य सामान्य ठहरिन थाल्छन् ।

मेरो विचारमा प्लेटोले मानिसलाई पँखेटा विनाको दुईखुट्टे जनावर भन्नुको सार पनि त्यही सेरोफेरोमा भेटिन्छ । जरूरी छैन कि, पशु-पन्छी भनिनका लागि रूखका हाँगा र ओढारमै रात बिताउनुपरोस् !

मानिस पशुवत् बन्नका लागि समुन्नत भूगोल समेत बाधक बन्दोरहेनछ । अमेरिका जस्तो देशमा हप्तौंपिच्छे गोलीकाण्डका घटना घट्नु र निर्दोष मानिस मारिनु त्यसैको उदाहरण हुन् । हालसालै फ्रान्समा समेत त्यस्तै अर्को घटना घट्न पुग्यो ।

प्रहरीद्वारा नागरिकको हत्या भएपछि फ्रान्सभर देशव्यापी दंगा र हिंस्रक प्रदर्शनको दौर चल्यो । आक्रोशित भीडले दर्जनौं गाडी खरानी बनाए, घरहरू जलाए । विवेक गुमाएका क्रोधित प्रदर्शनकारीहरूले सार्वजनिक र व्यक्तिगत सम्पत्तिमाथि पाशविक हमलाहरू गरे ।

त्यसो त मानव इतिहास भनेकै शक्ति, सत्ता र प्रभुत्व स्थापनाका लागि रचिएका युद्ध, हत्या, मारकाटहरूको सँगालो हो । मानव इतिहासमा यीभन्दा हजारौं गुणा ठूला तवाही र युद्ध विभीषिकाहरू दर्ज भएका छन् ।

कतिपयलाई लाग्छ, उच्च शैक्षिक डिग्री धारण गरेका मानिसहरू संयमित हुन्छन् । आम मानिसभन्दा मानवीय र विवेकशील हुन्छन् । आवेग-उत्तेजनामा आउँदैनन् । हम्मेसी रिसाउँदैनन् । हिंसा-मारकाटमा उत्रँदैनन् । तर तथ्यले त्यसको पुष्टि गर्दैन । उच्च अध्ययन वा डिग्रीले व्यक्तिको स्वभावमा सानोतिनो परिवर्तन त ल्याउन सक्ला, आमूल रूपान्तरण दिन सक्दैन ।

केही मानिस यो पनि सोच्छन्, अविकसित देशमा बसोबास गर्नेहरू जंगली आनीबानीका हुन्छन् । उनीहरूमा पशुवत् स्वभावको अंश अधिकतम हुन्छ । विकसित देशका नागरिकहरू सभ्य-सुसंस्कृत हुन्छन् । वसुधैवकुटुम्बकम्को भावनालाई आत्मसात् गर्छन् । संविधान ऐन-कानुनको अक्षरशः पालना गर्छन्, आदित्यादि ।

किन्तु, यथार्थ यस विषयमा पनि फरक छ । विश्वको कुनै पनि भागमा बसोबास गर्ने जनावर होस् या मानिस, सबै उस्तैउस्तै आनीबानी वा स्वभावका हुन्छन् ।

वासिङ्टन शहरमा हुर्केको कुकुर जुन आवाजमा भुक्छ, दिल्ली, ढाका वा काठमाडौंको सडकमा बरालिंदै हिंड्ने कुकुर पनि त्यही लयमा भुक्छ । लण्डनको आलिसान महलमा टहलिने बिरालो जसरी म्याउँ गर्छ, कर्णाली प्रदेशको विकट बस्तीमा मुसा खोजी हिंड्ने बिरालो पनि त्यसरी नै म्याउँ भन्छ ।

अरू त अरू प्रथम अन्तरिक्ष अभियानमा सहभागी भई फर्केपछि लाइका नामकी रुसी कुकुर्नी त्यसरी नै भुकेकी थिई जसरी रक्सोलको दुर्गन्धित गल्लीमा घुमफिर गर्ने भारतीय भुस्याहा कुकुरहरू भुक्ने गर्थे ।

‘अल एनिमल्स आर इक्वाएल । बट सम एनिमल्स आर मोर इक्वाएल देन अदर्श !’ जर्ज अरवेलले एनिमल फार्ममा लिपिबद्ध गरेको वाक्य हो यो । आदरणीय पाठकवृन्द ! म यसलाई थोरै भिन्न ढंगले प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

समाजमा त्यस्तो घर कमै भेटिन्छ जहाँ कुकुर नपालिएको होस् । पाल्तु कुकुरहरूमा केही बाघ जस्ता त केही स्याल-बिराला जस्ता हुनसक्छन् । आकारमा कुनै बडेमाका होलान् त केही वामपुड्के पनि देखिएलान् । कतिपय कुकुरहरू कालो रङका होलान् त कतिपय सेता-पहेंला, छिर्केमिर्के, रातो स्वरूपका पनि भेटिएलान् । कसैको नाम टोनी हुनसक्छ । कसैको माइकल अनि कसैको सेते, काले जे पनि हुनसक्छ ।

कुनै बुल्डग बि्रडका होलान् त कुनै जर्मन शेर्फड जातका । किन्तु माइकल नामको डग होस् या बुल्डग जातको कुकुर ! बाघजस्तो डरलाग्दो होस् या काटीकुटी स्याल जस्तो ! सारमा सबै कुकुरहरू उस्तैउस्तै स्वभावका हुन्छन् । वासिङ्टनवासी डग होस् या दिल्ली निवासी कुत्ता, सबै कुकुरहरू पर्खाल भेट्टायो कि तुक्र्याउन खुट्टा उचाल्छन् ! उल्लेखित विशेषता मनुष्य जातिमा समेत भेटिन्छ ।

यस सन्दर्भमा यहाँ म केही वर्षअघि अमेरिकी र नेपाली संसदमा भएका विशिष्ट हमलाहरूको चर्चा गर्न गइरहेको छु । सत्ताविमुख हुने भयले किंकर्तव्यविमुढ नेपालका प्रधानमन्त्री केपी ओलीले सार्वभौम संघीय संसदलाई दुई-दुई पटक असंवैधानिक विघटन गरिदिए ।

ओली पिछडिएको मुलुकका सरकारप्रमुख थिए र त उनले संसदमाथि त्यस ढंगले धावा बोले भनौं भने त्यसैको वरपर आफूलाई विश्वकै ‘सबैभन्दा विकसित र सभ्य’ दावा गर्ने अमेरिकाको संसदमाथि त्योभन्दा पनि डरलाग्दो आक्रमण हुन पुग्यो । जब राष्ट्रपति डोनाल्ड ट्रम्पले कुर्सी छोड्नुपर्ने बाध्यकारी समय आयो, उनी र उनका समर्थकले अमेरिकी संसदमाथि गोरिला शैलीको चढाइ गरे ।

भीडले संसद भवनभित्र पसेर निष्फिक्री ताण्डवनृत्य नाच्यो । आफूलाई लोकतन्त्रको मसिहा ठान्ने मुलुकको मुखियाले मञ्चन गरेको त्योभन्दा भद्दा प्रहसन अरू के हुनसक्छ !

यस ढंगको मिचाहा चरित्र पशुजगतमा पाइँदैन । पशुहरूले कहिल्यै धर्म छोड्दैनन् । जतिसुकै ठूलो प्रलोभन किन नमिलोस्, बाघले घाँस, गाईले मासु खाँदैन । यसर्थ सारमा यही भन्न सकिन्छ, लाखौं वर्षको विकासक्रमलाई पार गरिसक्दा पनि मानिस अझै खाँटी अर्थमा मानिस बन्न सकिरहेको छैन ।

उभित्र अहिले पनि यो वा त्यो रूपमा आदिम पाशविकता जीवितै छ । कामना गरौं, मनुष्य जाति कुनै दिन प्रकृतिको सुन्दरतम रचना बन्न सफल हुनेछ ।

लेखकको बारेमा
प्रकाश तिवारी

उपन्यास, समालोचनाका साथै प्रशस्तै कथा, लेख, निबन्ध, कविता प्रकाशित रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?