+
+

ललितपुरका मुख्य १२ वटा चोकमा ‘हाइमास्ट लाइट’ जडान

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १९:०७

१० भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाका मुख्य–मुख्य १२ वटा चोकहरूमा ‘हाइमास्ट लाइट’ जडान गरिएको छ । ललितपुर महानगरले ‘उज्यालो शहर अभियान’ अन्तर्गत शहरका मुख्य चोकहरुमा ‘हाइमास्ट लाइट’ जडान गरेको हो।

महानगरका अनुसार चालु आर्थिक वर्षमा महानगरभित्रका सडक र गल्लीमा बत्तीहरु राख्ने योजना अनुरुप धमाधम बत्तीहरु राख्ने काम भइरहेको हो ।

आइतबार साँझदेखि पुल्चोक, जावलाखेल, बुङमती, कुपण्डोलस्थित बागमती पुल, शंखपार्क, ठाडोढुंगा चोक, धोबीघाट ढुंगेधारा, गणेशमानपार्क लगायतका स्थानमा बत्ती बल्न थालेको हो ।

ललितपुरका अधिकांश सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाइट र मुख्य चोकहरुमा हाइमास्ट लाइट जडान गरिएको महानगरले जनाएको छ ।

यसअघि महानगरले चक्रपथ बाहिरका वडाहरुमा १४ सय बत्ती जडान गरिसकेको छ । ललितपुर महानगरको ‘कोर एरिया’ मा दुइ वर्ष अगाडि नै स्मार्ट सडक बत्ती जडान भइसकेको थियो । महानगरभित्रका तीन वटा रुटमा जम्मा ६६९ वटा स्मार्ट स्ट्रिट लाइट जडान भइसकेका छन् ।

बागमती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल (इनार), पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार, लगनखेलसम्म, पुल्चोक, मंगलबजार हुँदै ग्वार्कोसम्म सडकबत्ती जडान भइसकेको छ ।

स्मार्ट सडक बत्ती जडानका लागि प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणले गरिरहेको महानगरले जनाएको छ ।

ललितपुर महानगरले चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ । विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य गरी महानगरभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न तयारी भइरहेको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?