+
+

ब्रिटिश गोर्खालाई नेपाली नागरिकताबाट वञ्चित नगराउन माग

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १९:१३

१० भदौ, काठमाडौं । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानले बेलायती सेनामा भर्ना भएका र सेवा निवृत्त भएका नेपालीहरुको नागरिकता कायम हुनुपर्ने माग गरेको छ ।

आइतबार अभियानले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुको नेपाली नागरिकताले निरन्तरता नपाए बेलायतमा बस्दै आएका बहालवाला र पूर्व बेलायती सैनिक बेलायत नै पलायन हुने बताए ।

संयोजक सुनबहादुर तामाङले गोर्खालीहरु अपराधी हो भन्ने प्रश्न गर्दै गोर्खालीहरुको नागरिकता खोस्नु अन्यायपूर्ण हुने धारणा राखे ।

‘हामी र ब्रिटिश गोर्खाका सन्ततिहरुको नेपालको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छ । यो मागलाई हामीले नेपालको संविधान २०७२ को निर्माण देखिनै उठाउँदै आएका हौं । आज आठ वर्ष भएको तर, खासै केही भएन । ब्रिटिश गोरखाहरुको पेन्सनमात्रै बर्षेनी २० देखि २२ अर्ब नेपालमा प्रवेश गर्छ । यदि गोरखालीहरुलाई विदेशी बनाउने हो भने यो २० देखि २२ अर्ब पैसा पलायन हुन्छ’, उनले भने ।

ब्रिटिश गोर्खाको नागरिकताले निरन्तरता नपाए गोर्खाहरुको चल अचल सम्पत्ति पूूर्ण रुपमा पलायन हुने र नेपाललाई ठूलो क्षति हुने तामाङले बताए ।

‘बेलायत सुरक्षित र समृद्ध हुनुमा गोर्खालीहरुको ठूलो भूमिका छ । यसको लागि गोर्खाहरुले ज्यान दिए सबै चिज दिए । गोर्खालीहरु बेलायतमा बस्न पाउनुपर्छ, यो अंग्रेजको मात्र देश होइन । गोरखालीहरुको पनि देश हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?