+
+

थाइल्याण्डविरुद्ध उत्कृष्ट क्रिकेट खेलेर ग्लोबल क्वालिफायर्स पुग्ने नेपालको लक्ष्य

गोविन्दराज नेपाल नमिता दाहाल गोविन्दराज नेपाल, नमिता दाहाल
२०८० भदौ २१ गते २०:३१

२१ भदौ, काठमाडौं । पहिलो पटक महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यमा रहेको नेपालले शुक्रबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालका लागि यो खेलको ठूलो महत्व छ किन भने यो खेल जितेमा नेपाल आफ्नो लक्ष्यमा पुग्ने छ ।

महिला टी-२० विश्वकपको एसिया छनोट खेल्न मलेसिया जानुअघि नेपाली टिमका प्रशिक्षक सामसंग थापा र कप्तान रुबिना क्षेत्रीले पनि नेपालको एक मात्र लक्ष्य ग्लोबल क्वालिफायर्स पुग्ने रहेको बताएका थिए ।

विश्वकपको ग्लोबल क्वालिफायर यस्तो प्लेटफर्म हो जहाँ नेपालले अन्य धेरै टिमसँग अझ धेरै खेल खेल्ने अवसर पाउनेछ । त्यहाँ राम्रो प्रदर्शन गरे विश्वकपमा समेत पुग्ने सम्भावनासमेत हुनेछ ।

थाइल्याण्डसँग पराजित भएमा नेपालको विश्वकपको यात्रामा फेरि एसिया छनोटमै सकिनेछ । नेपालको महिला टोलीले अहिलेसम्म विश्वकप खेलेको छैन ।

तर दुई पटक एसिया कपमा सहभागी भएको नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता टिमहरुसँग खेलिसकेको छ ।

नेपाली टिमका कप्तान रुबिना क्षेत्री र प्रशिक्षक सामसन जंग थापाले थाइल्याण्ड विरुद्धको सेमिफाइनल खेल महत्वपूर्ण भएको र गल्ती नगरी खेल्नुपर्ने बताएका छन् ।

‘हाम्रो लागि भोलिको दिन महत्वपूर्ण दिन हो । हामीले जति प्रेसर लिन्छौं त्यति खेल्न सक्दैनौं । त्यसैले निडर भएर खेल्ने रणनीति छ,’ रुबिनाले मलेसियाबाट अनलाइनखबरसँग भनिन्, ‘भोलि हामी बेष्ट क्रिकेट खेल्ने तयारीमा छौं । हामीले गुमाउनु केही छैन । उनीहरुलाई प्रेसरमा राखेर खेलौं भन्ने छ । धेरै सोचेका छौं । निडर क्रिकेट खेल्ने तयारीमा छौं ।’

प्रशिक्षक सामसन जंग थापाले थाइल्याण्ड विरुद्ध कुनै गल्ती नगरी आफ्नो खेल खेल्ने बताए । थाइल्यान्ड विश्व वरियतामा नवौं स्थानको टिम हो भने नेपाल २१औं स्थानमा छ ।

‘हामी भोलि एकदमै प्रतिस्पर्धी खेल खेल्नेछौं । आफ्नो खेल खेल्न चाहन्छौं । भोलि हामी हाम्रो कुनै पनि गल्ती नगरी खेल्ने चाहना राखेका छौं । हामी ब्याटिङ, बलिङ र फिल्डिङ तिनै पक्षमा राम्रो गरि उत्कृष्ट क्रिकेट खेल्नेछौं’, मलेसियाबाटै थापाले अनलाइनखबरसँग भने, ‘मानसिक रुपमा हामीले खेलाडीलाई त्यसरी नै तयार गरेका छौं ।’

नेपाले समूह विजेता बनेर सेमिफाइनलमा हङकङसँग खेल्ने योजना बनाएको थियो । थाइल्याण्डभन्दा हङकङ नेपालका लागि कमजोर प्रतिद्वन्द्वी थियो । तर समूह चरणको अन्तिम खेल वर्षाका कारण हुन नसकेपछि नेपालले यूएईसँग अंक बाँड्यो र रन रेटका आधारमा यूएई समूह विजेता बन्यो ।

‘हामीले समूह विजेता बनेर सेमिफाइनलमा हङकङसँग नै खेल्ने सोच थियो । तर हामीले सोचेको जस्तो भएन’ कप्तान रुबिनाले भनिन्, ‘दुई वटामा जुन टिम भए पनि खेल्ने नै हो ।’

सेमिफाइनलको दिन शुक्रबार पानी नपरोस् भन्ने कामना रुबिनाले गरिन् । ‘पानी नपरोस् भन्ने कामना छ । पानी हाम्रो लागि निकै नै नराम्रो भइरहेको छ । दुई वर्षसम्म यो कुराले पीडा दिइरहेको छ ।’

पोहोर असारमा एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध हुँदा समूह विजेता भएका आधारमा यूएई फाइनलमा पुगेको थियो । जितको नजिक पुगेको खेल वर्षाका कारण पूरा नहुँदा नेपालले महिला एसिया कप खेल्ने अवसर गुमाएको थियो ।

नेपाल र थाइल्याण्डको सेमिफाइनल यात्रा

समूह एमा नेपालले चार खेल जित्दा  एक नतिजा विहिन भएको थियो ।  युएई समान ९ अंक भए पनि नेटरनरेटमा पछि पर्दे नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

थाइल्याण्ड समूह बी मा ३ जित र एक नतिजाविहीन गरी कुल ७ अंक जोडेर समूह विजेता बन्यो । सेमिफाइनलसम्म दुवै टोली अपराजित छन् ।

नेपालले समूहको पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराउन संघर्ष गर्नुपरेको थियो । अन्तिममा ५ रनको रोमाञ्चक जित निकाल्यो ।

दोस्रो खेलमा बहराइनले दिएको ३३ रनको लक्ष्य १७ बलमै पूरा गर्दै १० विकेटले खेल जितेको नेपालले तेस्रो खेलमा भुटान विरुद्ध ब्याटिङमा फेरि संघर्ष गर्‍यो । भुटानले दिएको ४० रनको लक्ष्य पूरा गर्न नेपालले ७ विकेट खर्चियो ।

त्यसपछि कतार विरुद्ध नेपालले सुधारिएको ब्याटिङ गर्दै ९ विकेटले खेल जित्यो ।

नेपालको लागि सेमिफाइनल खेल्नुअघि समूह चरणमा असली परीक्षा युएईसँगको खेलमा हुने थियो । तर वर्षा बाधक बन्दा उक्त खेल हुन सकेन । जसले नेपाललाई घाटा भयो । युएईसँग नेटरनरेमा पछि पर्दै नेपाल समूह उपविजेता बन्यो ।

समूह उपविजेता बन्दा नेपालकले अर्को समूहको विजेता बनेको थाइल्याण्डसँग खेल्नुपर्ने भएको हो । अर्को सेमिफाइनलमा हङकङ र यूएईले खेल्ने छन् ।

ग्लोबल क्वालिफायर पुग्न नेपालको संघर्ष

नेपालले महिला टी-२० विश्वकप क्रिकेटका लागि अहिलेसम्म चार पटक छनोट खेलेको छ । तर चारै पटक एसियन छनोटमै नेपालको यात्रा समाप्त भएको छ ।

चारै पटक एसियन क्षेत्रको छनोटमा विजेता बन्न नसक्दा नेपालले ग्लोबल क्वालिफायर खेल्न पाएन ।

यस पटक नेपालको एक मात्र लक्ष्य ग्लोबल क्वालिफायर नै हो । त्यसका लागि तयारी स्वरुप नेपालले मलेसियासाग पाँच खेलको टी-२० शृंखला खेल्यो । जसमा नेपाल ३-२ ले विजयी भयो ।

मलेसियामा चार देशीय टी-२० शृखंला खेल्दै त्यसको उपाधि पनि जित्यो । भारतीय महिला टिमकी पूर्व सदस्य देविका पाल्सिकरलाई यस पटक ब्याटिङ कन्सलट्यान्टको रुपमा समेत भित्र्यायो ।

अनुभवी खेलाडीहरुको बहिर्गनमन र नयाँ खेलाडीहरुको आगमन भइरहँदा अहिले महिला टोलीमा पुस्ता हस्तान्तरणको प्रक्रियामा छन् ।

अर्को वर्ष महिला टी-२० विश्वकप बंगलादेशमै हुँदैछ । त्यसका लागि ८ टिम छनोट भइसकेका छन् । र बाँकी दुई टिम ग्लोको क्वालिफायरबाट आउनेछन् ।

ग्लोबल क्वालिफायरमा पनि १० राष्ट्रले नै प्रतिस्पर्धा गर्नेछन् । जसमा पछिल्लो टी-२० विश्वकपका अन्तिम दुई स्थानमा रहेका टोली आयरल्याण्ड र श्रीलंका ग्लोबल क्वालिफायरमा चयन भइसकेका छन्  । बाँकी ८ टिम भने क्षेत्रीय छनोट पार गरेर छानिनेछन् । त्यसमा एसियाबाट २ टिम छनोट हुनेछ ।

यस्तै युरोप र अफ्रिकाबाट समान २ तथा अमेरिका र इष्ट एसिया प्यासिफिकबाट समान एक टिम छानिनेछन् ।

विश्वकप खेलिसकेको थाइल्याण्ड

नेपालले सेमिफाइनलमा खेल्न लागेको थाइल्याण्डले यसअघि एक पटक टी-२० विश्वकप खेलिसकेको छ । यस्तै टेष्ट राष्ट्रहरु वपिरुद्ध समेत जित निकालेको छ । थाइल्याण्डले यसअघि २०२० मा छनोट चरण पार गरेर पहिलो पटक टी-२० विश्वकप खेलेको थियो ।

गत अक्टोबरमा भएको एसीसी वुमन्स एसिया कपमा थाइल्याण्डले पाकिस्तानलाई ४ विकेटले हराएर सनसनी मच्चाएको थियो ।

नेपाल भर्सेस थाइल्याण्ड हेड टु हेड

टी-२० अन्तर्राष्ट्रियमा नेपाल थाइल्याण्ड बीच दुई खेल भएको छ । दुवैमा नेपाल पराजित भएको थियो ।  यी दुई टोली चार वर्षपछि खेल्न लागेको हुन् ।

जारी विश्वकप छनोटअघि नेपाल र थाइल्याण्डबीच खेल हुने तय थियो तर वर्षाका कारण हुन सकेन ।

नेपाल र थाइल्याण्ड यसअघि २०१९मा टी-२० अन्तर्राष्ट्रियमा दुई पटक खेलेका थिए । आईसीसी वुमन्स टी-२० विश्वकप एसिया रिजन छनोटमा नेपाल ५७ रनले पराजित भएको थियो । थाइल्याण्ड टी-२० स्म्यासमा नेपाल ७० रनले पराजित भएको थियो ।

त्यसअघि वुमन्स टी२० एसिया कप २०१६-१७ नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?