+
+

चितुवाको छाला र चरेससहित कसरी पक्राउ परे हवल्दार ?

जनक विष्ट जनक विष्ट
२०८० कात्तिक २ गते १९:१४

२ कात्तिक, धनगढी । बाजुराबाट चरेस र चितुवाको छाला कैलालीतर्फ ल्याइरहेको सूचना प्रहरीले केही दिनअघि नै पाएको थियो । प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह, लागुऔषध नियन्त्रण शाखा महेन्द्रनगर, संघीय प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीका सादा पोशाकका प्रहरी यो विषयमा चनाखो थिए ।

बुधबार प्रहरीले धनगढीको मिलन चोक नजिकैको होटलमा बसेर चरेस र चितुवाको छालाको कारोबार भइरहेको सूचना प्रहरीले पायो । तर प्रहरीसम्म सूचना पुग्यो भन्ने चाल पाएपछि बिक्री गर्ने ल्याएकाहरुले आफ्नो लोकेसन परिवर्तन गरे ।

उनीहरु त्यहाँबाट शहीदगेट नजिकैको एउटा होटलमा पुगे । बाजुराबाट ल्याइएको जिप पार्किङ स्थलमा राखेर कोठा बुक गरेका उनीहरु सुरुमा रित्तो हात कोठामा पसे । परिस्थिति विश्लेषण गरिसकेपछि कालो झोला र बोरा जिपबाट निकालेर कोठामा लगे ।

कोठामा पुगेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार, बैतडीको मेलौली घर भएका करनबहादुर चन्द र उनीहरुबीच बार्गेनिङ चल्छ । यो सबै गतिविधि सादा पोशाकका प्रहरीले नजिकबाट नियालिरहेका थिए ।

बाजुराबाट चितुवाको छाला र चरेस लिएर आएका २६ वर्षीय धनकृष्ण रोकाया र ३० वर्षीय हेमराज जोशीबीच चन्दको बार्गेनिङ चल्दाचल्दै उनीहरु बसेको कोठामा प्रहरीले छापा मारेको थियो ।

प्रहरीले उनीहरु बसेको कोठाबाट साढे ६ किलो चरेस र ७ फिट ६ इन्च लामो चितुवाको छाला बरामद गरेको छ । प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर हत्कडी लगाउने बेला बिक्री गर्ने दुई जना र किन्न खोज्ने चन्द पनि एकै पक्ष भएको खुलेको प्रहरी स्रोतको भनाइ छ ।

हत्कडी लगाउने बेला करनबहादुर चन्दले आफू पनि प्रहरी कर्मचारी भएको र सूचना संकलनका लागि आएको बताएका थिए । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगानाले त्यो अख्तियारी कसले दिएको हो भनेर सोधेपछि भने उनी मौन रहे ।

चन्दले एकपटक मुख्यमन्त्री कार्यालयमा कुराकानी गर्न दिन समेत आग्रह गरेका थिए । प्रहरी स्रोतका अनुसार चन्दले आफू मुख्यमन्त्री कार्यालयमा कार्यरत भएकाले सबै व्यवस्थापन गर्ने आश्वासन दिएका थिए ।

‘उहाँहरु दुई जनालाई चन्द मुख्यमन्त्री कार्यालयमा कार्यरत सहायक हवलदार हुन् भन्ने कुरा पहिले नै थाहा रहेछ । बाजुराबाट धनगढी ल्याउन र त्यसको सबै व्यवस्थापन आफूले गर्ने आश्वासन दिएको देखिन्छ’, एक प्रहरी अधिकृतले भने ।

प्रहरी सहायक हवलदार चन्द र उनीहरुका बीचमा साढे ६ किलो चरेस र चितुवाको छाला ९ लाख रुपैयाँमा कारोबार गर्ने समझदारी थियो । ‘चन्दले उक्त मूल्य बराबरको रकम दिन तयार भएको बताएपछि मात्र उनीहरु बाजुराबाट आएको देखिन्छ’ प्रहरी स्रोतले भन्यो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेका तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देबेन्द्र पालले जानकारी दिए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?