+
+

लोसपामा विवाद : राजेन्द्र महतोको बहिष्कार, महन्थ ठाकुर मौन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १९:४१

२४ मंसिर, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद बढेको छ । अध्यक्ष महन्थ ठाकुरप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता राजेन्द्र महतोले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचन, पार्टी संगठन लगायतका ९ वटा एजेण्डामा छलफल गर्न आइतबार विहान ११ बजे अनुपम फुडल्याण्डमा बैठक बोलाइएको थियो ।

तर बैठक सुरु हुनु अगाडि नै महतोले नेताहरुलाई आफू नआउने खबर पठाए । केन्द्रीय समिति विस्तारका क्रममा धेरै पुराना नेताहरु छुटेकाले उनीहरुलाई समेट्नुपर्ने महताको अडान छ ।

यसबारे करिव दुई महिनाअघि भएको कार्यकारिणी बैठकमा अध्यक्ष ठाकुरले सम्बोधन गर्छु भने पनि अहिलेसम्म नगरेकाले बैठकमा जानुको औचित्य नभएको वरिष्ठ नेता महतोको तर्क छ ।

महतोसँगै अर्का नेता अनिलकुमार झासमेत अनुपस्थित भएको बैठकमा करिव आधाजसो पदाधिकारी र केन्द्रीय सदस्यहरु सहभागी भएको नेताहरु बताउँछन् ।

अध्यक्ष ठाकुरले गत असोजमा शीर्ष नेताहरुको परिवारका सदस्यहरुलाई पदाधिकारी बनाउँदै केन्द्रीय समिति विस्तार गरेका थिए । ३११ सदस्यीय केन्द्रीय समितिमा ६३ जना पदाधिकारी थिए । १५ जना उपाध्यक्ष, १६ जना महासचिव, ८ जना सहमहासचिव र ११ जना सचिव थिए ।

करिव ४ घण्टा चलेको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले वरिष्ठ नेता महतोको पनि खोजी गरेका थिए । महतोले बैठक बहिस्कार गरेको भनेर आफूहरुले सुनेको भन्दै उनीहरुले केही असन्तुष्ट भए नेताहरु बसेर मिलाउन आग्रह गरे ।

केहीले भने नेता महतोमाथि नै प्रश्न पनि उठाएका छन् । सबभन्दा आक्रामक भने वरिष्ठ नेता शरतसिंह भण्डारी थिए । उनले आफू घाँटीसम्म फोहोरमा डुब्दा पनि माहुरीको घारबाट रस कसरी चाख्ने भनेर हेर्छन् भनेर गणेशमान सिंहले भन्नुहुन्थ्यो भन्दै महतोमाथि सांकेतिक कटाक्षसमेत गरेका छन् ।

अध्यक्ष ठाकुर भने मौन बसे । ‘अध्यक्षले महतोजी किन आउनुभएन पनि भन्नु भएन, अब के गर्छु पनि भन्नु भएन’ एक नेता भन्छन् । बैठक समापन गर्ने क्रममा समेत बोलेनन् ।

‘राष्ट्रियसभा चुनावमा भाग लिने प्रस्ताव पास गरौं, अरु विषयमा पुसमा दोस्रो साता मधेशको कुनै जिल्ला सदरमुकाममा विस्तारित बैठक राखौंला भनेर बैठक स्थगित गर्नुभयो’ एक नेता भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?