+
+

विराटनगरमा सडक सौन्दर्यीकरण नसकिँदै खारेजीको आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १८:२५

१ पुस, विराटनगर । विराटनगरको मुख्य बजारको महेन्द्र चोक पूर्वको सडक सौन्दर्यीकरण योजना सञ्चालनमा नआउँदै स्थानीयले खारेजीको माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

सिक्किमको एमजी रोडजस्तै बनाउने भन्दै विराटनगर महानगरपालिकाले अतिव्यस्त सडकमा टाली बिछ्याई फाउन्टेन र फलैँचा राख्नुका साथै विरुवा रोपेको थियो ।

ठेकेदारले सम्झौता अनुसारको काम गरिसकेको छ । तर महानगरपालिकाले सञ्चालन गर्न सकेको छैन । संरचनाको संरक्षण पनि गरेको छैन । यो पार्क सवारीसाधन पार्किङका लागि प्रयोग भइरहेको छ ।

पार्क निर्माण सुरु गरेपछि यसअघि पनि स्थानीय ब्यापारीले आन्दोलन गरेका थिए । आइतबारबाट स्थानीय व्यापारीले विनोद पोद्धारको संयोजकत्वमा सडक संरचना खारेजीको माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।

सवारी साधनरहितको हिमालय रोड ब्युटिफिकेसन परियोजनाका लागि महानगरपालिकाले एक करोड ८३ हजार रुपैयाँ कला बिल्डर्सलाई ठेक्का दिएको थियो । ठेकेदारले सम्झौता अनुसारको पहिलो चरणको काम सकेको छ । दोस्रो चरणको कामका लागि महानगरले चासो दिएको छैन ।

एमजी रोडको नक्कल खारेज गरी सामान्य रुपमा सवारी आवतजावत गर्नु दिनुपर्ने व्यावसायीको माग छ । व्यापारीले रोडमा निर्माण गरिएका सबै संरचना हटाउन पनि माग गरेका छन् ।

स्थानीय पुस्तक व्यवसायी गंगाधर मैनालीले सडकमा निर्माण गरेका संरचनाका कारण व्यवसायी पलायन हुने अवस्था आएको गुनासो गरे । बनाएको संरचना हटाएर सडक पहिलेकै अवस्थामा ल्याउनुपर्ने उनको माग छ ।

महानगरले सौन्दर्यीकरण गरेको १२० मिटर सडक क्षेत्रमा ६० वटा बढी व्यापारिक पसल र सटर छन् । आन्दोलनमा उत्रिएका व्यापारीले आइतबार १२ बजेदेखि एक घण्टा पसल बन्द गरेर प्रदर्शन गरे । रोड खारेज गरी पुरानै सडकको अवस्थामा नआएसम्म आन्दोलन गर्ने संघर्ष समितिका संयोजक पोद्धारले बताए ।

विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीको योजना अनुसार २०७८ असोजमा सौन्दर्यीकरणका लागि सडक ठेक्का लागेको थियो ।

सुरुमा सडकमा पूर्ण रुपमा सवारी निषेध गर्नेगरी डिजाइन गरिएको थियो । तर स्थानीयको विरोधपछि महानगरले एकतर्फी सडक सञ्चालन गर्न दिनेगरी संरचना निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?