+
+

लुम्बिनी एक्स्पोका लागि १० अन्तर्राष्ट्रियसहित ६ सय स्टल दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १३:०१

३ पुस, बुटवल । बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा ५ पुसदेखि हुन लागेको लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलामा १० अन्तर्राष्ट्रियसहित ६ सय स्टल दर्ता भएका छन् ।

आर्थिक मन्दीका बीच रुपन्देहीमा आयोजना हुने ब्यापार मेला मध्ये यो स्टल संख्या सबैभन्दा धेरै हो ।

रुपन्देही व्यापार संघको आयोजनामा हुन लागेको एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तान, कोरिया लगायत १० राष्ट्रका उत्पादित वस्तुका स्टल रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

एक्स्पोमा सबैभन्दा धेरै गार्मेन्ट तथा तयारी पोशाकका १ सय ४१ स्टल दर्ता भएका छन् । होल तथा रेष्टुरेन्टका २३, कृषिका ४३, अन्तर्राष्ट्रिय १०, ब्याग र जुत्ता चप्पलका ६८ र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका ७८ स्टल रहने मेला आयोजक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

श्रृंगार, उपहार तथा खेलौनाका ५२,फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिकका ५३, बैंक/वित्तीय संस्था एवम् शैक्षिक संस्थाका १८, अटोमोबाइलका ६, सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सका १६,आइसक्रिम तथा वेकरीजका १८,स्टेसनरी तथा स्पोर्टसका ८ र औषधिजन्य ६६ स्टल रहने अध्यक्ष घिमिरेले बताए ।

मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।

मेलामा बुद्ध जन्मस्थल लुम्बिनीसहित प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेका सम्पदा तथा सथलको प्रचारप्रसारसमेत गरिने महासचिव दयानिधि भण्डारीले बताए ।

कोरोना महामारीपछि सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउन अन्तर्राष्ट्रिय व्यापार मेलाले टेवा पुग्ने अपेक्षा गरिएको प्रचारप्रसार संयोजक पर्शुराम पन्थले बताए ।

मेला अवधिमा दर्शकको मनोरञ्जनका लागि लोक दोहोरी, डान्स आइडल, विद्यालयस्तरीय लोक नृत्य, विद्यालय स्तरीय वादविवाद, र्‍याप र भजन गीत प्रतियोगिता तथा चर्चित कलाकारहरुको प्रस्तुति समावेश गरिने उनले जानकारी दिए ।

एक्स्पोमा सहभागी स्टलको बीमा सहित स्मार्ट सुरक्षा व्यवस्था गरिएको र उद्घाटन समारोहको तयारी करिब पूरा भएको संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?