+
+

अमेरिकाका विश्वविद्यालयमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन जारी, न्युयोर्कबाट ३०० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते ६:५६

२० वैशाख, काठमाडौं । अमेरिकाका विश्वविद्यालयहरुमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन चर्किंदै गएको छ । प्रदर्शनमा सहभागीहरुमध्ये ३०० जना पक्राउ परेका छन् । केही विश्वविद्यालयहरुमा तोडफोड र प्रहरीसँग झडपसमेत भएको छ ।

समाचार एजेन्सी एपीका अनुसार क्यालिफोर्निया युनिभर्सिटीमा १५ जना घाइतेसमेत भएका छन् ।

इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा गरेको आक्रमणको विरोधमा अमेरिकाका हरेकजसो विश्वविद्यालयहरुमा साना–ठूला प्रदर्शन हुँदै आएको छ । केही स्थानमा झडप र तोडफोड भएको समाचार आएका छन् ।

बीबीसीले कोलम्बिया युनिभर्सिटी र द सिटी युनिभर्सिटी अफ न्युयोर्कमा ३०० प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।
न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार कोलम्बिया युनिभर्सिटीले निवेदन दिएपछि त्यहाँ बस्दै आएका विद्यार्थीहरुविरुद्ध अभियान चलाएको र गिरफ्तार गरिएको जनाएका छन् ।

युनिभर्सिटीभित्र बसेर प्यालेस्टाइन समर्थकहरुले शान्तिपूर्ण प्रदर्शन गर्दै आएका थिए । तर त्यो प्रदर्शनमा घुसपैठ भएको भन्दै प्रहरीले कारबाही अभियान चलाएको हो ।

न्युयोर्कका मेयरले शहरका अन्य स्थानको सुरक्षालाई पनि ध्यान दिँदै प्रहरीले कारबाही अभियान चलाउने बताएका छन् । शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार भए पनि हुलहुज्जत, तोडफोड र शान्ति सुव्यवस्थालाई खलल पार्न नहुने उनको भनाइ छ ।

विद्यार्थीहरुले न्युयोर्क, टेक्सस, कोलम्बिया, जर्जवाशिङ्गटन, इन्डियाना युनिभर्सिटी अफ पेन्सेल्भेनिया लगायतका स्थानमा प्रदर्शन गर्दै आएका छन् ।

जर्जवाशिङ्गटन युनिभर्सिटीमा विद्यार्थीहरुले गरेको प्रदर्शनमा समर्थन जनाउन रिपब्लिकन सांसदहरुसमेत पुगेका थिए ।

टेक्सस युनिभर्सिटीमा एकजना पत्रकारसमेत पक्राउ परेका थिए तर पछि उनी रिहा भएका थिए ।

प्यालेस्टाइनको पक्षमा अमेरिकासँगै इजिप्टको कायरो, फ्रान्सको पेरिस, अष्ट्रेलियाको सिड्नी लगायतका स्थानमा पनि प्रदर्शन हुँदै आएको छ ।

प्यालेस्टाइनको पक्षमा अमेरिकाका विश्वविद्यालयहरुमा भइरहेको प्रदर्शन स्थललाई नक्सामा देखाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?