+
+
कविता :

आवागमन

कञ्चन बस्‍नेत कञ्चन बस्‍नेत
२०८१ जेठ २ गते ११:२३

आस्थाका अमर शृंखलाहरु

बस स्टेसनबाट निस्किएका बसहरु जस्तो

लगातार हिंडिरहेका छन् ।

तिमीलाई एउटा बस पक्डिनु छ,

अनि जानुपर्ने/गइहाल्नुपर्ने छ यहाँबाट ।

अनि मेरो अनुमानमा

तिमीले पछाडि फर्केर हेर्ने छैनौ

त्यो पुरानो मानिस

जो ठाउँठाउँमा धागो उक्किएको, धुलो जमेको कोटमा

जबर्जस्ती औंला घुसारिरहेको छ ।

हुनसक्छ उसको सुक्खा आँखाको

अतल गहिराइमा सघन आर्द्रता छ ।

म सम्झन्छु,

तिमी मलाई नदेख्नलाई अन्धो भएको थियौ

मलाई नसुन्नलाई बहिरो भएको थियौ ।

अनि सम्झन्छु,

आधा खुलेको ढोकामा कस्तरी

मेरो औंला निलो हुन्जेल च्यापिएको थियो ।

जब तिमी बसको सिटमा बस्नेछौ

मलाई डर लाग्छ कि

तिमीलाई स्मृतिको बाछिटा नलागोस्

तिमीलाई चिठी लेख्दा

मेरो टेबुलपोसमा पोखिएको

कालो मसीको बूढो गन्धले नाकका कोषहरु नचिमोटुन् ।

टेबुलको घर्राभित्रको मैलो नोटबुकले

जहाँ तिम्रो नाम अझै गहिरो सास फेरिरहेको छ

आँखा नथर्थराउन् ।

ओहो ! मभित्रको त्यो श्रापित मानिस

जो रात नकठ्याङ्ग्रिनु अघिन्जेलससम्म

हिउँमान्छेमा

महसुस गर्ने मुटु राख्ने प्रयास गरेको थियो ।

प्रार्थना गरौं त्यो श्रापितको गुलाबी कान

विस्तारै सामान्य हुनेछ ।

कसरी मधुरा बतासहरु खप्न नसकी

बलिया हाँगाहरु भाँचिन्छन्

कसरी अँध्यारो हुनुअगावै

प्रदीपका वर्तिका ओसिन्छन्

कसरी ईश्वरका गीत गाउनेहरु

अकारण उपालम्भ बर्बराउन थाल्छन् ।

मसँग के आस्था बाँकी छ ?

मसँग के आशा बाँकी छ ?

तिम्रो प्रत्यागमन बाहेक

कल्पना गरौं प्रत्यागमनको उत्सवमा

अमिलो मुस्कान, नुनिलो आँसुले

मस्तिष्कका छिद्र बन्द गर्छ ?

रगत छादिरहेको हृदय साम्य हुन्छ ?

म तिम्रो छेउ उभिरहेको छु

चुहिने छाता ओढेर

मक्किएको नाविकहीन डुङ्गामा

असंगत जीवन जसोतसो घचेट्ने प्रारम्भमा ।

के नयाँ छ र यहाँ म बाहेक

हेर, त्यही दिनैपिच्छे आउने साँझ

यो सडकमा फेरि फुत्रुक्क खस्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?