+
+

डीभी पर्‍यो, अब के गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १८:१०

२४ वैशाख, काठमाडौं । अमेरिकी सरकारले दिँदै आएको डाइभर्सिटी भिसा (डीभी) को सन् २०२५ का लागि नतिजा सार्वजनिक भइसकेको छ । इडीभी नतिजामा सफल भइसकेकाहरुलाई अब के गर्ने ? कसो गर्ने चासो हुन सक्छ ।

डीभी पर्नु नै तपाईं अमेरिका जान सिधै योग्य हुनु भने होइन । त्यसपछि पनि धेरै प्रक्रिया पार गर्नुपर्दछ ।

आउनुस्, डीभी परिसकेपछि के गर्ने ? थोरै चर्चा गरौं :

सन् २०२५ का लागि डीभीमा सफल भएकाहरुले सकेसम्म छिटो डीएस २६० फारम भर्नुपर्दछ । इडीभीजस्तै यो फारम पनि आफैं निशुल्क अनलाइनमार्फत भर्न सकिन्छ, कुनै कन्सल्टेन्सी वा तेस्रो व्यक्ति आवश्यक पर्दैन ।

डिभी परेपछि भिसाको लागि आवेदन दिन अनुमति पाइन्छ । तर, भिसा प्राप्त गरिहाल्ने भन्ने हुँदैन । अन्तर्वार्ताका लागि दूतावासले बोलायो भने आफूलाई आवश्यक पर्ने सबै सक्कल कागजातहरु आफैंसँग लैजानुपर्छ ।

आवेदकको भिसा केस नम्बरलगायत सहि भएको वा नभएको आधारमा मात्रै अन्य प्रक्रिया अघि बढ्ने छ । त्यसपछि मात्रै दूतावासले थप कागजातहरु माग गर्न सक्नेछ ।

अमेरिकी कानुनले भिसाको योग्यता पूरा गर्न आवेदकले सबै आवश्यक कागजातहरु बुझाउनुपर्ने व्यवस्था गरेको छ । आवश्यक कागजात पूरा नभएमा भिसा अस्वीकृत पनि हुन सक्छ ।

यद्यपि, कागजातको अभावका कारण भिसा अस्वीकृत भएमा पछि कागजातहरु पेश गरेर भिसा प्राप्त गर्न भने सकिने हुन्छ । तथापि, यसको प्रक्रिया लामो हुन सक्छ ।

नतिजा हेर्नुभयो ?

माथि उल्लेखित सबै प्रक्रिया त्यतिबेलामात्रै पूरा गर्न पाइन्छ, जतिबेला तपाईंलाई आफ्ना डीभीको कन्फर्मेसन कोड याद हुनुपर्छ । कतिपयले आफ्नो कन्फर्मेसन कोड बिर्सिंदा तनाव व्यहोर्नु परिरहेको हुन सक्छ ।

डिभी चिठ्ठी परेको वा नपरेको थाहा पाउन आफ्नो कन्फर्मेसन कोड थाहा हुनु अनिवार्य छ । कन्फर्मेसन कोडबिना तपाईं‌ले आफ्नो डीभी नतिजा नै हेर्न पाउनु हुन्न ।

किनकि कोड नम्बर, थर र जन्म मिति (वर्ष) हालेर मात्रै डीभीको नतिजा थाहा पाउन सकिन्छ ।

त्यसो भए, कन्फर्मेसन कोर्ड बिर्सिंदा सबै सकिन्छ त ? त्यस्तो पनि होइन, कन्फर्मेसन नम्बर हराइहाले पनि चिन्ता लिनु पर्दैन ।

डिभी लोटरीको कन्फर्मेसन नम्बर हराएमा नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेसन नम्बर प्राप्त गर्न सकिने सुविधा अमेरिकी सरकारले दिएको छ ।

तर, हराएको कन्फर्मेशन नम्बर पनि मे ४ पछिमात्रै पाउन सकिन्छ । त्यसका लागि सुरुमा डीभी भर्दा आफूले उल्लेख गरेको इमेल ठेगाना नै अनिवार्य रुपमा प्रयोग गर्नुपर्दछ ।

डिभी नतिजा हेर्ने लिंकमा ‘फर्गट कन्फर्मेसन नम्बर’ क्लिक अप्सन उपलब्ध हुन्छ ।

त्यहाँ क्लिक गरिसकेपछि वर्ष २०२५ छनोट गर्ने,

त्यसपछि सुरुमा डीभी भर्दा प्रयोग गरेको पूरा नाम, थर, जन्ममिति र इमेल हालेर कन्फर्मेसन कोड पुन: प्राप्त गर्न सकिन्छ ।

दूतावासले गर्दैछ सहजीकरण

नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा परेका नेपालीका जिज्ञासा मेटाउन मंगलबार ‘कन्सुलर डाइभर्सिटी भिसा च्याट’ गर्दैछ ।  उक्त संवादमा डाइभर्सिटी भिसा २०२५ सँग सम्बन्धित प्रश्नहरूका जवाफ दिइने दूतावासले जनाएको छ ।
दूतावासका कन्सुलर अधिकारीले २५ वैशाखको दिउँसो २ देखि ३ बजेसम्म दूतावासको फेसबुक पेजमा लाइभ जवाफ दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?