अमेरिकाले पृथ्वीको कक्षमा ‘अन्तरिक्ष हतियार’ तैनाथ गरेको पुष्टि गरेको छ । अमेरिकाले यस प्रकारको आक्रामक क्षमताबारे सार्वजनिक रूपमा स्वीकार गरेको यो पहिलोपटक हो ।
अमेरिकी वायुसेनाका सचिव ट्रोय मेइङ्कले शत्रुको निगरानी गर्न यस्ता हतियार आवश्यक रहेको बताएका छन् ।
सोमबार आयोजित वायु, अन्तरिक्ष तथा साइबर सम्मेलनमा बोल्दै मेइङ्कले अमेरिका ‘बदलिँदै गरेका खतराहरू’ सामना गर्न तयार रहेको बताएका हुन् ।
तर उनले उक्त हतियारको क्षमता के हो वा यसलाई अन्तरिक्षको कक्षमा कहिले तैनाथ गरिएको हो ? भन्नेबारे विस्तृत जानकारी दिएनन् ।
अमेरिकाका वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि पनि अन्तरिक्षमा सैन्य क्षमता विस्तार गर्ने योजना रहेको बताउँदै आएका थिए ।
उनीहरूले भविष्यमा हुने सम्भावित द्वन्द्वमा अमेरिकी भू–उपग्रहमा आक्रमण गर्न तथा तिनको काममा अवरोध पुर्याउनसक्ने प्रविधि विकास गरिरहेका रुस तथा चीनका कार्यक्रमलाई यसको कारणका रूपमा प्रस्तुत गरेका छन् ।
चीनको चेतावनी
चीनले मंगलबार अन्तरिक्षमा ‘हतियारको होड’ नबढाउन चेतावनी दिँदै अमेरिकाको घोषणाको प्रतिक्रिया दिएको छ ।
एएफपीका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘हामी अमेरिकी पक्षलाई आफ्नो सैन्य क्षमता विस्तार गर्न र अन्तरिक्षमा युद्धको तयारी गर्न बन्द गर्न आग्रह गर्छौं ।’
अमेरिकी अधिकारीहरूले उक्त हतियारले कसरी काम गर्छ भन्नेबारे कुनै जानकारी दिएका छैनन् ।
‘स्पेस कन्ट्रोलअन्तर्गत अन्तरिक्ष क्षेत्रमा प्रतिस्पर्धा गर्न र नियन्त्रण कायम गर्न आवश्यक पर्ने विभिन्न अभियान क्षेत्र पर्छन्,’ अमेरिकी स्पेस फोर्सका एक प्रवक्ता भन्छन्, ‘यसअन्तर्गत विरोधीको क्षमतामा अवरोध पुर्याउने, कमजोर बनाउने र आवश्यक परे नष्ट गर्नेसम्मका कार्य गर्न सकिन्छ ।’
उनले यी क्षमताहरूको प्रयोग लडाकु कमान्डको निर्देशनमा आक्रामक तथा रक्षात्मक दुवै उद्देश्यका लागि गर्न सकिने बताएका छन् ।
विज्ञहरू के भन्छन् ?
अन्तरिक्षको सैन्य प्रयोगसम्बन्धी एक विज्ञले यो प्रविधिबारे सार्वजनिक रूपमा धेरै कम जानकारी उपलब्ध रहेको बताएका छन् । उनले बीबीसीसँग कुरा गर्दै यसमा ‘विभिन्न प्रकारका हतियार प्रणालीको पूरै दायरा’ हुनसक्ने बताए ।
रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका डा. ब्लेडिन बोवेनले रेडियो ४ को ‘टुडे’ कार्यक्रममा अमेरिकाले ‘कुनै प्रकारको इलेक्ट्रोनिक युद्ध वा रेडियो जामिङ प्लाटफर्म’ को कुरा गरिरहेको हुनसक्ने बताए ।
‘यस्तो हतियार पृथ्वीमा पहिल्यै प्रयोगमा रहेको प्रविधिजस्तै हुनसक्छ, जसले रेडियो सञ्चारमा अवरोध पुर्याउन सक्छ,’ बोवेनले भने ।
अर्को सम्भावना ‘काइनेटिक किल भेहिकल’ अर्थात् कुनै वस्तुलाई भौतिक रूपमा प्रहार गरेर नष्ट गर्न सक्ने अन्तरिक्षीय प्रणाली हुन सक्ने उनले बताए ।
यस्तो प्रणालीले मिसाइल वा अन्य प्रक्षेप्यास्त्र प्रहार गरी कुनै भू–उपग्रहमा ठोक्काएर त्यसलाई नष्ट गर्न सक्छ ।
तर बोवेनले यस्तो हतियारको सम्भावना कम रहेको बताए । उनका अनुसार यस्तो प्रणाली प्रयोग गर्दा ठूलो मात्रामा अन्तरिक्षीय फोहोर उत्पादन हुनसक्छ ।
ट्रम्प प्रशासनले अन्तरिक्षमा आधारित क्षमता र इन्टरसेप्टर मिसाइलहरू अमेरिकालाई मिसाइल तथा अन्य हवाई खतराबाट जोगाउने ‘गोल्डेन डोम’ रक्षा प्रणालीको महत्वपूर्ण हिस्सा रहेको बताउँदै आएको छ ।
गत वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै अमेरिकी स्पेस फोर्सको भूमिकालाई अन्तरिक्षमा रहेका अमेरिकी सम्पत्तिको रक्षा गर्नेमै सीमित नराखी आक्रमण गर्नसक्ने सैन्य शक्तिका रूपमा पनि प्रस्तुत गरेका थिए ।
अमेरिकी स्पेस फोर्सको स्थापना सन् २०१९ मा गरिएको थियो । यसको उद्देश्य अन्तरिक्षमा रहेका अमेरिकी सम्पत्तिको सुरक्षा गर्नु हो । तीमध्ये सञ्चार तथा निगरानीका लागि प्रयोग हुने सयौँ भू–उपग्रह पनि छन् ।
अन्तरिक्षमा युद्धको इतिहास
सन् १९६७ मा भएको एउटा अन्तर्राष्ट्रिय सन्धिले पृथ्वीको कक्षमा व्यापक विनाश गर्नसक्ने हतियार तैनाथ गर्न प्रतिबन्ध लगाएको थियो । त्यसयता अमेरिका, रुस र चीनजस्ता प्रमुख शक्तिहरूले उक्त सन्धिको दायराभन्दा बाहिर पर्ने अन्य सैन्य क्षमता विकास गर्दै आएका छन् ।
यसमा प्रतिद्वन्द्वी देशका भू–उपग्रहलाई लक्षित गर्ने क्षमता पनि पर्छ । यस्ता भू–उपग्रह सैन्य सञ्चार, निगरानी तथा नेभिगेसनका लागि महत्वपूर्ण मानिन्छन् ।
गत फेब्रुअरीको सुरुवातमा सार्वजनिक भएको एक विवरणअनुसार, सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता रुसका दुई भू–उपग्रहले कम्तीमा एक दर्जन युरोपेली भू–उपग्रहको सञ्चारमा सम्भावित रूपमा हस्तक्षेप गरेका थिए ।
यसबाट रुसी गुप्तचर निकायहरूले ती भू–उपग्रहबाट पठाइएका संवेदनशील डेटा पढ्न सकेको हुनसक्ने वा सैद्धान्तिक रूपमा ती भू–उपग्रहको नियन्त्रणसमेत आफ्नो हातमा लिन सक्ने अवस्था बनेको हुन सक्ने बताइएको थियो ।
सन् २०२४ मा अमेरिकाले रुसले एउटा यस्तो भू–उपग्रह प्रक्षेपण गरेको बताएको थियो, जुन अर्को भू–उपग्रहमा आक्रमण गर्न सक्षम हुन सक्ने उसको आकलन थियो ।
रुसले भने यस विषयमा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको थिएन ।
अमेरिकी स्पेस फोर्सका अनुसार चीनले सैन्य आधुनिकीकरणको रणनीतिअन्तर्गत अन्तरिक्ष तथा काउन्टरस्पेस क्षमता विकास र सञ्चालन गरिरहेको छ ।
त्यस्तै, रुसले अन्तरिक्षलाई युद्धको एउटा क्षेत्रका रूपमा हेर्छ र भविष्यका द्वन्द्वमा अन्तरिक्षमाथिको प्रभुत्व निर्णायक कारक हुने विश्वास राख्छ । –बीबीसीबाट
प्रतिक्रिया 4