+
+
Shares
टिमुरेको आधारभूत विद्यालय :

बाढीले ३५ मध्ये २५ जना विद्यार्थी बगायो, सम्पर्कमा छैनन् ६ शिक्षक

‘जोगिएका विद्यार्थी अभिभावकसहित काठमाडौंमा हुनुहुन्छ । कोही ललितपुर कोही काठमाडौंमा हुनुहुन्छ । होल्डिङ सेन्टरमा बसिरहेका छौं’, प्रधानाध्यापक फूर्वू दोर्जे घलेले भने ।

दिनेश गौतम दिनेश गौतम
२०८३ भदौ ३० गते २०:०६

३० भदौ, काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा ३५ जना विद्यार्थी थिए । तर, भदौ १० को बाढीले २५ जनालाई बगायो ।

विद्यालयका प्रधानाध्यापक फूर्वू दोर्जे घलेका अनुसार विद्यालय सञ्चालन गर्ने अवस्था छैन ।

‘१० जना विद्यार्थीले भागेर ज्यान जोगाएका छन् । अहिले विद्यालयको भवन छैन । विद्यार्थी छैनन्,’ उनले भने, ‘गाउँ नै खाली छ । पुल छैन । बाटो छैन ।’

बाढीको सूचना नै नभएका कारण धेरै विद्यार्थी र स्थानीय बाढीमा परेका छन् । ‘बम पड्केको जस्तो आवाज आएको थियो । एकैछिनमा अँध्यारो भयो । विद्यालयमा खबर गर्ने समय नै भएन,’ घलेले भने ।

बाढीबाट विस्थापित भएपछि जोगिएकाहरू आश्रय लिन काठमाडौं आएका छन् । ‘अभिभावकसहित विद्यार्थी पनि काठमाडौंमा हुनुहुन्छ । कोही ललितपुर कोही काठमाडौंमा हुनुहुन्छ । होल्डिङ सेन्टरमा बसिरहेका छौं’, उनले भने ।

शिक्षा मन्त्रालयबाट खटिएको अध्ययन टोलीले पनि नजिककै अर्को विद्यालयमा छात्रवासमा राखेर पढाउन सकिने सिफारिस गरेको छ ।

बाढीले विद्यार्थी मात्र होइन, पढाउन शिक्षकलाई समेत बगाएको प्रधानाध्यापक घलेले बताए । उनका अनुसार १० जना शिक्षक रहेकोमा ६ जना सम्पर्कविहीन छन् ।

‘बाहिरबाट पढाउन आउनुभएको सर–मिस गरेर ६ जना पर्नुभएको छ । स्थानीय घरमै बस्नुहुन्थ्यो । उहाँहरू जोगिनुभयो । विद्यालयमा बस्ने शिक्षकहरू पर्नुभयो,’ उनले भने ।

प्रधानाध्यापक घलेका अनुसार सम्पर्कविहीन हुने शिक्षक–शिक्षिकामा हिमानसिंह तामाङ, कविता न्यौपान, रामचन्द्र बिक, सन्तोष श्रेष्ठ, कान्छी घले र सोनाम बुट्टी  छन् । उनका अनुसार विद्यालय पूर्ण रूपमा क्षति भएको छ ।

उनी भन्छन्, ‘मुख्य राजमार्गसँग जोड्ने सडक पनि छैन । अहिले विद्यालय सञ्चालन गर्ने अवस्था छैन ।’

घरहरू पनि बगाएकोले जोगिएका विद्यार्थीलाई अर्को ठाउँमा पढाउनुपर्ने अवस्था छ । ‘बस्ती नै बगरमा परिणत भएको छ,’ प्रधानाध्यापक घलेले भने ।

उनीहरूको लागि नजिकैको अन्य विद्यालयमा छात्रवासमा राखेर पढाउनुपर्ने अवस्था छ । तर, जोगिएका १० जना विद्यार्थी पनि अभिभावकसँगै विभिन्न होल्डिङ सेन्टरमा छन् । ‘कतिपय विद्यार्थीले अभिभावक पनि गुमाएका छन्,’ उनले भने ।

शिक्षा मन्त्रालयबाट खटिएको अध्ययन टोलीले पनि नजिककै अर्को विद्यालयमा छात्रवासमा राखेर पढाउन सकिने सिफारिस गरेको छ । ‘कोमिन नमुना विद्यालयमा राम्रो छात्रवास छ । कोमिन नमुना विद्यालयको छात्रवासमा राख्ने पहिलो विकल्प खोज्न सकिन्छ । यसको लागि स्थानीय तहसँग समन्वय भएमा सहजै व्यवस्थापन हुन सक्छ,’ अध्ययन टोलीको प्रतिवेदनमा भनिएको छ ।

टिमुरेको सुरक्षित स्थानको पहिचान गरेर बसोबासको व्यवस्थापन गरेमा आफूहरू जना तयार रहेको प्रधानाध्यापक घले बताउँछन् । तर अहिले स्थानीय गएर कहाँ बस्ने भन्ने समस्या छ । ‘आफ्नो थातथलोमै जानुपर्छ । सुरक्षित ठाउँको पहिचान होस्,’ उनले भने ।

टिमुरेमा कति मानवीय क्षति भयो भन्ने अझैँ विवरण आइसेकेको छैन । तर, प्रधानाध्यापक घलेकै १४५ जना आफन्त बाढीमा परेका छन् । उनीसहितका जोगिएका स्थानीय अहिले काठमाडौंको विभिन्न गुम्बामा आश्रय लिएर बसेका छन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?