+
+
Shares

टिमुरेवासीको चाहना: सीमा रक्षक हौँ, उतै फर्किन्छौं

बाढीबाट विस्थापित भई काठमाडौं आइपुगेका टिमुरेवासी आफ्नै थातथलोमा फर्किन चाहन्छन् । तर त्यही टिमुरेमा होइन, त्यहाँबाट आधा घण्टामाथिको पुरानो गाउँ खैदीमा । त्यहाँ एकीकृत बस्ती बसाउने योजना उनीहरूको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८३ भदौ ३१ गते २०:०८

३१ भदौ, काठमाडौं । कोही मन्त्र जपिरहेका छन् । कोही मौन छन् । आफन्त गुमाएकाहरू पूजापाठ गरिरहेका छन् । तर सबै बेचैन देखिन्छन् ।

काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बाको प्राङ्गणको दृश्य हो यो । यहाँ भदौ १० गतेको भोटेकोशी बाढीबाट विस्थापित भएर आएका रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका २५० स्थानीय छन् । उनीहरूले आफ्नो कोही न कोही गुमाएका छन् ।

‘भाग्न सक्नेहरू वनतिर भागे । नसक्नेहरू बगे । टिमुरेका धेरै मान्छे बगे नि । नसोचेको भयो । दुःख पर्‍यो,’ ६७ वर्षीया लाक्पाछे घलेले भनिन्, ‘चिन्ताले रोएर–रोएर आँखा सुन्निएको छ । अहिले यहाँ छौँ, भोलि कहाँ जाने हो थाहा छैन । ‘जाने मान्छेहरू गइसके । हामी बाँचेकाहरूले जाने मान्छेका लागि धर्म गर्नुपर्‍यो नि ।’

लाक्पाछे घले

छिमेकमा अलि पर सुत्केरी र बच्चा हेर्न गएका कारण उनी जोगिएकी रहिछिन् । अहिले उनी यही गुम्बामा आश्रय लिएर बसेकी छिन् ।

अहिले यो गुम्बा टिमुरेका बाढी विस्थापितको लागि होल्डिङ सेन्टर बनाइएको छ । गुम्बाको भित्र फलामको खाट छ । कोही खाटमाथि त कोही भुईँमा म्याट बिच्छ्याएर बसेका छन् ।

त्यहीं भेटिए नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका प्रधानाध्यापक फुर्पु दोर्जे घले । उनी पनि विस्थापित भएर यहाँ आएका हुन् । घले विस्थापित भएर आएकाहरूको व्यवस्थापनमा खटिएका छन् ।

‘कोही खाटमाथि, कोही मुनि मिलाएर बसिरहेका छौँ,’ उनले भने, ‘टिमुरे जान घर छैन । त्यही भएर हामी सबै होल्डिङ सेन्टरमा बसिरहेका छौँ । विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।’

स्थानीय १४५ जना बेपत्ता

प्रधानाध्यापक घलेका अनुसार त्यो दिन टिमुरेमा स्थानीय बासिन्दा मात्रै २५० भन्दा बढी थिए । ‘उद्धार भएर आएका ९५ जना पनि पुगेका छैनौँ । १४५ जना जति त्यहीँ बेपत्ता हुनुभयो,’ उनले भने, ‘२०० वटाजति घर थिए । अहिले छैनन् ।’

एक–दुई वटा घर बाढीको फोर्स नपुगेकाले बचेका छन् । तर ती पनि बस्न लायक नभएको उनले बताए ।

२०७८ सालको जनगणना अनुसार टिमुरेमा १६३ घरमा ५५० जनसंख्या थियो । तर बाढीमा कति मान्छे परे भन्ने यकिन विवरण छैन । उनको विद्यालयका मात्र २५ जना विद्यार्थी र ६ जना शिक्षक सम्पर्कमा छैनन् । ‘१० जना विद्यार्थी मात्र भागेर जोगिएका छन्,’ घलेले भने ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका प्रधानाध्यापक फुर्पु दोर्जे घले

बाढीमा स्थानीय बाहेक अरू मानिस पनि धेरै परेका छन् । ‘टिमुरेमा बैंक मात्र सात वटा थिए । भन्सार, अध्यागमन, विभिन्न क्वारेन्टाइन र तीनवटै सुरक्षा निकायका कार्यालय थिए,’ उनले भने, ‘करिब २ हजारको हाराहारीमा परेको हुनुपर्छ । कैलाश जाने पर्यटकहरूको घुँइचो थियो । कन्टेनर गाडीहरू ७–८ सय जति थिए । चालक र सहचालक परेका छन् ।’

उनका अनुसार घट्टेखोलामा ठूला–ठूला सुविधासम्पन्न चार–पाँच वटा होटल थिए । त्यहाँका होटल भरिएका थिए । ‘टिमुरेमा पनि तीन–चार वटा होटल प्याक थिए । टिमुरेदेखि भन्सार कार्यालयको ठाउँसम्म जति मानिस थिए, उनीहरू बाँचेनन्,’ उनले भने ।

बाढीको कुनै सूचना नभएका कारण धेरै क्षति भएको उनको बुझाइ छ । ‘केही सूचना थिएन । सूचना भएको भए केही न केही बढी मानिस बाँच्न सफल हुने थिए । यो आकस्मिक रूपमा आएको हो,’ उनले भने ।

बुद्धिस्ट संस्कारअनुसार काजकिरिया, खर्च छैन

बुद्धिस्ट संस्कारअनुसार उनीहरूले गुम्बामा काजकिरिया सुरु गरेका छन् । ‘आफ्नो रीतिरिवाज, धर्म–संस्कारअनुसार बितेका मानिसका लागि घेवा गर्न ४९ दिनसम्म यहीँ बस्छौँ,’ प्रधानाध्यापक घलेले भने, ‘त्यत्रो मानिस बित्नुभएको छ । आफ्नो धनसम्पत्ति गयो ।’

काजकिरिया गर्ने खर्चसमेत नभएको गुनासो उनीहरूले गरेका छन् । ‘हामीले दैनिक रूपमा, हप्ता–हप्तामा छेमी बाल्नुपर्छ । पाठपूजा गर्नुपर्छ । त्यसका लागि हामीसँग पैसा छैन । ४९ दिन सकिसकेपछि दिएको किरिया खर्चको अर्थ हुँदैन,’ उनले भने, अहिले गर्नुपर्ने बेलामा पाएनौँ भने पछिको अर्थ हुँदैन । राज्यले नै लगोस् । हामी स्वयम्भूमै रोडमा मागेर खाएर बाँचौँला । तर बितेकाहरूलाई हाम्रो धर्मकर्मले अलपत्र राख्न मिल्दैन ।’

पीडितहरूले सरकारसँग किरिया खर्चको अपेक्षा राखेका छन् । ‘तेस्रो हप्ता भइसक्यो । अब जम्मा चार हप्ता छ । किरिया खर्च छिटो उपलब्ध होस्,’ घलेले भने ।

बैंकबाट पैसा झिक्न पाएनन्

परिवारका सदस्यको पैसा बैंकमा थियो । तर बाढीले सम्बन्धित व्यक्तिलाई बगाएपछि पैसा झिक्नसमेत समस्या भएको गुनासो उनीहरूको छ ।

‘पैसा झिक्नका लागि मृत्यु दर्ता आवश्यक पर्ने व्यवस्था छ । आफन्त बितिसक्नुभयो । उहाँहरूको खर्च गर्न र पैसा झिक्न पनि मृत्यु दर्ता चाहिन्छ । अहिले हामीले मृत्यु दर्ता पाएका छैनौँ,’ उनले भने, ‘मृत्यु दर्ताबिना आफ्नो पैसा पनि झिक्न पाइरहेका छैनौँ ।’ मृत्यु दर्ता गर्ने वातवरण बनाउन उनीहरूले सरकारलाई आग्रह गरेका छन् ।

सीमा रक्षक हौं, थातथलोमा फर्किन्छौँ

बाढीबाट विस्थापित भएर काठमाडौं आइपुगेका टिमुरेवासी आफ्नै थातथलोमा फर्किन चाहन्छन् । तर उनीहरू त्यही टिमुरेमा होइन, त्यहाँबाट आधा घण्टामाथिको पुरानो गाउँ खैदीमा । त्यहाँ एकीकृत बस्ती बसाउने योजना उनीहरूको छ ।

‘हाम्रो रीतिरिवाज छ । जन्मभूमि हो । लिच्छवीकालदेखिको हाम्रो इतिहास, बुवा–बाजेले त्यहाँ जोगाएको सीमा र सीमा स्तम्भ जोगाउन चाहन्छौँ । सीमाका रक्षक हौँ,’ सीमापार व्यवसायी संघका अध्यक्ष तथा नाका व्यवस्थापन समितिका संयोजक कामी नुर्पु तामाङले भने, ‘सरकारले छिटोभन्दा छिटो पुनर्वासको व्यवस्था गरोस् ।’

कामी नुर्पु तामाङ

खैदीमा दुई–तीन सयभन्दा बढी घर बनाउन सकिने योजना सुनाउँछन् प्रधानाध्यापक घले । ‘विज्ञहरूले त्यहाँ रिसर्च गर्न सक्नुहुन्छ । एकीकृत बस्ती बनाउन सकिन्छ । दुई–तीन सयभन्दा बढी घर बस्न सक्ने सम्भावना छ,’ उनले भने, ‘हामी आफ्नै ठाउँमा फर्किन चाहन्छौँ । त्यहाँ हाम्रो समाज छ, रीतिरिवाज छ, भाषा, धर्म, संस्कृति सबै छ । पुनर्वास हुन सकेन भने त्यो कल्चर सबै कोल्याप्स हुन्छ ।’ आफू जन्मेको ठाउँ र आफ्नो आमा भनेको स्वर्गभन्दा प्यारो हुने तर्क गर्छन् उनी ।

‘त्यहाँ स्वास्थ्य, शिक्षा र सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । सुरुमा त्यहाँ पूर्वाधारहरू हुनुपर्‍यो। भौतिक पूर्वाधार निर्माण हुनुपर्‍यो । बत्ती, खानेपानी र सडकको ग्यारेन्टी हुनुपर्‍यो,’ घलेले भने, ‘हामी त्यहीँ जान्छौँ, त्यहीँ दुःख गर्छौँ, त्यहीँ कर्म गर्छौँ ।’

व्यापार-व्यवसाय त्यतै भएकाले पनि उनीहरू टिमुरे–खैदीमा जान चाहन्छन् । ‘काठमाडौंमा पनि बस्दैनौं । यहाँ बसेर सबैलाई कामै छैन । के गरेर बस्ने ? माथि गएपछि विस्तारै–विस्तारै हाम्रो काम हुन्छ,’ स्थानीय छिरिङ डेकी तामाङले भनिन्, ‘पहिलो बाटो सरकारले खोल्नु पर्‍यो । हाम्रो पुरानो गाउँ खैदी हो, त्यहीँ जान्छौँ ।’

छिरिङ डेकी तामाङ

चीनसँग समन्वय गरेर नाका खोलियोस्

सरकारले छिटोभन्दा छिटो निर्णय गरेर अर्थतन्त्रमा ठूलो योगदान गर्ने त्यो नाका खोल्नुपर्ने माग उनीहरूको छ ।

‘रसुवागढी नाका ड्यामेज हुनु भनेको रसुवावासी वा टिमुरेवासीलाई मात्र होइन, देशलाई नै घाटा हो । नाका खोल्नै पर्छ,’ सीमापार व्यवसायी संघका अध्यक्ष तामाङले भने, ‘हाम्रो नाकाबाट चीनका कम्पनीदेखि काठमाडौंसम्म १०–१२ दिनमा सामान आइपुग्थ्यो । अब जहाजबाट ल्याउँदा दुई–तीन महिना लाग्न सक्छ । सामानको मूल्य बढ्छ । भाउ बढ्छ । गरिब जनतालाई झन् पिरमाथि पिर थपिन्छ ।’

तस्वीर/भिडियो : कमल प्रसाईँ/अनलाइनखबर

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?