+
+

अमेरिकाले इजरायलमा हतियार आपूर्ति रोक्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते ५:३३

२७ वैशाख, काठमाडौं । इजरायलले प्यालेस्टाइन क्षेत्रको रफामा सैन्य कारबाही सुरु गरेपछि अमेरिकाले इजरायललाई दिने भनेको सैन्य सहयोग रोकेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सीएनएनलाई दिएको अन्तर्वार्तामा हतियार पठाउन रोकिएको बताएका छन् । इजरायलको रक्षामा अमेरिका प्रतिबद्ध रहेको भन्दै उनले भनेका छन्, ‘यदि इजरायलले रफामा आक्रमण रोकेन भने हामी हतियार र गोलाबारुद्ध आपूर्ति गर्ने छैनौं ।’

अमेरिकाको विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले रफामा आक्रमण रोक्न अमेरिकाले पहल गरिरहेको र इजरायललाई हतियार सहयोगबारे समीक्षा भइरहेको बताएका छन् । बुधबार अमेरिकी रक्षा सचिव लोयड अस्टिनले पनि अमेरिकी सेनेटमा बोल्ने क्रममा इजरायललाई बम पठाउन ढिलाइ भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

गत हप्ता मात्रै अमेरिकाले इजरायललाई २००० पाउण्डको १ हजार ८०० र ५०० पाउण्डका १ हजार ७०० थान बम लगायत हतियारको पहिलो खेप पठाउने निर्णय गरेको थियो । द गार्डियनका अनुसार अमेरिकाले ती हतियारको आपूर्ति कम्तिमा दुई हप्ताका लागि रोकेको छ ।

इजरायल र हमास लडाकु समूहबीच इजिप्टको राजधानी कायरोमा दुई दिनसम्म भएको शान्ति वार्ता भंग भएपछि इजरायलले फेरि सैन्य कारबाही सुरु गरेको छ । हमासले बन्दी बनाएकाहरुलाई मुक्त नगरेसम्म सैन्य कारबाही नरोक्ने अडान इजरायलले लिएको छ ।

द गार्डियनका अनुसार अमेरिकाका एक अधिकारीले इजरायलले रफामाथि आक्रमण बन्द गरोस् भन्ने चाहना अमेरिकाको रहेको बताएका छन् ।

इजरायलले सुरुमा गाजामा आक्रमण गर्दा विस्थापित भएका हजारौं नागरिकहरु रफामा शरण लिएर बस्दै आएका थिए । इजरायलले गत सोमबारदेखि त्यही रफा क्षेत्रलाई केन्द्रित गरी हमासविरुद्ध सैन्य कारबाही सुरु गरेको छ । इजरायलको यो कदमबाट सर्वसाधारण पनि मारिने भन्दै विश्वभरबाट चिन्दा व्यक्त भइरहेको छ ।

गत ७ अक्टुबरको दिन हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले हमासलाई निमिट्यान्न पार्ने कसम खाँदै प्यालेस्टाइनमा हवाई र स्थल कारबाही जारी राखेको छ । इजरायलको यो आक्रमणबाट हालसम्म ३४ हजार बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको हमासले सन्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?