+
+

६ महिनापछि फर्किएकी रेखा : ‘अमेरिकाबाट हेर्दा हाम्रो राजनीति, समाज र फिल्मको माया लाग्ने रहेछ’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १३:५६

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्मात्री रेखा थापा ६ महिना लामो अमेरिका बसाइपछि नेपाल फर्किएकी छन् । आधा वर्ष लामो बसाइमा उनले छोरी वैभवीलाई जन्म दिइन्, मातृत्वको आनन्द लिइन् र फिल्म ‘उपहार’लाई अमेरिकामा रिलिज गरिन् ।

रेखाको यो विदेश बसाइ उनको जीवनको सबैभन्दा लामो प्रवास बसाइ रह्यो । सन्तान लाभको आनन्ददेखि लामो समय बस्दाको ‘सफोकेसन’बीच रेखाले मिसिङ गरेको सबैभन्दा प्रमुख कुरा के थियो ?

जुलियन !

त्यो जुलियन उनको कुकुर मात्र रहेन, उनले एडप्ट गरेको परिवारको सबैभन्दा मायालु सदस्य । जसले रेखालाई अमेरिकाबाट फर्किंदा आइफोन ल्याइदेऊ भनेन । यो ल्याइदे, त्यो ल्याइदे भनेर किचकिच गरेन । रेखा आउने बाटो हेर्दै उसले मित्रपार्कको अपार्टमेन्टमा पर्खिरह्यो ।

‘अनि मैले मिस गरेको सबैभन्दा ठूलो कुरा काठमाडौं थियो,’ रेखा सुनाउँछिन्, ‘हामी जतिसुकै सफा र प्रणालीले चलेको देशमा पुगौं, आफ्नै काठमाडौंको भीडभाड र प्रदूषणको सम्झना आउने, तिनै कुरा प्रिय लाग्ने ।’

जुलियन र काठमाडौं मात्र होइन, रेखाले नेपाली राजनीति, फिल्म र समाजलाई पनि मिस गरिन् । ‘अमेरिका त सिस्टममा चलेको देश हो । यहाँजस्तो झगडा हुँदैन । तर नेपाली र फिल्मकै झगडा प्रिय हुने रहेछ,’ उनी भन्छिन्, ‘यो फिल्मसँग त्यो फिल्म जुध्यो भन्ने हल्ला पनि मिस गरें ।’

रेखा भन्छिन्, ‘उताबाट यता हेर्दा राजनीति, फिल्म, समाज र अन्य क्षेत्रलाई हेर्दा माया लाग्दो रहेछ । हाम्रो कुनै पनि क्षेत्र सिस्टम्याटिक छैन । उता सिस्टममा चलेको देश हो ।’

सुत्केरी अवस्था मेडिटेसन गरेजस्तै

भनिन्छ, सुत्केरी अवस्थामा एन्जाइटी र डिप्रेसन हुन्छ । तर रेखा आफूलाई ध्यान गरेजस्तै महसुस भएको बताउँछिन् । ‘म समतामा थिएँ । मन र ध्यानले आनन्द आयो । देशतिर फर्किएर हेर्दा कुनै पनि कुरा नेगेटिभ देखिनँ । साइलेन्स्ली ध्यान गरेको थिएँ,’ उनी भन्छिन्, ‘गर्भवती हुँदा कति चीज, आफूलाई करेक्सन गर्ने मौका हुने रहेछ । एन्जाइटी, डिप्रेसन हुन्छ भन्छन् । तर मलाई मेडिटेसन महसुस भयो ।’

छोरी वैभवीको उमेर जेठ १० मा तीन महिना लाग्छ । रेखाले उनलाई कोलोराडाको अस्पतालमा जन्म दिइन् । अमेरिकामा सुत्केरी हुन सजिलो रहेको उनको अनुभव छ । ‘मैले त्यहाँ सुरक्षित मातृत्वको अनुभव लिएँ । हेरचाह राम्रोसँग गरिने रहेछ,’ रेखा सुनाउँछिन् ।

बच्चा जन्मिएको भोलिपल्टै अमेरिकातिर सुत्केरी ठम्ठम हिंडेको रेखाले देखिन् । यो अनुभव रेखाले पनि लिइन् । गएको मंसिरमा रेखा बेबी प्लानसहित अमेरिका उडेकी थिइन् ।

अबको योजना

केही समय छोरी वैभवी र आफूलाई समय दिने रेखा बताउँछिन् । ‘केही समय अरुलाई भेट्दिनँ । आफूलाई समय दिन्छु । त्यसपछि स्क्रिप्ट पढेर फाइनल गर्छु,’ उनी भन्छिन्, ‘वैभवी तीन महिना पुगेपछि मात्र अरु काम गर्छु । अहिले उसैसँग समय बिताउँछु ।’

रेखा यस्तो समयमा अमेरिका पुगिन् जतिबेला उनले निर्माण र अभिनय गरेको पछिल्लो फिल्म ‘उपहार : द जर्नी अफ लाइफ’ प्रदर्शनको संघारमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?