+
+
अग्रपथ :

कम्युनिस्टलाई नै बोझ बनिरहेको कम्युनिस्ट ब्राण्ड

सबै नेतालाई आज ‘कम्युनिस्ट’ शब्द घाँडो भएको छ । यो शब्दले मार्क्स र एंगेल्सका पालामा जे अर्थ दिन्थ्यो, आज त्यो दिंदैन । यसको अर्थ विनिर्माण भइसकेको छ ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०८० पुष ८ गते ९:४०

ज्याक डेरिडाको विनिर्माण सिद्धान्त अनुसार शब्दका अर्थ सधैं एउटै रहँदैनन् । शब्दार्थ पनि विनिर्माण भइरहन्छन् वा गर्नुपर्दछ । कतिपय शब्दको उत्पत्ति एउटा अर्थमा भएको हुन्छ, प्रयोग गर्दै जाँदा त्यसको अर्कै अर्थ लाग्न थाल्छ । कतिपय शब्दको अर्थले थोरै तल-माथि, छेउकुना विचलन मात्र गर्दैन, उल्टो हुन पुग्छ ।

जस्तो कि सामन्त । यो प्रारम्भमा सकारात्मक अर्थ दिने, मान्छेलाई गौरवान्वित गर्ने शब्द थियो । दास युग अन्त्य हुँदै गएको समाजमा गणपति वा जमिनदारहरूले सामन्त पद सगौरव ग्रहण गर्थे । नेपालकै इतिहासको कुरा गर्दा लिच्छिविकालमा ‘सामन्त’ वा ‘महासामन्त’ पद वा उपाधि ग्रहण गर्नु गौरवको विषय मानिन्थ्यो ।

आज त्यो गाली वा एक नकारात्मक शब्द जस्तो भएको छ । यसले ‘शोषक’ को अर्थ दिन्छ । त्यो पनि भूस्वामित्व वा जमिनदारी प्रथाको युगको । निर्मम, क्रूर, अमानवीय र निर्दयी भूमिपतिको अर्थ दिन्छ । आज कसैलाई कसैले सामन्त भनिदियो भने त्यो मान्छे खुशी हैन, दुःखी हुन्छ । गौरवान्वित हैन, हीनताबोधले भरिन्छ । अपमानित महसुस गर्दछ ।

कतै ‘कम्युनिस्ट’ पनि आज त्यस्तै अर्थ–विनिर्माण, विचलन भएको वा उल्टो अर्थ दिने शब्द बनिसकेको त हैन भन्ने सन्दर्भहरू थपिंदै गएका छन् । त्यसैको एउटा उदाहरण हो– पूर्व कम्युनिस्ट डा. बाबुराम भट्टराई आफ्ना पूर्व सहकर्मी प्रचण्डलाई कम्युनिस्ट शब्द छोडेर पार्टी एकता गर्न कर गर्दैछन् ।

कम्युनिस्ट शब्दको पहिलो औपचारिक राजनीतिक प्रयोग सन् १८४७ जून १ मा भएको थियो । त्यसअघि नै कार्ल मार्क्स र उनका साथी फ्रेडरिक एंगेल्सले आफूलाई कम्युनिस्ट भन्थे । सन् १८४५ को अन्त्यतिरबाट मार्क्स र एंगेल्सले युरोपका विभिन्न शहरमा ‘कम्युनिस्ट संवाद समिति’ बनाउन थालेका थिए । त्यसमध्ये ब्रसेल्स संवाद समिति अलिक बढी सक्रिय थियो ।

सन् १८४७ को जून १ मा कार्ल मार्क्स नेतृत्वको कम्युनिस्ट संवाद समिति र कार्ल स्क्यापर नेतृत्वको लण्डनस्थित ‘लिग फर जस्ट’ अर्थात् ‘न्याय संघ’ को एकताबाट ‘कम्युनिस्ट लिग’ बनेका थिए । यो एक नयाँ विचारधाराबाट अनुप्रेरित युरोपभरि फैलिएको एक अन्तर्राष्ट्रिय राजनीतिक दलको आधारशिला थियो । यसैको घोषणा–पत्रका रूपमा कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले सन् १८४८ को ‘कम्युनिस्ट मेनुफेस्टो’ लेखे, जो विश्व चर्चित भयो ।

कार्ल मार्क्स प्रारम्भमा आफूलाई हिगेलवादी ठान्थे र ‘हिगेलवादी युवा समूह’ का सदस्य थिए । त्यसपछि उनी समाजवादी आन्दोलनतिर मोडिए । समाजवादी आन्दोलनको अर्थ त्यो बेला मूलतः रबर्ट ओवेनवादी आन्दोलन थियो । रबर्ट ओवेनवादी समाजको प्रभाव बेलायतमा सन् १९२५ पछि देखा पर्न थालेको थियो ।

फ्रान्सका सेन्ट साइमन, चाल्र्स फुरियर र जोसेफ पियरे प्रुँधोका विचारको प्रभाव पनि बढ्दै गएको थियो । समाजवादी विचार वा आन्दोलनभन्दा मानिसले रबर्ट ओवेन, सेन्ट साइमन, चाल्र्स फुरियर र प्रुँधोका विचारलाई बुझ्थे ।

तर, कार्ल मार्क्स र एंगेल्स आफ्ना विचार उनीहरूका भन्दा फरक पाउँथे । त्यसलाई के नाम दिने र कसरी फरक गर्ने भन्ने समस्या थियो । समाजवादी आन्दोलनबाट फरक गर्न वा समाजवादी आन्दोलनभित्रकै एक नयाँ धार हो भन्ने बुझाउन उनीहरूले फ्रान्सेली भाषाबाट ‘कम्युनिस्ट’ शब्द टिपे ।

यो कुरा एंगेल्सले बारम्बार स्वीकार गरेका छन् । उनका धेरै लेखमा यसको चर्चा पाइन्छ । उनले भनेका छन् कि, समाजवादी आन्दोलनभित्र त्यो बेला यति धेरै वैचारिक धार थिए कि कसले के भनिरहेको छ भनेर भिन्नता छुट्याउनै गाह्रो थियो । त्यसैले उनीहरूले कम्युनिस्ट शब्द खोज्नु पर्‍यो ।

एंगेल्सले पछि ‘तीन युटोपियन समाजवादीहरू’ भन्ने एक पुस्तिका लेखे, जसमा रबर्ट ओवेन, सेन्ट साइमन र चाल्र्स फुरियरको चर्चा छ । यी तीन चिन्तकलाई ‘काल्पनिक’ भनिरहँदा मार्क्स–एंगेल्सले आफ्नो वैचारिक धारलाई भने ‘वैज्ञानिक’ दावी गरे ।

समाजवादी आन्दोलनमा ‘युटोपियन सोसलिस्ट’ वा ‘साइन्टिफिक सोसलिस्ट’ को भिन्नता यसरी सुरु भएको थियो । ओवेन, साइमन वा फुरियर आफैंले आफ्ना विचारलाई ‘काल्पनिक’ भनेका थिएनन् । त्यो त मार्क्स र एंगेल्सले उनीहरूलाई लगाइदिएको ‘ग्यांग’ मात्रै थियो । समयक्रममा कसका विचार के कति वैज्ञानिक वा काल्पनिक सिद्ध भए त्यसको भिन्नै विश्लेषण हुन सक्दछ ।

यहाँनेर एक गम्भीर प्रश्न आकर्षित हुन्छ । त्यो के भने मार्क्स र एंगेल्सले आफूलाई ‘सोसलिस्ट’ को साटो ‘कम्युनिस्ट’ वा ‘काल्पनिक समाजवादी’ को साटो ‘वैज्ञानिक समाजवादी’ दावी गर्दैगर्दा उनीहरूले भिन्न गर्न वा फरक देखाउन खोजेको कुरा चाहिं के थियो त ?

यो कुरा बुझ्न कार्ल मार्क्सले सन् १८५२ को मार्च ५ मा जे. वेडेमियरलाई लेखेको पत्र सर्वाधिक उपयुक्त सन्दर्भ हुन सक्दछ । यस पत्रमा कार्ल मार्क्स लेख्छन्– मैले जे नयाँ गरेको छु त्यो यो पुष्टि गर्नु हो कि पहिलो, वर्गहरूको अस्तित्व उत्पादनको विशिष्ट ऐतिहासिक विकास चरणसँग जोडिएको हुन्छ, दुई, वर्गसंघर्ष अपरिहार्य रूपमा सर्वहारा वर्गको अधिनायकत्वतिर जान्छ, तीन, यस्तो अधिनायकत्व वर्गहरूको समाप्ति र वर्गविहीन समाजतिर जाने संक्रमण मात्रै हो ।

सामन्त शब्दको अर्थ फेरिए जस्तै कम्युनिस्ट शब्दको पनि अर्थ फेरिएको छ । अझ मूर्त शब्दमा भन्दा त्यसको नयाँ अर्थ हो– नयाँ शोषक तथा शासक वर्ग

र, अर्को एक सन्दर्भमा उनी भन्छन्, ‘वर्गविहीन समाजको अर्थ निजी स्वामित्वहीन समाज हो, अन्तिम अर्थमा साम्यवाद भनेको निजी सम्पत्तिको अन्त्य हो ।’

यस पत्रमा मार्क्सले आफूले ‘पुष्टि गर्न खोजेको नयाँ’ भन्ने शब्दावली प्रयोग गर्नुको अर्थ युटोपियन समाजवादी वा आम समाजवादी आन्दोलनभन्दा कम्युनिस्ट विचार किन र कहाँनेरबाट फरक छ भन्ने सिद्ध गर्नु हो ।

यो भिन्नताको प्रष्टतापछि अब तत्कालीन समाजवादी र कम्युनिस्ट बीचको भिन्नता केके हुन्छ भन्ने बुझ्न आवश्यक हुुन्छ । यसलाई तीन वटा मुख्य बुँदामा भन्न सकिन्छ ।

एक– समाजवादीहरू दिन दुःखी, गरिब, श्रमिक, बाल श्रमिक र महिलामाथिको शोषण र उनीहरूको अधिकार र मुक्तिको कुरा गर्थे । सहकारिता, ट्रेड युनियन, बालश्रम निषेध, महिला मताधिकार, समान ज्याला, महिलाजन्य बिदा र साझा बस्ती प्रणालीबाट त्यो सम्भव छ भन्थे तर, उनीहरूले खास ऐतिहासिक वर्गका रूपमा मार्क्स–एंगेल्सको जस्तो ‘सर्वहारा वर्ग’ र वर्गीय क्रान्तिको कुरा गरेका थिएनन् । कम्युनिस्ट विचारले भने वर्ग संघर्ष अपरिहार्य रूपमा सर्वहारा अधिनायकत्व र वर्गविहीन र निजी सम्पत्तिहीन समाजतिर जाने कुरा गर्‍यो ।

दुई– समाजवादीहरू बहुदलीय लोकतन्त्रको विरोध गर्दैनथे । राजनीतिक स्वतन्त्रता, संगठन तथा अभिव्यक्ति स्वतन्त्रता, बहुदलीय प्रणाली र आवधिक निर्वाचन प्रति उनीहरूको विरोध थिएन । उनीहरू त्यसको प्रभावकारिता, विस्तार र सघनीकरण चाहन्थे । लोकतन्त्रको शुद्धता र पवित्रता चाहन्थे । लोकतन्त्र सीमित धनी, शक्तिशाली र सामन्तहरूको मात्र व्यवस्था बन्नुहुँदैन भन्ने उनीहरूको भनाइ थियो ।

तर, कम्युनिस्ट विचारले भने बहुदलीय लोकतन्त्रभन्दा फरक भिन्नै प्रकारको सर्वहारा–राज्य र कम्युन प्रणालीको कल्पना गथ्र्यो । कार्ल मार्क्सले आफ्नो किताब ‘पेरिस कम्युन’ मा यसबारे सविस्तार लेखेका छन् । पछि लेनिनले त्यसैलाई ‘सोभियत प्रणाली’ भने र यो दाबी गरे कि सर्वहारा वर्गले आफ्नो राजनीतिक प्रणालीको आविष्कार गरिसकेको छ, त्यो हो– सोभियत प्रणाली ।

तीन– समाजवादीहरू ‘मूल्यको श्रम सिद्धान्त’ मा विश्वास गर्थे । उनीहरू श्रमिक वर्गका लागि न्यूनतम ज्याला निर्धारण, सामूहिक सौदाबाजीको अधिकारका लागि ट्रेड युनियन अधिकार र आवासका लागि मजदुर कोलोनीको माग गर्थे । बाल श्रम निषेध, महिला श्रम शक्तिलाई मान्यता, एक पुरुषलाई ज्याला दिएर पूरै परिवारलाई काम लगाउने प्रथाको विरोध गर्थे । तर बजार अर्थतन्त्रको विरोध गर्दैनथे ।

कम्युनिस्टहरूले भने ‘मूल्यको श्रम सिद्धान्त’ साटो ‘अतिरिक्त मूल्य सिद्धान्त’ को प्रतिपादन गरे । उनीहरूले अर्थतन्त्रमा मुनाफाको अर्थ शोषण हो भने । बजार अर्थतन्त्रको अन्त्य र सम्पूर्ण उत्पादन साधनको राष्ट्रियकरणको कुरा गरे । सन् १९२७ पछि स्टालिनले यस्तो अर्थतन्त्रको ढाँचा अभ्यास गर्न थालेका थिए ।

कुनै विचार समाजवादी विचार र आन्दोलनबाट फरक भएर साम्यवादी हुनुका मुख्य तीन कारण यिनै हुन् ।

उपरोक्त विश्लेषणका आधारमा यो निष्कर्षमा पुग्न सकिन्छ कि सन् १९८९ यताका विश्व घटनापछि कम्युनिस्ट विचार असफल भइसकेको छ । न यसले अब बहुदलीय लोकतन्त्रलाई अस्वीकार गर्न सक्दछ न बजार अर्थतन्त्रलाई । न मुनाफाको अन्त्य, अतिरिक्त मूल्यको अन्त्य, सम्पूर्ण उत्पादन साधनको राष्ट्रियकरण र निजी सम्पत्तिको अन्त्यको पैरवी गर्न सक्दछ न सर्वहारा अधिनायकत्वको नाममा एक वर्गीय राज्यको परिकल्पना ।

त्यसोभए कार्ल मार्क्स र एंगेल्सले जे कुरालाई ‘नयाँ पुष्टि’ गरेको भनेर दाबी गरेका थिए त्यो अब बाँकी नै के छ ? कम्युनिस्ट विचार खै कहाँनेर बाँकी छ ? द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शनका रूपमा त्यसको अस्तित्व बाँकी छ भन्न सकिएला तर त्यसका सीमा पनि देखा परिसकेका छन् । दार्शनिक पक्षबारे भिन्नै चर्चा गरौंला । राजनीति, समाजव्यवस्था र अर्थप्रणालीको कोणबाट भने कम्युनिस्ट विचार पूर्णतः असफल भइसकेको छ । जे कम्युनिस्ट नै हैन, त्यो कम्युनिस्टको नाममा बोक्नेको के अर्थ छ ? यो त पाखण्ड हुन्छ, सत्यनिष्ठा हैन ।

नेपालका कम्युनिस्टहरूले यो कुरा नबुझेका हैनन्, विचारका रूपमा नेपालमा कोही पनि कम्युनिस्ट छैनन्, तर पनि कम्युनिस्ट नाम वा ब्राण्ड छोड्न सकेका छैनन् । किनकि उनीहरूलाई डर छ, कम्युनिस्ट नाम वा ब्राण्डबाट जुन भोट आइरहेको छ, त्यो नआउन सक्दछ । कुनै एक गुटले छोड्यो भने पनि अर्को गुटले त्यो नाम समात्छ र भोट त्यतैतिर जान सक्दछ । राजनीतिक अस्तित्वको चिन्ताले मात्रै यी कम्युनिस्ट भइरहेका हुन् । विचार र निष्ठाले कोही पनि कम्युनिस्ट हैनन् र कम्युनिस्ट विचारको अबको दुनियाँमा कुनै काम पनि छैन ।

किनकि मार्क्स र एंगेल्सले जे चिजलाई ‘नयाँ पुष्टि’ दाबी गरेका थिए, ती आफैंमा ‘तार्किक सत्य’ (लजिकल ट्रूथ) मा सीमित भए, ‘वास्तविक सत्य’ (रियल ट्रूथ) बन्न सकेनन् । सबै प्रभावशाली तार्किक सत्यहरू वास्तविक सत्य हुन् भन्न सकिंदैन । कम्युनिस्ट विचार एक प्रभावशाली तार्किक सत्य थियो, जो वास्तविक सत्य बन्न सकेन । र मान्छेको सत्यनिष्ठ तार्किक सत्यसँग हैन, वास्तविक सत्यबाट निर्धारित हुन्छ ।

डा. बाबुराम भट्टराईले यही कुरा बुझेर कम्युनिस्ट पार्टी र विचार छोडेका हुन् । मैले नयाँ शक्ति पार्टी निर्माणको चरणमा यसबारे उनीसँग लामो बहस गरेको छु । केपी शर्मा ओलीले यही कुरा बुझेर पत्रकार विजय कुमारसँगको अन्तर्वार्तामा ‘आफूहरू सैद्धान्तिक, वैचारिक कम्युनिस्ट नभएर राजनीतिक कम्युनिस्ट’ मात्र भएको बताएका हुन् । यो कुरा प्रचण्ड र माधव नेपाललाई पनि राम्रो थाहा छ । झलनाथ खनाल र सीपी मैनालीलाई पनि राम्रो थाहा छ । विप्लवले भर्खरै बुझे । अलिकति कम्युनिस्टमा विश्वास गर्ने भनेका मोहन वैद्य मात्रै हुन् । अरू कोही छैन अब ।

खासमा यी सबै नेतालाई आज ‘कम्युनिस्ट’ शब्द घाँडो भएको छ । यो शब्दले मार्क्स र एंगेल्सका पालामा जे अर्थ दिन्थ्यो, आज त्यो दिंदैन । यसको अर्थ विनिर्माण भइसकेको छ । हिजो यसले मार्क्स र एंगेल्सको उपरोक्त ‘नयाँ पुष्टि’ अनुरूपको अर्थ दिन्थ्यो । एक नयाँ वैचारिक धारको अर्थ दिन्थ्यो ।

आज यसले सन् १९९० को दशकमै फेल भइसकेको एक प्रकारको ‘एकदलीय राज्य प्रणाली र राज्य–अर्थतन्त्र’ भन्ने अर्थ दिन्छ । यो अर्थ सकार्न सक्ने अवस्थामा आज कुनै पनि कम्युनिस्ट समूह र नेता छैनन् ।

हिजो कम्युनिस्ट हुनु उनीहरूका लागि गौरवको कुरा थियो, अब हीनताबोधको विषय र गाली जस्तो बनिसकेको छ । सामन्त शब्दको अर्थ फेरिए जस्तै कम्युनिस्ट शब्दको पनि अर्थ फेरिएको छ । अझ मूर्त शब्दमा भन्दा त्यसको नयाँ अर्थ हो– नयाँ शोषक तथा शासक वर्ग ।

यो शब्द मैले ‘क्वाइन’ गरेको हैन । स्लाभ र रूसी भाषामा यसलाई ‘न्यूमेन क्लातुरा’ भनिन्थ्यो । युगोस्लाभ कम्युनिस्ट नेता तथा मार्सल टिटोका असन्तुष्ट उपराष्ट्रपति मिलोवन द दजिलासको किताबमा अंग्रेजीमा यसलाई ‘द न्यू क्लास अफ कम्युनिस्ट सिस्टम’ भनिएको छ ।

विचार र सिद्धान्तले कम्युनिस्ट होस् वा नहोस् बुढेसकालमा ब्राण्ड छोड्न सकिंदैन । त्यसो गर्दा सम्पूर्ण राजनीतिक जीवनको वैधता र औचित्य मात्र समाप्त हुँदैन, हुँदाखाँदाको भोट र जनमत पनि अन्यत्र जान्छ ।

व्यक्तिगत जीवनमा मैले थुप्रै कम्युनिस्ट, पूर्व कम्युनिस्ट र फर्किएर फेरि कम्युनिस्ट भएका, ‘पश्चिम–कम्युनिस्ट’ नेता कार्यकर्तासँग संगत गर्न पाए । निजी सम्बन्ध सधैं प्रेमपूर्ण र सुखद् रह्यो । तर, दार्शनिक र वैचारिक हिसाबले भने मलाई कम्युुनिस्ट सिद्धान्तप्रति कुनै विश्वास रहेन । त्यसको कारण यही लेखमा उल्लेख गरिएका माथिका मुख्य तीन बुँदा नै हुन् ।

नयाँ शक्ति पार्टी निर्माण चरणमा थुप्रै कम्युनिस्ट नेता, कार्यकर्ता आए । फेरि उतै फर्किए । त्यसमा विचार बुझ्दै नबुझ्ने भुस्कुलहरू मात्रै थिएनन् । देवेन्द्र पौडेल, परशुराम तामाङ, रामचन्द्र झा जस्ता अलिक बौद्धिक र वैचारिक दक्खल राख्नेहरू पनि थिए । त्यो बेला उनीहरू हामीसँग कस्ता कुरा गर्थे राम्रो सम्झना छ । तिनै मान्छे आज कम्युुनिस्ट पार्टीमा कसरी बसे, टिकेका होलान्, सम्झँदै दया लागेर आउँछ ।

डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ जस्ता पूर्व कम्युनिस्टहरूको कुरै गर्नु परेन । डा. भट्टराईसँग मेरो खसोखास विमति त्यहींनेर भयो कि तपाईं कम्युनिस्ट हो भने खुलेर उतै लाग्नुस्, हैन भने कम्युुनिष्टहरूसँगको लसपस र सहकार्य पूरै छोडिदिनुस् । कम्युनिस्टहरूसँगकै गठबन्धन, सहकार्य र लसपसले आधुनिक युगको वैकल्पिक लोकतान्त्रिक पार्टी किमार्थ बनाउन सकिंदैन । नभन्दै मेरो दाबी पुष्टि भयो ।

पूर्व वा पश्चिम–कम्युनिस्टहरूको कुरा छोडिदिऊँ– जो वर्तमान कम्युनिस्ट छन् तिनको पनि मनपेट राम्रै छामिएको छ । ती कोठाभित्र कुरा गर्दा के भन्छन्, बाहिर गएर कस्तो भाषण गर्छन् राम्रै थाहा छ ।

प्रदीप नेपालदेखि मुकुन्द न्यौपानेसम्मको बुढो पुस्ता र सुरेन्द्र पाण्डेदेखि घनश्याम भूसालसम्मको मझौला पुस्तासम्म सयौं कम्युनिस्टसँग यसबारेमा कुरा गरेको छु मैले । भन्न नसकेका मात्र हुन्, भित्रभित्रै कम्युनिस्ट शब्द सबैलाई घाँडो भइसकेको छ ।

डा. बाबुराम भट्टराईको प्रचण्डलाई ‘कम्युनिस्ट छोडाएर’ पार्टी एकता गर्ने प्रयत्न त्यही ‘घाँडो पन्छाउने’ दाउ मात्रै हो । शुभकामना छ-सफल होऊन् । अझै माधव नेपाल, केपी ओली, झलनाथ खनाल सबैलाई ‘कम्युनिस्ट छोडाएर’ एउटै ‘समाजवादी केन्द्र’ बनाउने सपना छ उनको तर, वीरबलको खिचडी पाक्नेवाला छैन ।

यी सबैलाई के थाहा छ भने विचार र सिद्धान्तले कम्युनिस्ट होस् वा नहोस् बुढेसकालमा ब्राण्ड छोड्न सकिंदैन । त्यसो गर्दा सम्पूर्ण राजनीतिक जीवनको वैधता र औचित्य मात्र समाप्त हुँदैन, हुँदाखाँदाको भोट र जनमत पनि अन्यत्र जान्छ । माओवादीले छोडे एमालेले समाउने, एमालेले छोडे माओवादीले समाउने, दुवैले छाडे मोहन वैद्यले समाउने एकअर्काको भयमा बाँचेका छन् ।

तसर्थ मनमनै जतिसुकै घाँडो लागे पनि छोड्न कसैले सक्दैनन् । डा. भट्टराईले आफ्नो बाँकी उमेर र समय विनाबित्थामा खेर फाल्दैछन् । जुन कर्मबाट कुनै प्रतिफल आउँदैन भन्ने थाहा छ, त्यही कर्ममा लागिरहनु ‘मूर्खता’ हुन्छ कि ‘विद्वत्ता’ त्यो त उनैले जान्नुपर्ने कुरा भयो ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?