+
+

रैथानेवादले विविधता स्वीकार्दैन, इतिहास चिन्दैन

गाउँ-शहरको बहसमा आएको विषय हो रैथानेवाद । रैथानेवाद समावेशिताबाट टाढा भाग्छ । रैथानेवादले इतिहास चिन्दैन किनकि यसले इतिहासको निरन्तरको बहावलाई आत्मसात् गर्न इन्कार गर्छ । एकदमै यथास्थितिमा स्थिरता खोज्छ ।

चैतन्य मिश्र चैतन्य मिश्र
२०८० पुष १० गते १९:५८

गाउँ भनेको के हो ? गाउँको ऐतिहासिकता भनेको के हो ? पहिला हामीले जेलाई गाउँ भन्थ्यौं अहिले पनि गाउँ त्यस्तै छ कि छुट्टै छ ?

जवाफका लागि यसको ऐतिहासिक र अवधारणात्मक आयाम हेर्नुपर्छ । गाउँ एउटै हुँदैनन्, धेरै थरी हुन्छन् । गाउँ समयक्रममा आफैं परिवर्तन हुँदै आएका छन् ।

गाउँ जस्तै शहर एउटा मात्र छैन, थरी–थरीका छन् । ती पनि विकास भइरहेका छन् ।

शहर-गाउँ भन्दा हाम्रो दिमागमा एउटा चित्र बस्छ, एउटा गाउँ र अर्को शहरको । तर गाउँ-शहर आफैंमा परिवर्तनशील छ । त्यो बगिरहेको छ । यसलाई ख्याल गर्नुपर्छ ।

शहर कहिलेदेखि सुरु भयो ? कसैले भन्छन्- ५०० वर्ष भयो । तर काठमाडौं भ्यालीकै शहरहरू काठमाडौं, पाटन, भक्तपुर ५०० वर्षभन्दा अगाडिका हुन् । वास्तवमा लण्डन, पेरिस लगायत त सामान्य शहर थिए । मार्केट सेन्टर भनिने बजारको शहर जस्तो । त्यतिबेलै चीन र भारतमा ठूला–ठूला शहरहरू थिए, अहिलेका भन्दा ७००-१००० वर्षभन्दा अगाडि ।

उत्तर अफ्रिका, पश्चिम एशियामा धेरै अगाडि नै टन्नै शहरहरू थिए । त्यसपछि हडप्पातिरको पाकिस्तान, इरान, अफगानिस्तानमा शहरहरू बसेको हामीले सुनेकै हो । यसरी शहर हाल सालैको आविष्कार होइन, यसको इतिहास एकदमै लामो छ । शहरको इतिहास खोज्न ५०० भन्दा धेरै वर्ष अगाडि पुग्नुपर्छ । ५०० वर्ष मात्रै भन्दा खासगरी युरोपियन पूँजीवादी शहरको गन्ध आउँछ ।

मानिसले लामो समय अघिदेखि किनबेच सुरु गरे । इतिहासमा त्यही किनमेल, प्रशासन, मठमन्दिर, धर्मको ठाउँ धेरै किसिमका शहर भएको पाइन्छ ।

**** ****

नेपालको गाउँको कुरा गर्दा हरि शर्माले लेख्नुभएको छ- गाउँ नै गाउँले घेरिएको देश भनेर । त्यो वाक्यांश पढ्दा मलाई बेलाबेला पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्झना आउँछ । उहाँले औंलो ठड्याएर भन्नुहुन्थ्यो, ‘नेपाल गाउँ नै गाउँले भरिएको देश हो ।’

कुनैबेला थियो होला तर यस्तो वाक्यांशले गाउँ भनेको शहरभन्दा छुट्टै हो भन्ने सन्देश दिन्छ कि भनेर विचार पुर्‍याउनुपर्छ । यसले गाउँ र शहर छुट्टाछुट्टै हुन् भन्ने जुन पेटबोली राख्छ, त्यसमा हामीले प्रश्न गर्नुपर्छ ।

गाउँ र शहर कहिल्यै पनि छुट्टाछुट्टै भएनन् । यिनीहरू त एकआपसमा आश्रित बस्तीहरू हुन् । त्यसैले गाउँ विना शहर छैन, शहर विना गाउँ छैन । यति चाहिं हो कि शहर र गाउँको सम्बन्ध झन् झन् घना भएर आयो । अहिले हामी गाउँ हो कि शहर हो, कुन गाउँ, कुन चाहिं शहर भन्ने स्थितिमा संसारभरि नै पुग्दैछौं । यी झन् झन् मिसिएर आए पनि यो अन्योन्याश्रितपना पहिलादेखि नै छ । गाउँ छुट्टै, शहर छुट्टै होइन ।

अब गाउँमा बाँच्न सक्नुपर्छ, विदेशिएकालाई फर्काउन सक्नुपर्छ । यसका लागि एउटा विशेष प्रकारको राजनीति अख्तियार गर्नु आवश्यक छ । त्यो परिवर्तन यसै हुँदैन । यसका लागि गाउँलाई राजनीतिक गतिविधिको केन्द्र बनाउने काम चुनौतीपूर्ण छ

गाउँ-शहरको उद्विकास बारे केही भन्न मन लाग्यो । एकजना लेखकले एउटा फ्रेज प्रयोग गरेर लेख्नुभएको छ- डीरुलराइजेसन अफ द वर्ल्ड अर्थात् संसारको गैरग्रामिणीकरण । नेपालमा हामीले जुन शहरीकरण वा गैरग्रामिणीकरण देखिरहेका छौं, त्यो नेपालको मात्रै कथा नभएर संसारभरिको कथा हो ।

संसारभरि यति द्रुत तरिकाले मानिसहरू शहरी इलाकामा बसिरहेका छन् यसलाई नम्बरले मात्र बताउन सकिन्न । एक तथ्याङ्कअनुसार सन् १९६० मा ३४ प्रतिशत रहेको विश्वको शहरी जनसङ्ख्या सन् २०२२ सम्म आइपुग्दा ५७ प्रतिशत भएको छ । तर वास्तवमा यो नम्बरले धेरै कुरा बोल्दैन । यसले त शहर भनेर परिभाषित गरेको इलाकालाई मात्रै बताउँछ ।

शहरमा बस्ने भन्दा हामी केलाई बुझ्छौं ? डा. पीताम्बर शर्माले एकठाउँमा सामाजिक सम्बन्धको चरित्र बारे लेख्नुभएको छ । हामी कस्तो खालको सामाजिक सम्बन्ध राखेर बस्छौं ? हामी एकदम अक्षुण्ण, फेस टु फेस बस्छौं कि टाढा भएर ? डेरामा बस्नेहरूले न सँगैको कोठामा बसेको मानिसलाई न त अर्को घरको मान्छे नै चिन्छ । जबकि गाउँमा सामान्यतः सात पुस्ते चिनिन्छ । यस्तो सात पुस्ते चिन्ने प्रक्रिया कमजोर हुनथालेसँगै शहरीकरण त्यहींबाट सुरु भयो ।

समाजशास्त्रीले मन पराउने गैरग्रामिणीकरणको खास परिभाषा यो हो । तर अरु परिभाषाहरू काम लाग्दैनन् भनेको होइन ।

हामी बस्ने ठाउँ शहर हो कि गाउँ ? हामी नजिकैका कतिजनासँग नजिकपना अनुभव गर्छौं ? लामो कालखण्डदेखि शहरीकरणको प्रक्रियामा सम्बन्धहरू धेरै जनासँग रहे पनि यो पातलो पातलो हुनथाल्यो भने गम्भीर गाढा सम्बन्ध थोरै थोरै मानिससँग मात्रै हुनथाल्यो । राजनीति, वैवाहिक सम्बन्ध, आर्थिक अवस्था लगायत कारण घरकै मानिससँग कहिलेकाहीं गाह्रो गाह्रो हुने !

अहिले धेरैका छोराछोरी कि शहर छन् कि विदेश । जाँदैमा सम्बन्ध सक्कियो भन्ने त होइन । तर बिस्तारै बिस्तारै सिद्धिने क्रममा बगेको भने हो । यो पृष्ठभूमिको आधारमा शहरीकरणलाई बुझ्नुपर्छ ।

पहिला पहिलाका परिभाषामा फरकपन हेर्न आवश्यक छ । शहरीकरणका लागि अस्पताल, स्कुल, सडक लगायत पूर्वाधार हुनुपर्छ भन्ने मापदण्ड अहिले पनि छ । यो परिभाषा कामलाग्दो पनि छ । तर शहरको परिभाषा गर्दा जुन हदसम्म सम्बन्धको चरित्रलाई बेवास्ता गरिएको थियो, अब त्यसलाई पुनर्स्थापित गर्नुपर्छ ।

संसारको गैरग्रामिणीकरण एकदम छिटोछिटो अगाडि बढिरहेको छ । नेपालमा पनि यो देखिन्छ ।

शहरीकरणका अरु सूचक पनि छन् ।

औद्योगिक क्रान्ति संसारका अनेकौं भागमा अनेकौं चोटि भए । मैले अघि भारत र चीनका ठूला जनसङ्ख्या भएका पुराना शहरहरूको कुरा गरें । त्यहाँ त धेरै अघि औद्योगिक क्रान्ति भइसकेको थियो । तर सन् १७७५ पछि भएको युरोपियन औद्योगिक क्रान्ति अन्तिम थियो जुन दिगो भयो । त्यो हाम्रोतिर सन् १९४० को दशकतिर तिर अलिअलि आउन सुरु गर्‍यो भने १९८० को दशकतिर अलि व्यापक भयो ।

त्यो औद्योगिक क्रान्तिले एउटा विश्वव्यवस्था सिर्जना गर्‍यो जसलाई हामी भूमण्डलीकरण पनि भन्छौं । त्यसले सामाजिक तहमा धेरै परिवर्तन ल्यायो ।

पहिला पहिला परिवार र बस्तीहरू एउटा सीमित कल्पनामा बाँचेका हुन्थे । एउटा मान्छे, एउटा पुरुष, एउटा महिलामा मैले गर्न सक्ने यति हो, यो काममा यतिसम्म पुग्न सक्छु, मेरो क्षेत्र यही हो भन्ने जुन सोच हुन्थ्यो त्यो सोच निकै फराकिलो भयो । सन् १७७५ -१८०० पछि त्यसले सम्भावनालाई ह्वाङ्ग पारिदियो । आकाश खुलाइदियो ।

म जस्तो परिवारमा जन्मे पनि म योभन्दा धेरै माथि उक्लन सक्छु भन्ने आँट दियो । मन, इच्छा, आकांक्षा खुलाइदियो । सँगै राजनीतिक सम्भावना पनि खुलायो । वास्तवमा राजनीतिक क्रान्तिको कुरा पनि त्यहीबाट सुरु भएको हो ।

पहिला त फलानो जातले के गर्ने, अर्को जातले के गर्ने, महिलाले के गर्ने लगभग ‘सेट’ थियो । मानिसहरू एउटा एउटा स्टेशनमा बस्थे । त्यो स्टेशनको छानो ठ्याक्कै टाउको माथि थियो । त्यो खुलेसँगै त्यसले सम्भावनाका ढोकाहरू ह्वात्तै खोल्यो । आकाशै खोल्यो । हरेक मान्छेको मन खोल्यो । मानिसमा केही गर्न सक्छु भन्ने आस पलाउन थाल्यो । हुने नहुने कुरा अर्कै हो । कसैको हुन्छ कसैको हुँदैन । कुनै ठाउँमा धेरै मानिसको हुन्छ कुनै ठाउँमा धेरै मानिसको हुँदैन । त्यसका कारण हुन्छन् तर त्यसले खुलाउन त खुलायो ।

गाउँको राजनीति किन पुनर्जागरण भएन ? लामो कालदेखि भएको छैन । नेपाल गाउँ नै गाउँको देश भने पनि त्यही बेलादेखि गाउँ राजनीतिको केन्द्र नै बनेन । अहिले त झन बन्न सकेन, थप सुषुप्त भयो । किन भयो होला ? यसको लागि धेरै गम्भीर विचार र अनुसन्धान गर्नुपर्छ

शहरीकरण भनेको यसरी दिमाग, मन र सम्भावनाको आकाश खुलाउने कुरा पनि हो । ग्रामिण परिवेशमा त्यसरी खुलाउन गाह्रो छ । हामी एउटा सीमित परिधिभित्र बाँचेका हुन्छौं । हाम्रो कल्पना नै सीमित हुन्छ । कल्पना ह्वाङ्ग हुनु भनेको शहरीकृत हुनु पनि हो । सम्भावना फराकिलो हुनु हो ।

अर्को डिपेजन्टाइजेसन अफ द वर्ल्ड भन्ने अवधारणा छ । पेजन्ट भनेको कुनै पनि किसान नभएर आफ्नै खेतबारी आफैंले खेतीपाती गर्ने मानिस हो । फार्मर भनेको जस्तो सामान्य कुरा होइन । उत्पादन मूलतः कृषिमा आधारित हुँदा संसारमा धेरै पेजन्टहरू थिए । बिस्तारै आफ्नो बारी आफैंले खेतीपाती गरेर खाने मानिसकाे सङ्ख्या संकुचन भएर एकदमै कम भए ।

अहिले नेपालमा त सबैभन्दा बढी खेतीयोग्य जमिन नै बाँझै भयो । झण्डै एकदेखि दुई तिहाइसम्म खेतीयोग्य जमिन बाँझो भइसक्यो । डिपेजन्टाइजेसनको एउटा नमूना त्यो हो । तर त्यो मात्रै होइन । कन्ट्र्याक्टमा गर्ने, अरु परिवारलाई काम गर्न दिने अभ्यास बढेका छन् ।

पश्चिमतिर सबै खेती कर्पोरेसन र मेसिनले गर्छन्, परिवारले गर्दैन । थोरै मात्रै घरधुरीले आफ्नो स्वामित्वको जमिनमा खेतीपाती गर्छन् । खास गरेर अमेरिकामा खेती गर्ने परिवार भेट्टाउनै मुस्किल हुनथालेको छ । एकदम दुर्लभ, केवल २-३ प्रतिशत जनसङ्ख्याले खेती गर्छन् । यति धेरै संकुचन अरु ठाउँमा त छैन तर पनि आफ्नो खेतबारी आफैंले चर्चिनेहरू एकदमै कम भए । यो शहरीकरणको कारण र परिणाम दुवै हो ।

यसरी गाउँ-शहरको कुरा गर्दा गैरग्रामिणीकरण र डिपेजन्टाइजेसनको अवधारणा भुल्नुहुँदैन ।

**** ****

हाम्रोमा गाउँलाई माया गर्ने र रोमान्टीसाइज गर्नेको बाहुल्य देखिन्छ । यो एककिसिमले हाम्रो संस्कृति पनि बनेको छ जस्तो लाग्छ । आफू मात्र होइन, बुवा पनि शहरमै जन्मिएका हुन्छन् तर हामी फलानो जिल्ला (गाउँ)को नाम लिन छाड्दैनौं । कताकता गाउँप्रतिको मोह बलियो देखिन्छ ।

यसको कारण छ ।

गाउँ भन्दासाथ प्राकृतिक, सफा, इमानदार र पवित्र ठाउँको चित्र आउँछ । एककिसिमले रुसो, गान्धी, बीपीको सुमार्गको मोडेल र सोच भएको । तर शहर चाहिं अलि फोहोर, बेइमान मानिसहरू बस्ने भन्ने चित्र आउने गरेको देखिन्छ ।

यहींनेर आउँछ रैथानेवादको सेन्स आउँछ । तर मलाई यसबाट अलि पन्छिनुपर्छ कि भन्ने लाग्छ ।

रैथानेवादले खासगरी विविधता स्वीकार्दैन । यसले यो यस्तै नै हुनुपर्छ भन्ठान्छ । यो समावेशिताबाट टाढा भाग्छ । रैथानेवादले इतिहास चिन्दैन किनकि यसले इतिहासको निरन्तरको बहावलाई आत्मसात् गर्न इन्कार गर्छ । बुद्धले सिकाएको अनित्यवादलाई पनि स्वीकार्दैन ।

रैथानेवादले जीवन, समाज र ब्रह्माण्डलाई स्थिर र अपरिवर्तनशील मान्छ र एकदमै यथास्थितिमा स्थिरता खोज्छ ।

जबकि हिजो रैथाने भन्न मिल्यो, आज र भोलि चाहिं नयाँ निर्माण भन्नुपर्ने भयो । आजभन्दा पनि भोलि । किनकि भोलि नभइकन हामी बाँच्न सक्दैनौं ।

त्यसैले रैथानेवादबाट अलिकति टाढा पन्छिनुपर्छ । आफैं रैथाने भयो आफ्नो बालबच्चा नवआन्तुक भए । ती नवआगन्तुकले फेरि नयाँ बच्चा पाउँछन् । अनि आफू रैथाने भइन्छ । तर नवआगन्तुक त फेरि अर्को जेनेरेसन आइसक्छ। त्यसकारण गाउँ पनि, शहर पनि परिवर्तनशील छ । परिवर्तनशीलतालाई आत्मसात् गर्दा विश्लेषण अगाडि बढाउन सजिलो हुन्छ ।

गाउँ र शहर भनेको विपरीत कुरा होइनन् । यिनीहरू आपसी रूपमा जोडिएका छन् । ग्रामीण समाज अध्ययन गर्ने डियोडोर स्यानिनले भनेका छन्, ‘एनी इमेज अफ द पेजेन्ट हाउसहोल्ड अर पेजेन्ट कम्युनिटी विद नो इक्टर्नल टाइज आर कन्सेप्टुअल कन्स्ट्रक्ट । एक्सेप्सन एण्ड मिस कम्प्रिहेन्सन्स अर क्यारिकेचर ।’ सारांशमा भन्ने हो भने यो एउटा कार्टुन बनाए जस्तै हो रे ! उनी गाउँ-शहर बीच सम्बन्ध छैन भनेर छुट्टाछुट्टै मान्नु एककिसिमले कार्टुनिष्ट कुरा हो भन्छन् ।

हामी अहिले पूँजीवादी युगमा बाँच्छौं । अब यो पूँजीवादलाई कसरी बुझ्ने ? गाउँ र शहरसँग जोडिएको हुनाले मैले यो कुरा ल्याएको हुँ । कार्ल मार्क्सले पूँजीवादलाई उत्पादन प्रणाली (मोड अफ प्रोडक्सन) सँग जोडेर भने । यसलाई एउटा विशिष्ट प्रकारको उत्पादन प्रणाली भनेर बुझे । त्यसैले उनको सबै जोड उत्पादन प्रणालीमा रह्यो ।

उनले भने कि मोड अफ प्रोडक्सनको चरित्र अनुरुप नै समाज बन्छ । पछि त्यसलाई हेर्ने अर्को नजर पनि आयो । त्यसले मोड अफ प्रोडक्सन होइन, मोड अफ एक्सचेञ्ज हो भन्छ । यो दृष्टिकोणले बेचबिखन अर्थात् जे बेच्न सकिन्छ त्यो उत्पादन गर्न सकिन्छ, किनबेच प्राथमिक कुरा हो भन्छ । बिक्री हुन्छ भन्ने निश्चित भएपछि उत्पादन हुन्छ । यसरी पनि हेर्नुपर्छ ।

मैले पहिला शहरहरू ह्वाल्ल ह्वाल्ल गाउँमा बग्छ भनेर लेखेको थिएँ । कहींकतै होइन कि भनिएको छ । बगेको भए त त्यहाँ छुट्टै विशिष्टीकृत पेशाहरूको जन्म हुन्थ्यो भन्ने तर्क छ ।

कृषि कर्म छोडेर अरू छुट्टाछुट्टै पेशा गर्ने मान्छेहरू गाउँमा जन्मिए । तर समस्या के पर्‍यो भने उनीहरू देशमा काम नभएर बाहिर काम गर्ने भए । त्यहाँ शहर बग्यो । काठमाडौं, नजिकका शहरहरू, जिल्ला सदरमुकाम बगेन । भारत, मलेसिया, अरब,  युरोप, अमेरिका, अष्ट्रेलियाका शहरहरू त बगे त त्यहाँ । ह्वालह्वाल्ती बगेका छन् ।

ग्रामीण क्षेत्र पुनर्जागरण गर्न के गर्ने त ? गाउँका गाउँ बाँझो छ । हामी कस्तो राजनीति गरिरहेका छौं, कस्तो सरकार चलाइरहेका छौं ? यो कुनै मुद्दा (एजेन्डा) नै बनेको छैन । देशको एक चौथाइ, एक तिहाइ भाग बालीविहीन भइसक्यो । त्यसको बारेमा कसले राजनीति गर्ने हो ?

यो भूमण्डलीकरणको जमानामा त्यसरी बग्नु स्वाभाविकै भयो । नेपालभित्रै छुट्टै पेशा, विशिष्टीकरण नभएको हुनाले शहर गाउँमा बगेन भन्न पाइएन । नेपालभित्र नबगे पनि नेपालबाहिर त ह्वालह्वाल्ती बगेको छ । आजकल युवा विदेश गएको धेरै स्टोरी पढिरहेका छौं । पनामाको जंगलबाट आदि आदि । पहिला पनि अरु ठाउँका पढिरहेकै हो । यो शहर ह्वालह्वाल्ती गाउँभित्र बगेको परिणाम हो ।

बग्ने प्रक्रियालाई समेट्ने हो भने शहरीकरणको आइडियाले त्यो बगेको देख्नुपर्छ । संसारभर बगेको यो शहरीकरणको बलियो सूचक हो ।

मैले गाउँ एउटै हुँदैन भनें । कुनै एउटा गाउँलाई सम्झौं, एक पुस्ता अघि त्यो कस्तो थियो ? दुई-तीन पुस्ता अघि कस्तो थियो ? अहिले कस्तो छ ?

नामले त एउटै छ तर त्यो छुट्टै गाउँ भइसक्यो । एउटै खोलामा दुईचोटि पाइला टेक्न सकिंदैन भनिए जस्तै गाउँ एउटै रहँदैन । कल्पना गर्नेका लागि चाहिं एउटै गाउँ हो । गाउँको बारेमा हाम्रो कल्पना चाहिं स्थिर हुन्छ । त्यो गाउँ कहाँबाट कहाँ पुगिसकेको हुन्छ ।

गाउँमा परिवर्तन त भयो तर हामीले चाहे जस्तो मात्रै भएन । नचाहेको परिवर्तन पनि भयो भन्ने कुरा सत्य हो । कतिलाई त्यस्तो परिवर्तन चाहिएकै छैन । नचाहिएको परिवर्तन ल्याउने त धेरै भइरहेका छन् । तर हुने चाहिं यस्तै हो । नभइदिए हुन्थ्यो तर त्यस्तो हुन्छ ।

गाउँ पनि हामीले पहिला कल्पना गरेजस्तो गाउँ रहेन । त्यहाँ पनि इन्टरनेट बिजुली पुगेका छन् । अब त्यो थामियो भने गाउँले जीवन पनि थामिन्छ । त्यसैले गाउँ कसरी रूपान्तरण भइरहेको छ, हेर्नुपर्छ ।

गाउँको समस्या हेर्दा त्यहाँ गर्नुपर्ने यतिधेरै कामहरू छन् कि भनिसाध्य छैन । गाउँको राजनीतिक सामर्थ्यलाई हुर्काउने नेतृत्व चाहिन्छ । कतिपय युवा देशमा फर्किएर काम गरिरहेको खबर पढ्न पाइन्छ । यसलाई बढाउनुपर्छ । अब गाउँमा बाँच्न सक्नुपर्छ, विदेशिएकालाई फर्काउन सक्नुपर्छ । यसका लागि एउटा विशेष प्रकारको राजनीति अख्तियार गर्नु आवश्यक छ । त्यो परिवर्तन यसै हुँदैन । यसका लागि गाउँलाई राजनीतिक गतिविधिको केन्द्र बनाउने काम चुनौतीपूर्ण छ ।

सम्भावना 

ग्रामीण गिरावट/अवनति (रुरल डिक्लाइन) को राजनीतिक आधारहरू हुन्छन् । नरेन्द्र मोदी नेपाल आउँदा पानी र जवानीको कुरा गरेका थिए । यो सम्मथरतिर बग्छ, शहरतिर बग्छ भनेजस्तो पानी, जवानी, पूँजी, खानदानी सबै बग्यो र गाउँबाट विस्थापित भयो ।

त्यसले सानो मार्केट सेन्ट्रलदेखि लिएर अलि ठूलो शहर, जिल्ला सदरमुकाम, क्षेत्रीय शहर, काठमाडौं जस्ता ठूलो शहर, महानगर र संसारका ठूला ठूला शहरहरूलाई जन्म दियो ।

यो संसारभरिकै प्रक्रिया भए पनि सधैं हुने कुरा होइन । हामीले इतिहास पढ्दा खासगरी शिवालिक चुरेको क्षेत्र पहिला संसारको सबैभन्दा धेरै जनसङ्ख्या भएको ठाउँ थियो । एकजना जर्ज भ्यान्ड्रियमले आफ्नो अध्ययनमा कसरी महाभारतको लो रेञ्ज र शिवालिक चुरे क्षेत्रतिर मानव सभ्यताको एक किसिमले गर्व भयो उल्लेख गरेका छन् ।

त्यसैले अहिलेको संसार छुट्टै भयो, पहिला यो छुट्टै थियो । त्यतिबेला मौसमका कारण पनि मानिस त्यहाँ बसेका थिए । मौसम परिवर्तन हुँदा तलबाट माथि र माथिबाट तल सर्न सकिन्थ्यो । सानो ठाउँमा धेरै मौसम परिवर्तन हुने, तल र माथि गरिरहन सकिने, वस्तु पनि लग्न सकियो आफू पनि सर्न सकियो । रोगबाट बच्न पनि सकियो र उत्पादन पनि गर्न सकियो । पानी र जमिन पनि पाइयो । नदी सँगसँगै हिंड्न पनि सजिलो, व्यापार गर्न पनि सजिलो भनेर उनले लेखेका छन् ।

गाउँको राजनीति किन पुनर्जागरण भएन ? लामो कालदेखि भएको छैन । नेपाल गाउँ नै गाउँको देश भने पनि त्यही बेलादेखि गाउँ राजनीतिको केन्द्र नै बनेन । अहिले त झन बन्न सकेन, थप सुषुप्त भयो । किन भयो होला ? यसको लागि धेरै गम्भीर विचार र अनुसन्धान गर्नुपर्छ ।

एकै शब्दमा भन्दा अहिलेको गाउँ आर्थिक विपन्नतासँगै राजनीतिक रूपमा पनि कमजोर छ । कृषिमा एकदम न्यून बजेट छ । यस्तो स्थिति किन भयो ? खेती गर्ने सबैजसो महिला, दलित, मधेसी र सबैभन्दा कमजोर र गरिबहरू भए । झन् झन् यो सङ्ख्या बढिरहेको छ । राजनीतिमा कम चासो राख्ने, कम शक्तिशाली समूह नै कृषि उत्पादनको हर्ताकर्ता भए । उनीहरूको राजनीतिक पहुँच न्यून रह्यो ।

गाउँले जीवनलाई सहज बनाउन र ग्रामीण क्षेत्रलाई पुनर्व्यवस्थित गर्न शिक्षासँगै स्वास्थ्य सेवामा पनि सुधार गर्नुपर्छ । बिरामी भयो भने परिवारको लागि जम्मा गरेको पैसा स्वाट्टै जान्छ । कसरी सुलभ स्वास्थ्य र उच्च गुणस्तरको सामुदायिक विद्यालय शिक्षा सुनिश्चित गर्न सक्दा हाम्रो गाउँ अहिलेको धेरै नयाँ र उच्च स्तरको गाउँ बन्छ

त्यसैले पार्टी र सरकारमा आवाज पनि कम र आन्दोलनका लागि संगठित हुनसक्ने सम्भावना पनि न्यून भयो । यो अवस्थालाई बुझेर तदनुरूपको राजनीतिक खाका बनाउन सक्यो भने गाउँको राजनीतिक अवस्था सुधार्न सकिन्छ ।

धेरै मानिसहरू गाउँबाटै विदेश गएकोले होला, उनीहरूलाई आदरपूर्वक हेरिन्न । काठको बाकसको दृश्य आइराख्छ । जब कि कुनै कुनै अध्ययनहरूले के देखाउँछ भने स्वदेशमै रहेर जोखिमपूर्ण जीवन बिताउनेहरूको मृत्युदर उस्तैउस्तै छ ।

एउटै शब्दले धेरै कुरा भन्छ । त्यो हो- पलायन । डेढ दशक जति भयो होला, हामी सजिलै पलायन भन्छौं । कुनै पत्रकारले पलायन शब्द भने भने म सोध्थें- तपाईं कहाँबाट आएको ?

कुनै जिल्लाको नाम लिएपछि म सोध्नेगर्छु- तपाईं पनि त पलायन भएर आउनुभएको रहेछ  !

मान्छेको इतिहास पलायनपूर्ण देखिन्छ । एक ठाउँबाट अर्को ठाउँ सर्ने कुरालाई पलायन भन्ने हो भने हामी चाहिं सर्ने अरु चाहिं पलायन हुने ? पलायनको यो भाष्यमा वर्गीयता, जातजाति र शहरी अंहकारको गन्ध आउँछ । साथै शब्दको अर्थ छिचोल्न नपर्ने पत्रकारिताको पनि ।

मोटामोटी अन्दाज भए पनि मैले डिक्सनरी पनि हेरें । पलायनको अर्थ ‘डराएर र परिस्थितिसँग हारेर भाग्ने काम’, ‘सुइँकुच्चा’ रहेछ । अब कोही डराएर भागेको पनि छैन । सुइँकुच्चा ठोकेको पनि छैन । हात, खुट्टा, नङ्ग्रा, मन खियाएर काम गर्न गएका छन् ।

हाम्रोमा यहीसँग मिल्दोजुल्दो अर्को भाष्य छ- भाग्यवाद । म यो शब्द सुन्दा पनि छक्क पर्छु । ऐतिहासिक रूपमा नेपाली र खासगरी पहाडमा बस्ने नेपालीले पहरो फोरेर खेतबारी बनाए, जंगल फाँडेर बस्ती बसाए । पनामाको जंगल हुँदै कहाँ कहाँ पुगिरहेका छन् । लडाइँ लडिरहेका छन् । अहिले पनि गरिरहेका छन् । भाग्यवादी मानिसले कसरी गर्छ त्यो ? नेपालीलाई कसरी भाग्यवादी भन्ने ?

यद्यपि यो भाष्यले हामीलाई छाडेन । भाग्यवाद भन्नु आफैंले आफैंलाई कोर्रा हान्ने कुरा हो ।

मौका पाए भने संसारभरीका मानिसले गर्छन् र नेपालीले पनि गरिरहेका छन् । अब गर्ने चाहिं को छ त ? देखाउनुपर्ला, खोज्नुपर्ला । त्यसकारण आफ्नो सामर्थ्यमा विश्वास नगर्ने कुराले हामीलाई हानी गर्छ । हामी सक्षम छौं भन्ने प्रामाणिक ऐतिहासिक रेकर्ड छ ।

ग्रामीण क्षेत्र पुनर्जागरण गर्न के गर्ने त ? गाउँका गाउँ बाँझो छ । हामी कस्तो राजनीति गरिरहेका छौं, कस्तो सरकार चलाइरहेका छौं ? यो कुनै मुद्दा (एजेन्डा) नै बनेको छैन । देशको एक चौथाइ, एक तिहाइ भाग बालीविहीन भइसक्यो । त्यसको बारेमा कसले राजनीति गर्ने हो ? त्यसको स्वामित्वमाथि प्रश्न गर्नुपर्‍यो । करको कुरा गर्नुपर्‍यो । जग्गा बाँझै राख्न पाइन्छ कि पाइँदैन ? यत्तिकै राखेपछि स्वामित्वमा ह्रास आउँछ कि आउँदैन ? त्यसको मालपोत डबल/त्रिपल गर्ने हो कि ? यो कुरा सोच्नुपर्छ कि पर्दैन ? यत्तिकै जमिन राख्न त पाइँदैन नि ! यसमा सरकार लाग्नुपर्छ । सरकार नलाग्ने हो भने जसले खेती गर्छ उसले पाउनुपर्छ । किनकि जग्गा त खेती गर्नकै लागि हो । जग्गामा खेतीवाला र पेजेन्टको दाबी रहनुपर्छ । मेरो नगरपालिकामा तीन वर्ष भइसक्यो खेती नै गरेको छैन । यत्तिकै बाँझो छ । कस्तो खाले राजनीति गरिरहेका छौं हामी कि यो इस्यु नै बन्दैन । राजनीतिक मुद्दा नै बन्दैन ।

पहिला खेती भइरहेको एक चौथाइ जमिन अहिले बाँझिएको छ । त्यसैले अहिले तुरुन्तै उठाउनुपर्ने मुद्दा हो ।

यसमा दुई पक्ष छन्- राजनीतिक र टेक्नोक्रेटिक । नेपालमा अहिले श्रमिक धेरै छैनन् । त्यसैले फलफूल र रुख लगाउनुपर्ने होला । सामान्यतः श्रमिक कम लाग्ने खेती गर्नुपर्ने होला । कस्तो बाली लगाउने, कस्तो खेती गर्ने भन्ने इन्नोभेसनहरू गर्न टेक्नोक्रेटिक जनशक्ति (विशेषज्ञ प्राविधिक) ले सघाउनुपर्छ । उनीहरूले उत्पादन, बजारीकरणदेखि ढुवानीसम्म एकीकृत रूपमा सघाउनुपर्छ । ग्रामीण जीवनलाई सहज बनाउँदै पुनर्संगठित गर्न यी प्राविधिक पक्षसँगै कानुनी राजनीतिक पक्षमा बाटो खुलाउनुपर्छ ।

टाढा टाढाका बस्तीहरूलाई कसरी एकीकृत गर्ने भनेर काम गर्नुपर्छ । सडकको विकाससँगै यो भइ पनि रहेको छ । तर त्यसलाई थप व्यस्थित र छिटो गर्न सकिन्छ, जुन महत्वपूर्ण छ ।

गुणस्तरीय शिक्षा पब्लिक स्कुलमा कसरी दिने ? स्वास्थ्य चौकीमा अहिलेको भन्दा राम्रो स्वास्थ्य सेवा कसरी दिने ? यी दुवै कुरा अत्यन्तै महत्वपूर्ण छ । सरकारी स्कुल राम्रो नहुँदा निजी शिक्षालयमा सन्तान पढाउनुपर्दा सामान्य परिवारको धेरै पैसा पनि खर्च भइरहेको । आम्दानीको ठूलो हिस्सा बोर्डिङले लगेको छ ।

अब सुलभलाई धेरै समस्या भएन । ठाउँ ठाउँमा त स्कुलै धेरै भइसके । विद्यार्थीभन्दा शिक्षक धेरै हुने अवस्था पनि छ । त्यसैले अब मात्रा भन्दा गुणस्तर बढाउनेतर्फ आधारभूत रूपमा महत्वपूर्ण छ । नेपालको भविष्य बनाउनको लागि पनि यो महत्वपूर्ण कुरा हो । यो अहिलेको मात्रै कुरा होइन ।

गाउँले जीवनलाई सहज बनाउन र ग्रामीण क्षेत्रलाई पुनर्व्यवस्थित गर्न शिक्षासँगै स्वास्थ्य सेवामा पनि सुधार गर्नुपर्छ । बिरामी भयो भने परिवारको लागि जम्मा गरेको पैसा स्वाट्टै जान्छ । कसरी सुलभ स्वास्थ्य र उच्च गुणस्तरको सामुदायिक विद्यालय शिक्षा सुनिश्चित गर्न सक्दा हाम्रो गाउँ अहिलेको धेरै नयाँ र उच्च स्तरको गाउँ बन्छ ।

(शनिबार काठमाडाैंमा सार्वजनिक संकथन म्यागजिनको गाउँशहरसम्बन्धी विशेषांक सार्वजनिक गर्ने क्रममा समाजशास्त्री मिश्रले व्यक्त गरेका विचारहरुको यो सम्पादित उतार हो । रविन गिरी सम्पादक तथा नीरज भारी प्रकाशक रहेको म्यागजिनमा गाउँ र शहरसम्बन्धी ५५ लेखकका रचना छन् ।)

लेखकको बारेमा
चैतन्य मिश्र

प्राध्यापक चैतन्य मिश्र नेपालमा समाजशास्त्रको पठनपाठन गराउने पहिलो पुस्ताका समाजशास्त्री हुन् । उनका एस्सेज अन द सोसियोलोजी अफ नेपाल, बदलिँदो नेपाली समाज, पुँजीवाद र नेपाल लगायत किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?