+
+

मैनहिया–सम्पत्तिया प्रसारण लाइन सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १९:१२

१९ पुस, बुटवल । रुपन्देहीको मैनहियादेखि भारतको सम्पत्तियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।

भारतसँग विद्युत व्यापारका लागि महत्वपूर्ण मानिएको यो प्रसारण लाइन बिहीबार परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री डा.एस जयशंकरले संयुक्तरुपमा उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । यो प्रशारण लाइन सञ्चालनमा आएपछि नेपाल र भारतबीच अन्तरदेशीय विद्युत व्यापार थप सहज बन्ने ।

रुपन्देहीको सियारी गाउँपालिका–२, मैनहियाको सवस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसनमा प्रसारण लाइन जोडिएको हो ।

यसअघि उत्तर प्रदेशसँग भैरहवा र नेपालगञ्जबाट ३३ केभीको मात्र प्रसारण लाइनको संरचना थियो । अहिले १३२ केभीको डबल सर्किट मैनहिया–सम्पत्तिया प्रसारण लाइन सञ्चालनमा ल्याइएको हो ।

‘उत्तर प्रदेशसँग जोडिएको यो नै सबैभन्दा ठूलो प्रसारण लाइन हो’, नेपाल विद्युत् प्राधिकरण, लुम्बिी प्रदेश कार्यालय, बुटवलका प्रमुख नवराज ओझाले भने, ‘अब विद्युत् ब्यापारको ठूलो ढोका खुलेको छ । अब, दुई देशले खरिद–बिक्रीको कानुनी मापदण्ड बनाएर विद्युत एकअर्का देशमा लैजान सक्नेछन् ।’

नेपालमा उत्पादित विद्युत् भारत निर्यात गर्ने उद्देश्यले यो प्रसारण लाइन निर्माण गरिएको हो । ‘भारतसँग विद्युत व्यापारका लागि महत्वपूर्ण मानिएको यो प्रसारण लाइन तयार भएर सफल परीक्षण भएको छ’, आयोजना प्रमुख हरिप्रसाद पाण्डेले भने ।

मुआब्जासहित १ अर्ब २५ करोड रुपैयाँ लागतको यो आयोजनाबाट १८० देखि दुई सय मेगावाटसम्म विद्युत् खरिद–बिक्री गर्न सकिने उनले जानकारी दिए ।

२८.५ किलोमिटर लामो आयोजनामा ९६ वटा टावर निर्माण गरिएको छ । ‘यो आयोजनाअन्तर्गत नेपालतर्फ २८ किलोमिटर लाइन निर्माण गरिएको छ, भने बाँकी ५०० मिटर भारततर्फ पर्छ’, पाण्डेले भने, ‘नेपालतर्फको लाइन ६ महिनाअघि नै चार्ज गरिएको थियो, भारतसँग जोडेर पुस १७ गते मात्रै चार्ज भयो ।’

यो आयोजनामा नेपाल सरकारको लगानी छ ।

नेपाल र भारतबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको २०७५ माघमा पोखरामा सम्पन्न छैठौं बैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनवा–मैनहिया लाइन निर्माण गर्ने सहमति गरेको थियो ।

यसपछि २०७६ कात्तिकमा भारतको बैङ्लोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौं बैठकले प्रसारण लाइनलाई न्यू–नौतनवा (सम्पत्तिया, भारत) सबस्टेसनमा जोड्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?