+
+

पेलेको चिहान खोतल्दै ‘छोरी’, खुल्नेछ यस्तो रहस्य

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १३:४२
पेले । फाइल तस्वीर

१४ माघ, काठमाडौं । ब्राजिलका महान फुटबलर पेले सन् २०२२ सेप्टेम्बर ३० मा संसारबाट बिदा भएका थिए ।

तर उनको पारिवारिक जीवन भने मृत्युपछि पनि विवादमै रुमल्लिइरहेको छ । विवादको निरुपण गर्नका लागि पेलेको चिहान उत्खनन गरिने भएको छ ।

आफूलाई पेलेकी छोरी दाबी गर्ने एक महिलाले पेलेको शवलाई चिहानबाट बाहिर निकाल्न माग गरेकी छिन् ।

६० वर्षीया मारिया डो सोकोरो अजेभेदोले पहिलोपटक पितृत्व कानून अन्तर्गत मुद्दा दायर गरेको ५ वर्षपछि एकजना वकिललाई यो कदम उठाउन भनेकी हुन् ।

पेलेले आफ्नो मृत्यु हुनुभन्दा पहिले आफ्नो अर्को एकजना बच्चा पनि भएको हुनसक्ने बताएका थिए ।

तीनवटा बिहे, ७ बच्चा

पेलेले आफ्नो जीवनकालमा ३ पटक बिहे गरेका थिए र आधिकारिक रुपमा उनका ७ वटा छोराछोरी छन् । त्यसका अतिरिक्त एकजना थप झट्केली छोरी पनि रहेकी छिन् । उनका दुईजना सन्तान एडिन्हो नेसिमेन्टो र फ्लाविया क्रिस्टिना आफ्ना पिताको इच्छापत्र पढेपछि डीएनए परीक्षणका लागि सहमत भएका थिए ।

मारिया डो सोकोरो अजेभेदोका वकिल मार्कोस फर्नान्डो डस स्यान्डोस सूसालाई उधृत गर्दै प्रकाशित समाचार अनुसार उनले गरेको प्रारम्भिक परीक्षण नेगेटिभ आएको थियो ।

तर मारियाको डीएनए टेस्ट ब्लड लिंकमा उच्च सम्भावना देखाएको वकिलको दाबी छ ।

ती वकिलले अब मारियाको पिता पेले भए नभएको विवादको निरुपण गर्नका लागि पेलेको शव निकालेर परीक्षण गर्न आग्रह गर्नुको विकल्प नरहेको बताएका छन् ।

टेलिभिजन कार्यक्रममा छोरीको दाबी

आफूलाई पेलेको छोरी दाबी गर्ने मारियाका अनुसार जिवित छँदै पेले डीएनए परीक्षणका लागि सहमत पनि भएका थिए । तर परीक्षण हुनुभन्दा पहिले नै उनको मृत्यु भयो । एक ब्राजिलियन टेलिजिभन शोलाई अन्तरवार्ता दिने क्रममा उनले यस्तो बताउँदै आफू पेलेको छोरी नै भएको जिकिर गरिन् ।

आफूलाई पेलेको धन सम्पत्तिमा कुनै रुची नरहेको पनि उनको भनाइ छ । आफ्नी आमाले आफू गर्भवती भएपछि ब्राजिलको मारानहाओ प्रान्तस्थित साओ लुईसमा बसिरहेको कुरा पेलेलाई कहिल्यै पनि नबताएको उनको दाबी छ । मारियाका आमाको मृत्यु भैसकेको छ ।

उत्तरपूर्वी ब्राजिलको पियाउई राज्यमा बस्ने मारियाका अनुसार उनले पहिलोपटक सन् २०१९ मा डीएनए परीक्षण गराउने निर्णय गरेकी थिइन् । त्यसबेला उनी साओपाओलोमा घरेलु कामदारको रुपमा काम गरिरहेकी थिइन् । पेलेले आफ्नो सम्पत्तिको ३० प्रतिशत हिस्सा आफ्नी तेश्री पत्नी मेरिका आओकीलाई, ६० प्रतिशत आफ्ना ७ छोराछोरीलाई र बाँकी १० प्रतिशत नातिनातिनीहरुालई बाँडिदिएका थिए ।

पेलेको मृत्युको समयमा उनको कुल सम्पत्ति करिब १४ अर्ब रुपैयाँ थियो । यदी मारिया उनकी आठौं सन्तान भएको पुष्टि भयो भने उनले पेलेका अरु सन्तानहरुले प्राप्त गरेको सम्पत्तिमा आफ्नो अंश दाबी गर्न सक्छिन् ।

उता पेलेको परिवारका वकिल अगस्टो मिग्लिओलीले भने यसअघिको डीएनए टेस्टबाट मारिया पेलेकी छोरी नभएको पुष्टि भैसकेको भन्दै चिहान उत्खनन गरेर पेलेको शव बाहिर निकाल्ने कुराको आफूहरुले विरोध गर्ने बताएका छन् ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?