+
+

फिल्ममा देखिंदै ओली, एसिड आक्रमणबारेको ‘नमेटिने घाउ’मा केमियो भूमिका

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १६:४०

काठमाडौं । एसिड आक्रमण घटनाका पीडितको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक तथा निर्माता रमित ढुंगानाले फिल्मबारे जानकारी दिए ।

उक्त प्रेसमिटमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । यो फिल्ममा ओलीले प्रधानमन्त्रीको भूमिकामा केमियो रोलमा अभिनय गर्न लागेको जानकारी समेत दिइयो ।

२०७७ असोजमा ओली नेतृत्वको मन्त्रिपरिषद्ले तेजाब आक्रमण गर्नेलाई कडा सजाय हुनेगरी फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधनको प्रस्ताव पास गरेको थियो । फिल्मको कथाअनुसार सोही सन्दर्भ चित्रण गर्नुपर्ने भएकाले ओली प्रधानमन्त्रीकै रोलमा देखिन लागेको जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।

कार्यक्रममा ओलीले एसिड आक्रमण गर्नेमाथि कानुनअनुसार कारवाही हुनुपर्ने बताए । फिल्मको मुहूर्तको उक्त अवसरमा ओलीले एक्सन भन्दा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले क्ल्याप, रमेश उप्रेतीले कट र अभिनेता धीरेन शाक्यले अभिनय गरेका थिए । अभिनेता विक्रान्त बस्नेतले नरिवल फुटाए ।

यो फिल्ममा निर्देशक समेत रहेका ढुंगाना पनि केमियो रोलमा देखिने भएका छन् । पत्रकार सम्मेलनको तेजाब आक्रमणको घटनाका केही पीडित पनि उपस्थित थिए । उनीहरुले आक्रमणका दोषीलाई हदैसम्मको सजाय हुनुपर्ने प्रावधान कानुनमा राख्नुपर्ने माग गरे ।

एमाले अध्यक्ष ओलीले यो फिल्मले एसिड आक्रमण रोक्न सकारात्मक सन्देश दिने आशा व्यक्त गरे । फिल्ममा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, रचना गौतम, सिम्रन खड्का, सुप्रज्ञा शर्माले समेत अभिनय गर्दैछन् । माघ २५ गतेदेखि फिल्म छायांकन गर्ने तयारी छ । एसिड आक्रमणका घटना भएका ठाउँहरु पोखरा, वीरगञ्ज, रौतहटको चन्द्रपुर, भक्तपुर, बनेपा, नवलपुर र पनौतीमा छायांकन हुने भएको छ ।

‘यो सबै भिक्टिमहरुको बायोपिक हो,’ रमितले भने, ‘आक्रमणका घटना भएका ठाउँमा फिल्म छायांकन गर्ने योजना छ ।’ गएको १० वर्षमा ३३ जनामाथि एसिड आक्रमण भएको तथ्य पेश गर्दै रमितले यो कार्य जघन्य अपराध हो भन्ने सन्देश आफूले फैलाउन चाहेको बताए ।

पटकथा लेखक शिवम् अधिकारीले साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् । यो फिल्म रमितको डेब्यु निर्देशकीय फिल्म समेत हुनेछ भने निर्माणको रुपमा तेस्रो ।

यसअघि उनले ‘माया नमार’ र ‘बुद्ध इज बर्न इन नेपाल’ फिल्मको निर्माण गरेका थिए । यो फिल्मबाट पृथ्वीनारायण शाहको बायोपिक फिल्म बनाउने र यसमा रमित आफैंले पृथ्वीनारायणको भूमिका निर्वाह गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?