+
+

राष्ट्र बैंकले सबैको मनोबल उच्च हुने नीति तर्जुमा गर्छ : डेपुटी गभर्नर मिश्र

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १९:३१

१७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशका उद्योगी–व्यवसायी, बैंक लगायत सबैको मनोबल उच्च भएमात्र मुलुकको आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने बताएका छन् ।

नेपाल बैंकर्स संघ र ‘युएस एड ट्रेड एन्ड कम्पिटिटिभनेस’ को संयुक्त आयोजनामा भएको हेजिङ सम्बन्धी एक नीतिगत बहसमा मिश्रले राष्ट्र बैंक सबैको मनोबल उच्च हुने नीति निर्देशन तर्जुमा गरिरहेको बताए ।

अहिले पनि बैंकहरूले कुनै न कुनै रूपमा हेजिङको सुविधा उपभोग गर्दै आएको र बैंकले आफ्नो क्षमता तथा प्राविधिक दक्षताका आधारमा त्यसको उपयोग गर्न सकिने बताए ।

बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको आर्थिक विकासको लक्ष्य, अन्तर्राष्ट्रिय जगतमा गरिएको प्रतिबद्धता परिपूर्तिका लागि ठूलो लगानी खाँचो भएको बताए ।

यस्तो परिस्थितिमा बाह्य लगानी देशमा कसरी भित्र्याउन सकिन्छ भन्ने विषय महत्वपूर्ण रहेको उनको तर्क छ । नेपालले लिएको दिगो विकास लक्ष्य परिपूर्ति गर्न पनि नेपालमा ठूलो स्रोत चाहिने र देशभित्रका बैंक तथा वित्तीय संस्थाले मात्र त्यसको परिपूर्ति गर्न नसक्ने उनको भनाइ छ ।

यस्तो परिस्तिथिमा वैदेशिक लगानी अपरिहार्य रहेकाले सरकारले यसको सहजताका लागि थप पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा पूर्वअर्थ सचिव शिशिरकुमार ढुंगानाले प्रस्तुतीकरण दिँदै सरकारले २०७५/७६ बजेट वक्तव्यमार्फत विदेशी लगानीकर्तालाई हेजिङ सुविधा प्रदान गर्ने घोषणा गरे पनि अझै पनि हेजिङ नियमावली, २०७९ पूर्ण कार्यान्वयन हुन नसकेको बताए ।

अहिलेको परिस्थितिमा त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्दै त्यसमा विभिन्न निकायले खेल्न सक्ने भूमिकाबारे प्रस्तुति राखेका थिए ।

उनले हेजिङ सम्बन्धित नीति कार्यान्वयनका लागि भइरहेका प्रयास हालसम्म सम्पन्न कार्य, नीति कार्यान्वयन जिम्मेवार निकायबारे प्रष्ट पारेका थिए ।

हेजिङ सुविधा प्राप्त गर्न अवलम्बन गर्नुपर्ने प्रक्रिया, उपयोग तथा लगानीको सीमाजस्ता विषयमा उनले प्रस्तुत दिएका थिए ।

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले हेजिङका विषयमा सरकार गम्भीर रहेको र आपसी समझदारी र सहकार्यबाट यसलाई प्रभावकारी बनाउन तयार रहेको बताए ।

बैंकर्स संघ उपाध्यक्ष सन्तोष कोइरालाले मौद्रिक नीतिमा भएका केही नीतिगत व्यवस्था र हेजिङ जस्तो महत्वपूर्ण विषयमा सम्बन्धित सबै सरोकारवाला एकै ठाउँमा छलफल गर्ने वातावरण बन्नु सकारात्मक रहेको बताए ।

मौद्रिक नीति २०८०/८१ मा भएका केही नीतिगत व्यवस्था र त्यसका कार्यान्वयनका पक्ष र हेजिङसँग सम्बन्धित विषयमा छलफल गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना भएको बैंकर्स संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?