+
+

नेपाली क्रिकेट टिममा प्रमुख स्पिनर अब को बन्ला ?

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ २४ गते १७:२३

२४ माघ, काठमाडौं ।  बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भएर जेल सजाय पाएका स्पिनर सन्दीप लामिछानेले सम्हालिरहेको स्पिन बलिङमा नयाँ खेलाडीको खोजी सुरु भएको छ  । गत वर्ष भदौमा एक युवतीलाई बलात्कार गरेको मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौंले अघिल्लो महिना सन्दीपलाई ८ वर्ष जेल सजाय सुनाएको थियो ।

अदालतको फैसलासँगै नेपाल क्रिकेट संघ (क्यान) ले पनि उनलाई टोलीबाट हटाइ सकेको छ । सन्दीपले घरेलु र अन्तर्राष्ट्रिय कुनै पनि खेल खेल्न नपाउने गरि निलम्बन गरिसकेको छ ।

नेपाली टोलीमा अब कुनै एक खेलाडीले स्पिन आक्रमणमा सन्दीपको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । घरेलु र उमेर समूहमा राम्रो प्रदर्शन गर्ने निकै कम लेग स्पिनर छन् ।

घरेलु क्रिकेटमा बायाँ हाते स्पिनरबीच कडा प्रतिस्पर्धा छ । त्यसैले खेलाडी छनोट गर्न सहज भने हुनेछैन ।

नेपालले भोलि बिहीबारदेखि क्यानडासँग तीन ओडीआई खेल्दै छ । सोमबार क्यानडासँगको शृंखला सकिने छ र लगत्तै नेपालले आईसीसी विश्वकप लिग २ मा नेदल्यान्ड्स र नामिबियासँग खेल्ने छ ।

यी दुवै प्रतियोगिताका लागि क्यानले टोली घोषणा गरेको छ । यो टोलीमा परेका र टोलीमा नपरेका केही खेलाडी छन् जसले नेपाली क्रिकेट टिममा सन्दीपको स्थान लिन सक्छन् ।

कुशल भुर्तेल

नेपालले ओपनर कुशल भुर्तेललाई लेग स्पिनरको रुपमा प्रयोग गर्ने पक्का छ । कुशलले नेपाली क्रिकेट टोलीबाट पार्टटाइममा लेगस्पिन बलिङ गर्दै आएका छन् । गत जुलाईमा कोलम्बोमा सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कपमा कुशलले युएई ए विरुद्ध १० ओभरमा ४० रन खर्चेर एक्लै ६ विकेट लिएका थिए ।

ओडीआईमा ४ र टी–२० आईमा ३ विकेट लिएका छन् उनले । सन्दीप जेलमा हुँदा नेपालले उनलाई लेग स्पिनरको भूमिका दिएको थियो ।

घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबबाट उनले यस पटक प्रधानमन्त्री कपमा ६ विकेट लिएका थिए ।

अष्ट्रेलियाबाट फर्केका कुशलले प्रधानमन्त्री कपमा चाँडै खेल सकिँदा मैदानमा बलिङमा अभ्यास गर्ने गरेका थिए । मुख्य प्रशिक्षक मोन्टी देशाईले नै कुशललाई लेग स्पिनमा अभ्यास गर्न र प्रधानमन्त्री कपमा बलिङ गर्न भनेका थिए ।

कुशल नेपालका पहिलो रोजाइका ओपनर हुन् । टोलीमा अन्य लेग स्पिनर नहुँदा कुशलले तत्कालको लागि स्पिन बलरको भूमिका पनि निर्वाह गर्नेछन् ।

सूर्य तामाङ

बागमती प्रदेशका बायाँ हाते स्पिनर सूर्य तामाङ पनि त्यो सम्भावना बोकेका खेलाडी हुन् । सन्दीप र सूर्यको बलिङ शैली फरक छ ।

तर सूर्य राम्रो लयमा छन् । प्रधानमन्त्री कपमा उनले ९ खेलमा ३० विकेट लिँदै उत्कृष्ट बलर र प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

गतवर्ष आईसीसी विश्वकप लिग–२ मा सूर्य नामिबिया र स्कटल्यान्डविरुद्ध त्रिकोणात्मक सिरिजमा नेपाली टोलीमा परेका थिए ।

सूर्यले एसीसी इमर्जिङ टिम्स र मुलपानीमा सम्पन्न हङकङ र युएईविरुद्ध त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालको टोलीमा थिए ।

तर कुनै पनि खेलमा डेब्यूको अवसर पाएनन् । यस पटक लिग २ र क्यानडासँग दुबै सिरिजमा परेका छन् । सूर्यको स्थान सन्दीपले लिने देखिन्छ ।

पवन सर्राफ

अफ स्पिन अलराउन्डर पवन सरार्फ क्यानडा र लिग–२ दुबै सिरिजमा टोलीमा परेका छन् ।

पवन ब्याटिङसँगै अफ स्पिन बलिङ गर्ने गर्दछन् । जसले गर्दा अव सन्दीपको स्थान उनले लिन सक्छन् ।

प्रधानमन्त्री कपमा उनले मधेशबाट ९ खेलमा ३२९ रन बनाउनुको साथै ५ विकेट लिएका थिए ।

पवनले २०१९ मा नेपाली क्रिकेट टोलीमा डेब्यू गरेका थिए । नेपालबाट उनले ८ ओडीआई, १७ टी–२० आई र १४ लिष्ट ए खेल खेलेको अनुभव छ ।

पवनलाई खेलाउँदा ब्याटिङ पनि मजबुत हुनेछ । जसले गर्दा बायाँ हाते स्पिनरमा ललित हुँदा नेपालले सन्दीपको स्थानमा पवनलाई मौका दिनसक्छ ।

पवन र सूर्य मध्य एक नेपालको प्लेइङ ११ मा हुनेछन् । जसले प्लेइङ ११ मा मौका पाउँछन् उनले स्पिनरको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

लेग स्पिनको भूमिका तत्कालको लागि नेपालको टोली हेर्दा कुशल भुर्तेलले निर्वाह गर्ने देखिन्छ । दीर्घकालीन रुपमा भने नेपालले युवा खेलाडी तयार पार्न सक्छ ।

नेपालले दीर्घकालीनरुपमा तयार पार्नसक्ने खेलाडीहरु

शेर मल्ल

अफस्पिनर शेर मल्ल अर्को सम्भावना बोकेका खेलाडी हुन् । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने उनले अफस्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

टोलीमा बायाँ हाते स्पिनर ललित छन् । अफ स्पिन अलराउन्डरमा दीपेन्द्रसिंह ऐरी पनि छन् । शेरसँग बलिङमा भेरिएसन बढी छ । क्यारम बल, अफस्पिनसँगै लेग र गुगलीको क्षमता पनि उनले राख्छन् ।

ब्याटिङ उनले बायाँ हातले गर्ने गर्दछन् । बायाँ हाते ब्याटर हुँदा रणनीतिक हिसाबमा प्रयोग पनि गर्नसक्छ । यस पटकको प्रधानमन्त्री कपमा उनले ९ खेलमा २४ विकेट लिएका थिए ।

पछिल्लो समय दिल्लीमा बसेर पनि अभ्यास गर्दै आएका छन् । शेर २०२१ मा नेपालको बन्द प्रशिक्षणमा समेत परेका थिए । उनी नेपाल ए मा पर्ने सम्भावना छ ।

पवन अफ स्पिनरको रुपमा टोलीमा हुँदा सामान्य प्रदर्शनले भने पर्याप्त हुनेछैन । पवनले कमजोर प्रदर्शन गरे वा उनले भन्दा उत्कृष्ट प्रदर्शन गर्न सकेको खण्डमा मात्रै उनले सिनियर टोलीमा मौका पाउन सक्छन् ।

श्याम ढकाल

सन्दीपलाई बलात्कारको मुद्दा परेसँगै नेपालले ब्याकअपको रुपमा लेग स्पिनर श्याम ढकाललाई राखेको थियो । तर उनले नेपाली क्रिकेट टोलीमा आफूलाई प्रमाणित गर्न सकेनन् ।

गतवर्ष आईसीसी विश्वकप लिग–२ मा युएई भम्रणदेखि उनलाई नेपालले टोलीमा राखेको थियो । नेपालबाट गत अक्टोबरमा टी–२० आईमा हङकङ र युएईसँग खेल्ने अवसर पाए पनि त्यहाँ आफूलाई प्रमाणित भने गर्न सकेनन् ।

प्रधानमन्त्री कपमा नेपाल एपीएफ क्लबबाट खेलेका उनले बलिङमा प्रभाव जमाउन सकेनन् । उनले १३ विकेट लिएका थिए । तर अधिकांश तल्लोक्रमका बलरको विकेट थियो ।

प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गर्न नसकेकैले उनी दुबै प्रतियोगिताको राष्ट्रिय टोलीमा पर्न सकेनन् ।

क्यानडा र लिग २ सिरिज खेल्ने टोलीमा नपरेपछि उनको अन्तिम आशा नेपाल ए हुनेछ । क्यानडासँग नेपाल ए ले दुई सातापछि तीन अभ्यास खेल खेल्नेछ ।

त्यहाँ राम्रो प्रदर्शन गर्न सके सिनियर टोलीमा फर्किन सक्छन् । अथवा नेपालले उनलाई केहि समय विदेश प्रशिक्षण पठाएर तयार पार्न सक्छ ।

यू–१९ बाट थप दुई खेलाडीका आशा

यू–१९ क्रिकेट टोलीबाट लेग स्पिनर तिलकराज भण्डारी र अफस्पिनर सुभाष भण्डारी पनि सम्भावना भएका खेलाडी हुन् । यू–१९ विश्वकपमा सुभाषले ५ खेलमा ९ विकेट लिँदा ८५ रन बनाएका थिए ।

सुभाषले बंगलादेशविरुद्ध एक्लै ५ र न्युजिल्यान्डविरुद्ध ३ विकेट लिएका थिए । तल्लोक्रममा उनले न्युजिल्यान्डसँग ३३, पाकिस्तानसँग २० र बंगलादेशविरुद्ध १८ रन बनाएका थिए । अफस्पिन अलराउन्डरको रुपमा उनलाई नेपालले विकास गर्नसक्छ ।

लेगस्पिनर तिलकले यू–१९ विश्वकपमा २ खेलमा २ विकेट लिएका थिए । तिलक पनि सम्भावना भएका हुन् । अहिले नै सिनियर टोलीमा आउने समय भएको छैन । तर सुभाष र तिलक दुबैलाई नेपाल ए, सिनियर टोलीको बन्द प्रशिक्षण र विदेशमा प्रशिक्षण दिँदै तयार पार्नसक्छ ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?