+
+

सारंगीलाई देशको मुख्य बाजा बनाउने १२ वर्षीया प्रकृति गायकको चाहना

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते २०:१९

४ फागुन, पोखरा । पोखरा हेम्जाकी प्रकृति गायक १२ वर्षकी भइन् । ६ कक्षामा पढ्दै गरेकी प्रकृति गन्धर्व सारंगी संरक्षण पाठशालामा सारंगी बजाउन सिकिरहेकी छन् ।

उनी शुक्रबार पोखरा फेवा ता किनारमा चलिरहेको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ‘कथा भन्ने सारंगी’ सत्रमा सारंगी वादक तथा गायक चित्रबहादुर गन्धर्व र हरिबहादुर गन्धर्वसँगै स्टेजमा उभिइन् ।

चित्रबहादुर र हरिबहादुरले सारंगीमार्फत दुलही रुवाउने धुन, स्वस्थानी गाथा लगायतका गीत गाएका थिए । भने प्रकृतिले सारंगीमार्फत राष्ट्रिय गान र रेसम फिरिरि गीत गाएकी थिइन् ।

प्रकृतिले उक्त कार्यक्रममार्फत आफूले सारंगीलाई देशको मुख्य बाजा बनाउने हो भन्ने कुरा चिनाउन चाहेको बताइन् । ‘किन सारंगी बजाउन लाग्नुभयो ? भन्ने प्रश्नमा प्रकृतिले भनिन्, ‘सारंगी बजाएर देशभरि नै हाम्रो मुख्य बाजा हो भन्ने कुरा चिनाउन चाहन्छु ।’

चित्रबहादुर गन्धर्वले राष्ट्रिय बाजा भनेकै सारंगी, बासुरी र पञ्चेबाजा भएकाले यसलाई लोभ हुनबाट रोक्नुपर्ने बताए । उनले भने, ‘यो संस्कृति, हाम्रो राष्ट्रिय बाजा भनेकै सारंगी, बसुरी र पञ्चेबाजा । यसलाई लोभ हुन दिन कहिले पनि हुँदैन ।’

यसलाई संरक्षण गर्न ठाउँ ठाउँमा प्रशिक्षण गराइएको चित्रबहादुरले सुनाए । ‘लोभ हुन नदिने हामीले ठाउँ ठाउँमा कार्यक्रम गरिराखेको छौँ । ससाना नानीहरू प्रशिक्षण पनि दिइराखेका छौँ,’ उनले भने । हरिबहादुर र चित्रबहादुर लोक गीत गाउँदै नेपालका पश्चिमी भाग डुल्ने गर्छन् ।

नगरकोटीको ‘जे थर्टी–थ्री’ को स्नेक प्रिभ्यू

कुमार नगरकोटीले आफूले लेखेको जे थर्टी–थ्री पुस्तकको स्नेक प्रिभ्यु गरेका छन् । उनले उक्त पुस्तकमा समेटिएको पृष्ठभूमि, समावेश विषयवस्तुको बारेमा जानकारी दिएका थिए ।

गाफिक नोभल एउटा पनि नभएको देखेपछि यो पुस्तकको कन्सेप्ट आएको नगरकोटीले बताए । कुनै समय ब्रिटिस विद्यार्थीलाई पढाउँदाताका ती विद्यार्थीले भनेको सम्झिए, ‘उसले सोध्यो तेरो ग्राफिक नोभल कुन हो त । तेरो देशको ग्राफिक नोभल पढ्छु । अब कुनै छैन । मैले भने मेरो देशमा ग्राफिक नोभल छैन । त्यो भनिरहँदा मलाई संकोच लाग्यो ।’

सोही कन्सेप्टअनुसार आफूले पुस्तक तयार पारेको सुनाए । ‘यो लेख्ने कन्सेप्ट चाहिँ ७/८ वर्ष अघिको हो । जनवरी ३३ जन्मेको पात्र छ । त्यसैले यसको नाम ‘जे थर्टी–थ्री’ रहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?