+
+

पर्यटक बढ्दा सूचीकृत होटलहरूको नाफा ४८ प्रतिशत उक्लियो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १८:२९

७ फागुन, काठमाडौं । नेपालमा विदेशी पर्यटक संख्या बढ्दा होटलहरूको नाफामा सुधार देखिएको छ । सेयर बजारमा सूचीकृत सबै होटलले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार होटलहरूको खुद नाफा गत वर्ष सोही अवधिको तुलनामा औसत ४८ प्रतिशत बढेको छ ।

होटल तथा पर्यटन समूहका बजारमा ६ कम्पनी सूचीकृत छन् । सूचीकृतमध्ये चन्द्रागिरि हिल्स र कालिञ्चोक दर्शनको मुख्य व्यापार केबुलकार सञ्चालनबापत सेवा शुल्क हो । तर, अन्य चार कम्पनी सोल्टी, तारागाउँ रिजेन्सी, ओरियन्टल र सिटीको मुख्य व्यापार भनेको होटल व्यवसाय हो । तीमध्ये सिटी होटल नोक्सानीमा छ भने अरू सबै कम्पनी नाफामा छन् ।

होटलहरूले सार्वजनिक गरेको वित्तीय विवरणमै वाह्य पर्यटक संख्या बढ्दा आम्दानीमा सकारात्मक टेवा पुग्न गई नाफामा सुधार भएको उल्लेख गरेका छन् । चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा ६ कम्पनीको कुल खुद नाफा ४४ करोड ९५ लाख रुपैयाँ छ । गत आव दोस्रो त्रैमासमा यस्तो नाफा ३० करोड ३३ लाख रुपैयाँ थियो । यसर्थ, होटल तथा पर्यटन समूहका कम्पनीहरूको औसत नाफा ४८ प्रतिशत बढेको देखिन्छ ।

ह्यात होटल सञ्चालन गर्दै आएको तारागाउँ रिजेन्सी होटल कम्पनीको नाफा सबैभन्दा धेरै ७१ प्रतिशत बढेको छ । सार्वजनिक दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आव दोस्रो त्रैमासमा १० करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी बढ्दा नाफामा टेवा पुगेको देखिन्छ ।

गत आव दोस्रो त्रैमासमा ५३ करोड ११ लाख आम्दानी रहेकोमा यो वर्ष सोही अवधिमा ६३ करोड ८५ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६३ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ६४ पैसा छ ।

र्‍याडिसन होटल सञ्चालन गर्दै आएको ओरियन्टल होटल कम्पनीको खुद नाफा गत वर्षको समीक्षा अवधिको तुलनामा ४६ प्रतिशत बढेको छ । कम्पनीले दोस्रो त्रैमासमा ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा ३ करोड ६५ लाख रुपैयाँ थियो । कम्पनीको सञ्चालन आम्दानी ६ महिनामा ५६ करोड १ लाख रुपैयाँ छ । गत वर्ष समीक्षा अवधिमा यस्तो आम्दानी ४३ करोड ९० लाख थियो । दोस्रो त्रैमासिक अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७४ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३४२ रुपैयाँ ५८ पैसा छ ।

सोल्टी होटलले ६ महिनामा २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्ष समीक्षा अवधिको तुलनामा नाफा ४.६ प्रतिशत बढेको हो । सार्वजनिक विवरण अनुसार ६ महिनामा कम्पनीको कुल आम्दानी १ अर्ब ५ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो आम्दानी ९६ करोड १ लाख रुपैयाँ थियो ।

कुल आम्दानी बढ्दा कम्पनीको नाफामा टेवा पुगेको देखिन्छ । कम्पनीले अंकित मूल्य १० रुपैयाँका दरले सेयर जारी गरेको हो । जसका कारण वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ९७ पैसा छ । प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ ७८ पैसा छ ।

ह्यात प्लेस सञ्चालन गर्दै आएको सिटी होटल भने ११ करोड ७९ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ । कम्पनीको नोक्सानी पहिलेभन्दा घटेको हो । पहिले यस्तो नोक्सानी १३ करोड २४ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी बढ्दा नोक्सानी घटेको देखिन्छ । दोस्रो त्रैमासमा कम्पनीले २४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष सोही अवधिमा यस्तो आम्दानी २१ करोड २० लाख थियो ।

कम्पनीको वित्तीय लागत भने बढेको देखिन्छ । यस्तो लागत गत आव दोस्रो त्रैमासमा १६ करोड ५६ लाख थियो भने यो वर्ष सोही अवधिमा १७ करोड ४८ लाख रुपैयाँ छ ।बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज तथा साँवा रकम कम्पनीले बुझाउँदै आएको छ । कम्पनीको दीर्घकालीन ऋण ३ अर्ब १२ करोड छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ५० पैसा छ ।

त्यस्तै केबुलकार सेवा सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्सको नाफा २२ प्रतिशत बढेको छ । गत वर्ष दोस्रो त्रैमासमा ५ करोड १४ लाख खुद नाफा कमाएको कम्पनीले यो वर्ष सोही अवधिमा ६ करोड २८ लाख कमाएको छ । कम्पनीको सञ्चालन आम्दानी गत वर्ष दोस्रो त्रैमासमा ४० करोड ८२ लाख थियो भने अहिले ४५ करोड ७५ लाख छ । आम्दानीमा भएको वृद्धिले नाफामा योगदान पुगेको देखिन्छ ।

वाह्य तथा आन्तरिक पर्यटक आगमनमा उल्लेख्य सुधार हुँदा कुल आम्दानी १२ प्रतिशत बढेको कम्पनीले स्पष्ट पारेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १० पैसा छ भने प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ छ ।

अर्को केबुलकार सेवा सञ्चालन गर्दै आएको कालिञ्चोक दर्शन कम्पनीले दोस्रो त्रैमासमा ६४ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष दोस्रो त्रैमासमा कम्पनीको आम्दानी कम हुँदा ९८ लाख ८७ हजार नोक्सानी थियो । गत आव दोस्रो त्रैमासमा कम्पनीको कुल आम्दानी ४५ लाख ६१ हजार रुपैयाँ थियो भने चालु वर्ष दोस्रो त्रैमासमा ३ करोड ४३ लाख छ ।

कम्पनीको वित्तीय तथा सञ्चालन खर्च पनि बढेको छ । वित्तीय लागत गत वर्ष दोस्रो त्रैमासमा ५९ लाख रहेकोमा यो वर्ष १ करोड ९ लाख छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८ पैसा छ भने प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ९४ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?