+
+

नरेन्द्र मोदीदेखि ब्रान्ड मोदीसम्म

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १५:४६

२२ जनवरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रोचारणसहित राममन्दिरमा प्राणप्रतिष्ठा गर्दा उनी ‘हिन्दु हृदय सम्राट’का रुपमा निकै खरो उत्रेका थिए ।

धेरै भारतीय नागरिक के मान्छन् भने मोदीले हिन्दु सम्राटको छवि निकै सोची सम्झी बनाएका हुन् । यसको उद्देश्य हिन्दु राष्ट्रवादका बहुसंख्यक प्रशंसकहरुसँग जोडिनु हो ।

राममन्दिरमा प्राण-प्रतिष्ठाको दृश्य टिभीमा देखाइँदा विपक्षी र आलोचकहरुले यसलाई हिन्दु मतदाता रिझाउने प्रयत्नको रुपमा ब्याख्या गरे । आसन्न चुनावमा भारतमा ९० करोड मतदाता सहभागी हुदैछन् । लोकसभाको यस चुनावलाई विश्वकै ठूलो लोकतान्त्रिक घटना मानिन्छ । नरेन्द्र मोदीले उनको दल भारतीय जनता पार्टीलाई यसअघिका दुईवटा  चुनावमा जित दिलाइसकेका छन् ।

चुनावमा भाजपाले मोदीलाई नै अग्र अनुहार बनाउने गरेको छ । धेरै मानिसले उनको राजनीतिलाई धार्मिक ध्रुवीकरणलाई बढावा दिने खालको भनिरहँदा मोदी किन लोकप्रिय र सफल छन् त ?

मोदीका समर्थकहरुका अनुसार उनको सबैभन्दा ठूलो गौरवपूर्ण क्षण ह्वाइटहाउसको सम्मान हो । अघिल्लो वर्ष मोदी त्यहाँ सम्मानित भएका थिए भने त्यहाँको सदनमा सम्बोधन गर्दा बारम्बार गडगडाहट ताली बजेको थियो ।

यो सम्मान मोदीका निम्ति निजी जित थियो । किनभने गुजरात दंगापछि मानवअधिकार उल्लंघनको आरोपमा मोदीलाई अमेरिका प्रवेशमा रोक लगाइएको थियो । मोदीका समर्थकहरुका अनुसार अमेरिकामा उनको सम्मान र स्वागतबाट पश्चिमाले आफ्नो त्रुटी सच्याएको सन्देश दुनियाँलाई दिएको छ ।

‘मोदीज इंडिया’का फ्रान्सेली लेखक क्रिष्टोफ जैफर्लो पश्चिमा मुलुकमा मोदीप्रति समान राय रहेको बताउँछन् । ‘पछिल्लोपटक मोदी फ्रान्समा आउँदा उनीप्रति समान धारणा थियो । त्यही क्रममा युरोपेली संसदले मणिपुर हिंसाविरुद्धमा प्रस्ताव पारित गर्दा त्यसको भाषा निकै सशक्त थियो । यद्यपि पश्चिमा राष्ट्रहरुबाट उनले पाएको समर्थन उनको निजी भने होइन । चीनको सामनाका लागि भारतलाई खडा गर्ने पश्चिमा नीतिको उपज हो’, उनले भनेका छन् ।

फ्रान्सेली लेखक क्रिष्टोफ जैफर्लो

अलग-अलग मानिसका निम्ति मोदीको अर्थ अलग-अलग छ । कोही उनलाई भारतका सबैभन्दा प्रभावशाली प्रधानमन्त्री भन्छन् । कोही उनलाई निरंकुश भनिदिन्छन् । उनलाई समर्थन गर्ने र विरोध गर्नेहरुको तथ्यांक जे जस्तो भएपनि मोदीको नेतृत्वमा दुनियाँ सामु भारतीय हैसियत निकै बढेको साझा मत छ ।

यद्यपि विपक्षीहरु मोदी सरकारले विरोधीको आवाज दबाएर र मिडिया स्वतन्त्रतामा लगाम लगाएर भारतीय लोकतन्त्र कमजोर बनाएको बताउँछन् । आलोचकहरु भन्छन्, हिन्दुत्व र उग्र राष्ट्रवादलाई जोड दिएर उनले मुलुकको विविधतापूर्ण संस्कृतिविरोधी काम गरेका छन् ।

धेरै मानिसहरु मोदी स्वयंले आफूलाई टेक्नोक्र्याटका रुपमा प्रस्तुत गरेको बताउँछन् । उनको कामकाज विकासलाई बढावा दिने किसिमको भएको मान्नेहरु धेरै छन् । पश्चिमा मुलुकमा भारतको दबदबाको कारण भारतीय बजार हिस्सा पनि हो ।

विरोधी हुन् या समर्थक मोदी दुबैमा उग्र भावना जगाइदिन्छन् । मोदीप्रतिको सन्तुलित विश्लेषण सायदै देखिनेछ ।  नरेन्द्र मोदी करिब १० वर्षदेखि सत्तामा छन् । दोस्रो नेताका लागि उनले कहीँ ठाउँ छाडेका छैनन् भन्ने टिप्पणी पनि हुने गरेको छ । सामाजिक सञ्जालमा होस् वा सरकारी संयन्त्रका वेबसाइट, रेडियोमा होस् वा टिभी सबैतिर उनी नै छाउँछन् ।

देशका धेरै क्षेत्रमा उनको तस्वीर अंकित होर्डिङ बोर्ड छ । यदि कोही कसैले मोदीसँग आफ्नो फोटो होस् भन्ने चाहेको छ भने त्यस्ता व्यक्तिका लागि रेल्वे स्टेशनमा सेल्फी प्वाइन्ट राखिएका छन् । सहरका चौर, हवाइ अड्डा, रेल्वे प्लेटफर्मतिर मुस्कुराइरहेका मोदीका तस्वीर छन् । कुना कुनामा प्रधानमन्त्रीको यस्तो उपस्थिति यसअघि कहिल्यै भारतीय जनताले अनुभव गरेका थिएनन् ।

गत डिसेम्बरमा मोदीले हिन्दी बाहुल्य क्षेत्र रहेका तीन राज्यको चुनावमा पार्टीलाई जित दिलाए । केही महिनामै हुने आम चुनावको तयारीमा मोदी जुटिरहेका छन् । उनका विरोधीहरु विभाजित छन् । अघिल्लो वर्ष जुलाइमा एक दर्जन विपक्षी दल मिलेर मोदीलाई चुनौती दिन भाजपाविरुद्ध गठबन्धन बनाएका थिए ।  यता भाजपाका लागि मोदी एक्लै काफी मानिन्छन् । ७३ वर्षीय प्रधानमन्त्री मोदीको सामाजिक सञ्जालमा यस्तो दबदबा छ कि उनको कोही विरोधी उनको बराबरीमा आउन सक्दैन ।

अमेरिकी अनुसन्धान संस्था प्यू रिसर्च सेन्टरका अनुसार भारतमा हरेक १० मध्ये ८ जनाले मोदीप्रति सकरात्मक धारणा राख्छन् । ५५ प्रतिशत मानिसले उनलाई निकै राम्रो मान्ने प्यूको अनुसन्धानको निश्कर्ष छ । अमेरिकामा जो बाइडेन र डोनाल्ड ट्रम्प दुबैले मोदीलाई न्यानो स्वागत गरेका थिए । तर प्युको अनुसन्धान अनुसार अमेरिकामा ३७ प्रतिशत मानिसले उनलाइ राम्रो मान्दैनन् । २१ प्रतिशत मानिस उनीबारे सकारात्मक छन् भने ४२ प्रतिशत मानिसले उनीबारे केही प्रतिक्रिया दिएका छैनन् ।

के आसन्न चुनावमा पनि मोदीको लोकप्रियता कायमै होला त ? समर्थकहरु भन्छन्-निसन्देह यो लोकप्रियता घट्ने छैन, लोकसभा चुनावमा भाजपाको भारी बहुमत आउँछ । यद्यपि फ्रान्सेली लेखक क्रिष्टोफ कुनै पनि लोकप्रिय नेता सधैँ अजेय नहुने बताउँछन् । यसका निम्ति उनले दुई उदाहरण दिएका छन् । पहिलो, ब्राजिलमा बोलसोनारोको हविगत, दोस्रो ट्रम्पको पराजय । उनी भन्छन्-‘यदि असमानता, गरिबी विभेद बढ्यो भने मानिसहरु सरकार फेर्नेबारे सोच्छन् । लोकतन्त्रमा यो कुरा सम्भव पनि छ । यदि कोही नेता जनताप्रति उत्तरदायी भएन भने त्यो लोकतन्त्र हुनसक्दैन ।’

कसले देला त मोदीलाई चुनौती ?

हालसम्मको स्थितिमा कुनै पनि नेता उनको लोकप्रियतालाई खतरा हुने गरी बलियो बनेका छैनन् । चुनावी रणनीतिकार प्रशान्त किशोरका अनुसार विपक्षी कमजोर हुँदा मोदीको अजेय छवि बढिरहेको छ । राहुल गान्धी कांग्रेसका शीर्ष नेता हुन् र मोदीलाई चुनौती दिनका निम्ति उनलाई नै अघि सारिन्छ । यद्यपि, दुई वटा आम चुनाव र बहुसंख्यक विधानसभा चुनावमा मोदीसामु उनको केही जोर चलेको छैन । यद्यपि, गान्धीले कर्नाटक, हिमाचल, तेलंगना जस्ता केही राज्यमा भने पार्टीका निम्ति जित दिलाएका छन् ।

ब्रान्ड निर्माणमा अनुभवी र प्रख्यात सन्तोष देसाइ भन्छन्-‘पिएम मोदीलाई चुनौती दिनका निम्ति राहुल गान्धीले इमान्दार कोशिश गरेका छन् । तर उनको केही जोर चलेको छैन । राहुल गान्धीमा नागरिकसँग जोडिने कुनै विशेष कुरा देखिएन । उनको कोशिशमा कुनै कमी छैन तर नतिजा ल्याउन भने उनले सकिरहेका छैनन् ।’

यद्यपि विश्लेषकहरुका अनुसार राहुल गान्धीले भारत जोडो यात्रा मार्फत गाउँ र आम मानिससँग जोडिने प्रयत्न गरिरहेका छन् । केही हदसम्म उनी सफल पनि भएका छन् । यता भाजपा भने त्यस यात्रालाई सडक नाटकका रुपमा पनि लिन्छ । तर यो अभियानले राहुलको छविमा निकै सुधार भएको मान्नेहरु पनि छन् ।

१४ जनवरीमा राहुलले भारत जोडो आन्दोलनको दोस्रो यात्रा सुरु गरेका थिए । अघिल्लो यात्राको तुलनामा यस यात्रामा उनले दोब्बर दूरी पार गरेका छन् । आम चुनावअघिको यस यात्राले आम मानिससँग जोडिनका निम्ति राहुललाई निकै मौका मिलेको कतिपयको बुझाइ छ ।

पाँच वर्षअघि दिल्लीको एक अनुसन्धान संस्थाको प्रतिवेदनले यदि मोदी बाहेक अरु कोही प्रधानमन्त्रीको उम्मेदवार हुन्थ्यो भने भाजापालाई बहुमत नमिल्ने देखाएको थियो । भारतको राजनीतिमा लाभ या त स्वनिर्मित वा पारिवारिक विरासत बोकेका मानिसले मात्रै उठाउन सक्छ ।

मोदीसँग मानिसहरुको लगाव गरिब परिवारबाट भएको उदयका कारण पनि रहेको छ । मोदीको सुरुआती जिन्दगी भविष्यमा उच्च राजनीतिक उचाइ लिने खालको थिएन । युवावस्थामा मोदी गुजरातमा पार्टीको सामान्य सदस्य मात्रै थिए । उनको निजी वेबसाइटका अनुसार मोदी पार्टी कार्यालयमा सहयोगी थिए ।

आरएसएसलाई संघ परिवारको अभिभावक संगठन मानिन्छ । भाजपा आरएसएसको एक अभिन्न अंग हो । मोदी आफ्नो अतीतबारे निकै कुरा गर्छन् । बालापनमा रेल्वे स्टेसनमा चिया बेच्ने गरेको उनको भनाइ छ । आखिर अरुभन्दा अलग देखाउने मोदीमा त्यस्तो के विशेषता छ जसले गर्दा उनी भीडबाट उठेर भारतकै शक्तिशाली व्यक्ति बने ?

शानदार वक्ता र राजनीतिक सो म्यान

समर्थकको आँखामा उनी जबरदस्त वक्ता हुन् । विरोधीहरु उनलाई भीडको लाभ उठाउन सक्ने मानिसका रुपमा हेर्छन् । तर दुबै पक्ष के मा सहमत छन् भने उनी आफूतर्फ भीडलाई मोहित पार्न सक्ने व्यक्ति हुन् । विरोधीहरुका अनुसार मोदी टेलिप्रम्टरको सहयोग विना नबोल्ने भएकैले भाषामा उनले विशिष्टता हासिल गरेका हुन् । राजनीतिक विरोधीहरु समेत उनको भाषण कलालाई शक्तिशाली मान्छन् ।

भारतीय कांग्रेसका नेता शशि थरुरले समेत मोदीको तारिफ गरेका थिए । मोदीको प्रशंसामा थरुरले भनेका थिए-‘प्रधानमन्त्री निकै असरदार भाषण गर्नुहुन्छ । नयाँ नयाँ नारा अघि सार्नुहुन्छ । कुनै सन्देह छैन कि एक वक्ताका रुपमा मोदी निकै शक्तिशाली हुनुहुन्छ ।’

मोदी साधारण कार्यक्रमलाई पनि निकै भव्य बनाइदिने क्षमता राख्छन् । अघिल्लो अक्टोबरमा प्रधानमन्त्रीले  दिल्लीमा नमो ट्रेनको सुरुवात गरेका थिए । त्यहाँ उनले ट्रेनमा यात्रा गरिरहेका मानिसहरुसँग संवाद गरे । बालबालिकासँग कुराकानी गरे, उनीहरुको समस्या बुझे । सन्तोष देसाइका अनुसार मोदी कुनै पनि कार्यक्रमबाट राजनीतिक लाभ लिन माहिर छन् । ‘जी-२० शिखर सम्मेलन हरेक सदस्य राष्ट्रले पालैपालो अध्यक्षता गर्ने सामान्य सम्मेलन हो । तर त्यस सम्मेलनलाई उनले निकै भव्य कार्यक्रमका रुपमा पेश गरे,’ देसाइ भन्छन् ।

विपक्षीका अनुसार सरकारले जी-२० सम्मेलनलाइ प्रधानमन्त्रीको निजी सफलताका रुपमा प्रचार गर्‍यो । तर भारत  जी-२० सम्मेलनको अध्यक्ष बन्नु सामान्य सिलसिला थियो । त्यस सम्मेलनलाई विरोध गर्दै विपक्षी नेताहरुले समेत राजनीतिक लाभ लिने कोशिश गरे । कांग्रेसका नेता जयराम रमेशले त जी-२० लाई मोदीले उच्चस्तरको नाटकमा परिणत गरिदिएको आरोप लगाए ।

मोदीको शैलीबारे मिसिगन विश्वविद्यालयका प्राध्यापक जोयोजित पाल भन्छन्, ‘दिल्ली मेट्रो श्रीधरनको कल्पनामा बनेको हामी सुन्छौँ । यदि यो मेट्रो अहिले बन्थ्यो भने परिकल्पनाकारको नामनिशानानै हुन्थेन । मेट्रो मोदीले बनाएको भनेर ढोल पिटाइन्थ्यो ।’

मोदी भाषणले मात्रै नभएर भेषभूषामार्फत पनि जनतासँग जोडिन खोज्छन् । कहिले उनी साधुको भेषमा हुन्छन्  कहिले उनी सैनिकको भेषमा हुन्छन् । अलग अलग क्षेत्रमा पुगेर उनी त्यहाँका भेषभूषा पहिरिन्छन्  र भीडलाई भावुक बनाइदिन्छन् । मोदी आक्रोशित भएर भन्दा पनि भावुक भएर मतदातालाई आकर्षित गर्छन् ।

आलोचकहरु समेत साधारण कार्यकर्ताबाट विश्वकै नेतासम्मको मोदीको सफरलाई असाधारण नै मान्छन् । तर यसको पछाडिको रहस्य निकै रहेको उनीहरुको मत छ ।

दर्शन देशाइ गुजरातका वरिष्ठ पत्रकार हुन् । मोदीलाई उनी पार्टीको साधारण कार्यकर्ता हुँदादेखि नै चिन्छन् । उनका अनुसार आफ्नो करियर मोदी एक्लैले निकै सतर्कतापूर्वक बनाएका हुन् । यो सफरको योजना उनी स्वयंले बनाएर आफूलाइ राजनीतिक ब्रान्डका रुपमा स्थापित गरेका हुन् । ‘मोदी निकै परसम्म सोच्छन् । प्रधानमन्त्री बन्ने सफरको योजना मोदीले निकै अघि तयार पारेका हुन् भन्ने मलाइ लाग्छ’, देशाइ भन्छन् ।

मोदी सन् २००१ देखि २०१४ सम्म तीन पटक गुजरातका मुख्यमन्त्री बने । उनले मुख्यमन्त्री सम्हालेको एक वर्षभित्रै गुजरातमा दंगा भयो । त्यस दंगामा एक हजार भन्दा बढी मानिस मारिएका थिए र अधिकांश मुसलमान थिए । यो दंगा रोक्न मोदीले पर्याप्त कदम नचालेको आरोप उनीमाथि छ । भारतको सर्वोच्च अदालतले उनलाई दोषी समेत ठहर गरेको थियो । दर्शन देशाइका अनुसार आफूलाई विवादित बनाउने यस मुद्दाबाट पन्छिनका निम्ति मोदीले गुजरातको जनतामाझ गौरवपूर्ण छवि निर्माण गर्न लागि परे  । ‘दंगा पछि सिधै जनताकोमा पुगेर यो सवाल गुजरातको इज्जतको सवाल हो र यो हमला गुजरातप्रतिको हमला हो भन्दै उनी जनताकोमा पुग्न थाले’, देशाइले भनेका छन् ।

छवि सुधारको योजना

सन् २००३ देखि उनले छवि सुधारको योजनामा आफूलाइ केन्द्रित गरे । यसमा उनले विभिन्न अभियान चलाए । त्यसमध्येको एक हो भाइव्रेन्ट गुजरात । दुनियाँभरका लगानीकर्तालाई रिझाउँदै गुजरातमा ल्याउने अभियान उनले थालेका थिए । मिसिगन विश्वविद्यालयका प्राध्यापक जोयोजित पालका अनुसार दंगा अघि उनले आफ्नो छवि हिन्दु हृदय सम्राटको बनाएका थिए । त्यसपछि उनले आफ्नो पृथक ब्रान्डिङ सुरु गरे । ‘मोदीले ल्याएको नाराबाट उनलाई  धेरै राजनीतिक लाभ मिल्यो’, उनी भन्छन् ।

सन् २००३ मा भाइब्रेन्ट गुजरात सम्मेलनबाट उनले गुजरातमा परिवर्तन ल्याएपछि आफ्नो छविमा निखार आउने सोचेको दर्शन देशाइ बताउँछन् । प्राध्यापक पाल भन्छन्, ‘सुपरस्टार अमिताभ बच्चन गुजरातको प्रचारमा लागे । त्यसपछि उद्योगपति रतन टाटा त्यहाँ पुगे । त्यसपछि नारायण मुर्ती पनि गए ।’

यसपछि उनको सर्वस्वीकार्यता बढ्दै गयो ।

मिडिया व्यवस्थापन

मोदी मिडिया व्यवस्थापनमा पनि उत्तिकै माहिर छन् । मुख्यमन्त्री हुँदा मोदीले पत्रकारको प्रश्नको जवाफ नदिएको भन्दै आलोचित हुनुपरेको थियो । प्रधानमन्त्री भएपछि समेत उनले सायदै पत्रकार सम्मेलन गरेका छन् । दर्शन देशाइ भन्छन्, ‘मुख्यमन्त्री हुँदा मोदीले मिडियाको हर तरिकाले उपयोग गरे । आज पनि उनले शानदार रुपमा मिडिया व्यवस्थापन गरिरहेका छन् । मिडिया नै मोदीप्रति यति बफादार भइसके कि मोदी जे चाहन्छन् मिडिया त्यही गर्छन् ।’

आलोचकहरुका अनुसार उनको राजमा प्रेस स्वतन्त्रता छैन । पत्रकारहरु मोदीको विरोध गर्नेवित्तिकै ट्रोलमा पर्छन् । स्वतन्त्र र निर्वाध रुपमा काम गर्दा पत्रकारहरु गिरफ्तारमा समेत परेका छन् । विश्व प्रेस स्वतन्त्रताको सूचकाकमा भारतको स्थान लगातार गिर्दो छ । रिपोर्टस विदवाउट बोर्डर्सका अनुसार १८० देशको सुचीमा भारत १५० बाट तल झर्दै १६१ औं स्थानमा आइपुगेको छ  ।

यद्यपि मोदी सरकारले फ्याक्ट चेकका लागि एक इकाइ स्थापना गर्ने घोषणा भने गरेको छ । यसको उद्देश्य सामाजिक सञ्जालमाथिको निगरानी हो । यद्यपि पत्रकारहरु यसको माध्यमबाट सरकारले सेन्सरसिपको दायरा बढाउन लागेको भन्दै चिन्तित छन् । भारतीय मिडिया भाजपाले शासन नगरेका राज्यमा पनि उत्पीडनको शिकारका छन् । विगतमा पनि मिडिया खराब स्थितिबाट गुज्रिएकै थियो । इन्दिरा गान्धीको काल पनि मिडियाका लागि सु:खद थिएन ।

प्रधानमन्त्रीको उम्मेदवारका रुपमा परिवर्तन

सन् २०११ को आसपासमै मोदीले भाजापाबाट प्रधानमन्त्रीको रुपमा आफूलाइ पेश गर्ने तयारीमा थिए । मोदीका राजनीतिक गुरु लालकृष्ण आडवाणीलाई भारतमा हिन्दुत्वको सबैभन्दा अग्र अनुहारका रुपमा हेरिने समयमा उनका लागि यो कदम निकै चुनौतीपूर्ण थियो । उनलाई पनि यो विषयको ज्ञान  थियो । तर मोदीले सुसुप्त रुपमा आफ्नो राजनीतिक ब्रान्ड बनाउन लागि परे ताकि आडवाणीको विकल्पका रुपमा उनलाई पार्टीले स्वीकार गर्न सकोस् ।

प्रधानमन्त्रीका रुपमा आफ्नो इमेज बनाउनका लागि उनले यस्ता भिडियो र तस्वीरको प्रचार गरेका थिए कि तिनले उनलाई बलिया  नेताका रुपमा पेश गरेको थियो । मोदीले शान्तिलाई बढावा दिँदै प्रविधिलाई पनि अँगाल्ने नेताका रुपमा आफ्नो छवि बनाउन थाले । मुख्यमन्त्रीमा सफल मोदीलाई प्रधानमन्त्रीको ब्रान्डका रुपमा कसरी स्थापित गर्ने भन्ने कुरा उनको ब्रान्डिङमा लागेकाहरुका निम्ति टाउको दुखाइ बनेको थियो । क्रिएटिभ डाइरेक्टर प्रल्हाद कक्कड भन्छन्, ‘हाम्रो पेसा एउटा नेतालाई राजनेताका रुपमा चित्रित गर्नु थियो । कुनैपनि राज्यको मुख्यमन्त्री नेता हो राजनेता होइन । एउटा राज्यको नेतालाई सिंगो मुलुकले चिन्छ भन्ने नै हुँदैन ।’

प्रल्हाद कक्कड प्रधानमन्त्रीको उम्मेदवारका रुपमा मोदीको ब्रान्डिङ अघि नै उनको टोलीको हिस्सा थिए । त्यसबेला उनले गुजरात मोडलको प्रचार गरेका थिए । कक्कड भन्छन्, ‘मानिसहरुलाई उनले गुजरातलाई दिएको उचाइ र त्यही मोडलको आधारमा उनले गर्नसक्ने मुलुकको विकासबारे जानकारी गराउनु थियो ।’

मोदीले प्रधानमन्त्री बन्ने तय गरेपछिनै गुजरात मोडलको सबैभन्दा बढी प्रचार गरिएको थियो । प्राध्यापक जयोजित पलका अनुसार सन् २०१४ को चुनाव प्रचार सुरु भएसँगै नरेन्द्र मोदी राष्ट्रिय ब्रान्ड बनेका थिए ।

सामाजिक सञ्जालको उच्चतम उपयोग

विश्वका नेतामध्ये मोदीलाई फेसबुक, युट्युब, इन्स्टाग्राममा पछ्याउनेहरुको संख्या निकै ठूलो छ । मिसिगन युनिभर्सिटीका प्राध्यापक जोयोजित पालले ब्रान्ड मोदीलाई अघि बढाउन सामाजिक सञ्जालको प्रमुख भूमिका रहेको बताउँछन् । यसका निम्ति  पालले २००९ देखि सन् २०१५ सम्म मोदीको ६ हजार ट्वीटको विश्लेषण गरेका छन् । ‘ब्रान्ड बनाउने बेला मोदीलाई उनले सबै काम गर्न सक्ने व्यक्तिका रुपमा चित्रित गरियो । मनको कुरा बुझ्ने, योग गर्ने राजनीतिक भाषण गर्ने, मिहिनेत गर्नसक्ने देशलाई अघि बढाउन र सम्पन्न बनाउने कुरा उनीबाट मात्रै सम्भव रहेको भन्दै ब्रान्डिङ गरियो ।’

प्राध्यापक क्रिष्टोफ जेफर्लो भन्छन्, ‘सामाजिक सञ्जालले नै मोदीलाई भारतको प्रधानमन्त्री बनायो भनेर यकिन त गर्न सकिँदैन तर मोदी प्रधानमन्त्री बन्न सामाजिक सञ्जालको विशेष भूमिका भने छ । अमेरिका ट्रम्प र हंगेरीमा भिक्टर ओरबान र ब्राजिलमा बोलसोनारोले पनि जनतासँग जोडिन सामाजिक सञ्जाललाई सटिक हतियार बनाएका थिए ।’

‘सामाजिक सञ्जालमा मोदीको सुरुवात अर्कुटदेखि भएको  थियो । यो सामाजिक सञ्जाल अहिले बन्द भइसकेको छ । ट्वीटरमा आएसँगै मोदीले जनतासँग सिधा कुरा गर्न थाले । मोदीको ट्वीट पढ्ने मान्छेहरुलाई यस्तो लाग्थ्यो कि उनीहरु सिधै आफ्नो आवाजमा मोदीसँग कुराकानी गरिएका छन्’, पाल भन्छन् ।

आफ्नो अनुसन्धानबाट पाल मोदी तीन चरणमा बलियो ब्रान्ड बनेको निष्कर्षमा पुगेका छन् । पहिलो चरणमा आफ्नो नाम र स्वीकार्यता बढाउन उनले उद्योगपति र सेलिब्रेटीको प्रयोग गरे । दोस्रो चरणमा उनले आफ्नो सरकारको प्रचार सुरु गरे ।  स्वच्छ भारत, डिजिटल इन्डिया र बेटी बचाऔँ जस्ता अभियान सामाजिक सञ्जालमा चलाए ।

यस बखत सामाजिक सञ्जालको प्रयोग व्यक्ति र पार्टीका लागि मात्रै नभएर मुलुकको फाइदाका लागि पनि प्रयोग गर्न सकिन्छ भनेर देखाउन खोजिएको थियो । मोदीले जे काम गर्छन् त्यो मुलुकको हितका निम्ति गर्छन् भन्ने भान आम मानिसमा पार्न खोजेका थिए ।

ब्रान्डलाई तेस्रो पटक प्रवर्द्धन गर्ने क्रम सन् २०१९ देखि सुरु भयो । त्यसबेला मोदीले आफ्नो तागत देखाउन सुरु गरे । उनी अब पुरानो मोदी रहेनन् । उनी भनिरहथे, ‘यो मुलुक म विना चल्न सक्दैन र म विना यो मुलुक सुरक्षित छैन ।’

प्राध्यापक पालका अनुसार ब्रान्ड मोदीको अभियान लगातार जारी रहन्छ । यो अन्तहीन सिलसिला हो । ‘पछिल्लो चार पाँच वर्ष उनलाई विश्व गुरुको ब्रान्डका रुपमा प्रचार गर्न सुरु गरिएको छ । विश्वभरका नेताले उनीसँग कुरा गरेको देखाइन्छ । मोदीले आम नागरिकको गुरु भएझैं विश्वकै गुरु बन्न सक्ने खुबी आफूमा भएको देखाउन खोजेका छन् । २०२४ को चुनावमा ब्रान्ड प्रवर्द्धनको नयाँ शृङ्खला देख्न पाइनेछ’, पाल भन्छन् ।

ब्रान्ड मोदीका कमजोरी

भारतमा धेरै मानिस मोदी पार्टीभन्दा पनि बलियो भएको मान्छन् । ‘यदि राजनीतिक परिदृश्य हटाउने हो भने भाजपा केही पनि होइन । भाजपाका नीति मोदीका नीति हुन् । मुख्यमन्त्री हुँदा उनले मुख्यमन्त्री कार्यालयमा नीति बनाउँथे  । आज प्रधानमन्त्री छन् । प्रधानमन्त्री कार्यालयमा नीति बनाउँछन् । आज मोदीलाइ पार्टीको जरुरी छैन । बरु पार्टीलाई उनको जरुरी छ’, पत्रकार सन्तोष देशाई भन्छन् ।

सन्तोष देशाईको भनाइमा मोदी आफ्नो क्याबिनेट र पार्टी दुबैमा सबै नेताभन्दा माथि मानिन्छन् । ‘क्याबिनेटमा उनी अलगै बस्छन् । यस्तो लाग्छ कि बाँकी नेता उनका अनुयायी हुन् । मोदीले म तिमीहरुको नेता हुँ र सबैभन्दा बढी मैले नै जानेको छु भन्ने भान पार्न खोजेका छन्’, देशाई भन्छन् ।

प्रोफेसर जैफर्लो मोदीको यो विराट व्यक्तित्वले पार्टीलाई छायाँमा पारेको बताउँछन् । ‘मोदी लोकप्रिय भएपनि पार्टी लोकप्रिय छैन । भाजपा अहिले मोदी जस्तो अर्को ब्रान्ड बनाउने स्थितिमा पनि छैन । आज मोदीनै भाजपा हुन् । ६० र ७० को दशकमा इन्दिरा गान्धीले पनि यस्तै गरेकी थिइन् । यसले कंग्रेसलाई निकै नोक्सान समेत पुर्‍याएको थियो । भाजपा पनि त्यही बाटोमा हिँडिरहेकाले मोदीपछि को भन्ने सवाल जरुर आउनेछ’, उनले भनेका छन् ।

मोदीपछि को भन्ने कुरा कसैलाई पनि थाहा छैन । अहिलेसम्मको स्थितिमा भाजापाले मोदीपछिको राजनीति सोचेकै छैनजस्तो लाग्छ ।  चुनावी रणनीतिकार प्रशान्त किशोर भने भाजपासँग विशेष तागत रहेको मान्छन् । ‘भाजपाले बारम्बार जित्ने स्थिति हिन्दुत्वको विचारधाराले सम्भव भएको हो । मोदीलाई हिन्दुत्वको नामबाट भोट दिन्छन् । दोस्रो तागत भनेको नवराष्ट्रवाद वा  उग्र राष्ट्रवाद हो । तेस्रो भनेको सरकारी योजना सिधै लाभग्राहीसम्म पुर्‍याउने काम हो’, उनले भने ।

मोदीसँग अनेकौं योजना छन् जुन मार्फत उनी करोडौं नागरिकसँग पहुँच बनाइरहेका छन् । मोदीले ८० करोड नागरिकलाई निशुल्क अनाज पुर्‍याएका छन् भने यस्ता  अन्य कल्याणकारी योजनाबाट मोदीले आफूलाइ बलियो ब्रान्ड र तागतका रुपमा पेश गरिरहेका छन् ।

एकपटक हरियाणाका एक मन्त्रीले मोदीको ब्राण्ड महात्मा गान्धीको भन्दा बढी रहेको चर्चा गरेका थिए । मोदी नयाँ आत्मनिर्भर भारतको निर्माताका रुपमा आफूलाई चिनुन् भनेर चाहन्छन् । नेहरु आधुनिक भारतको निर्माता भएझैँ आफू आत्मनिर्भर, आत्मविश्वास र समृद्धिले भरिपूर्ण भारतको निर्माता बन्ने चाहना उनमा छ । मुम्बई र दिल्लीमा भइरहेका काममार्फत मोदीले जनतामाझ आफ्नो नयाँ छाप छोड्न चाहेको भान हुन्छ ।

निसन्देह मोदीको विरासत एक शक्तिशाली नेताका रुपमा अघि बढिरहेको छ । आउने समयमा पनि यसले निरन्तरता नै पाउने छ । तर सबैभन्दा ठूलो प्रश्न के छ भने उनको विराट विरासतले भारतलाई कुन मोडमा पुर्‍याउला ? एक अर्ब ४० करोड जनसंख्या रहेको भारतमा जातीय, धार्मिक भाषिक र सामाजिक विविधता समेत छ । यसको हालत के होला ? कोही कोही त भारतको अनेकता र विविधता बिग्रिसकेको मान्छन् । कोही भन्छन् मोदीले देशलाई शक्तिशाली मुलुकका रुपमा उभ्याउनेछन् जसका लागि भारत लामो समयसम प्रतीक्षा गरिरहेछ ।

बीबीसी हिन्दीमा प्रकाशित जुबैर अहमदको समाचार सामग्रीको अनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?