+
+
जगदीश घिमिरेसँगको अप्रकाशित अन्तर्वार्ता :

नेपालका साहित्यिक पुरस्कारहरूको चर्चै पनि कति हुन्छ र ?

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८० फागुन १६ गते ६:११

लेखन र बोलाइमा स्पष्ट, आफ्नो समयदेखि पछिसम्म पनि लेखनको प्रभाव छाडेका नेपाली साहित्यका सामर्थ्यवान् साहित्यकार हुन् – जगदीश घिमिरे। उनीसँग मैले (ज्योतिश्री) पत्रिकाको लागि तीसको दशकमा अन्तर्वार्ता लिएको थिएँ। त्यो मेरो साहित्य लेखनको सुरुवातको समय थियो । साहित्यिक अन्तर्वार्ताहरु पढेर, अन्तर्वार्ता लिने फुरफुरले लिएको थिएँ। उनका केही रचना पढेको थिएँ र चिनाजानी भइसकेको थियो। त्यो अन्तर्वार्तामा मैले लिखित प्रश्न दिएर उत्तर लिएको थिएँ । आमनेसामने बसेर गरिएको प्रश्नोत्तर थिएन त्यो ।

त्यसपछि मैले सन् २०१० मा यौटा पुस्तकै बनाउने हेतुका साथ इमेलमा अन्तर्वार्ता लिने विचार गरें र प्रश्न पठाएँ। उनले जवाफ पठाए। त्यसको केही दिनमा संशोधित जवाफ पठाए। तेस्रोपल्ट पनि संशोधित जवाफ पठाए। अनि मलाई लाग्यो, यसरी त मेरो योजना सफल हुन्न। ५।५ प्रश्न पठाएर यो सिलसिला अघि बढाउने मेरो योजना थियो। तर उनको जवाफ संशोधनले मेरो उत्साह सेलायो। मैले दोस्रो किस्ताको प्रश्न पठाइनँ। उनले पनि कुनै खोजखबर गरेनन्। उनले शायद पछि बिर्सिए। मैले पनि बिर्सिएँ। तर अचानक उनको इमेलमा पहिलो किस्ताको ५ प्रश्नको जवाफ फेला पर्‍यो ।

हुनत उनी अस्वस्थ भएको वेला मैले फेरि अन्तर्वार्ताको सिलसिला सुरु गरेको थिएँ।  उनले जवाफ दिन थालेका थिए। तर किमो दिएको बेला भएकोले थप उत्तर दिन नसक्ने बताएर त्यो सिलसिला स्थगित भयो। त्यसको केही समयपछि त उनी गइहाले। त्यो अन्तर्वार्ता संभवतः उनीसँगको अन्तिम-अन्तिम अन्तर्वार्ता थियो कि १ त्यो चाहिं प्रकाशित भइसक्यो। अप्रकाशित बाँकी रहेको यो ५ प्रश्नको उत्तर पाठक, अध्येता र उनीप्रति रुचिराख्ने सबैका लागि प्रस्तुत छः

हालसालै एउटा पत्रिकामा तपाईंले बुद्धिसागरको कर्नाली ब्लुज पढ्दैछु भन्नुभएको थियो। तपाईंको पुस्ता र बुद्धिसागरको पुस्ता बीच हाम्रो पुस्ता छ। यस हिसाबले हेर्दा आफूभन्दा दोस्रो पुस्तापछिको नवीन पुस्ताका भाइले लेखेको उपन्यासलाई तपाईंको सटिक टिप्पणी गर्न सक्षम पाठक वा टिप्पणीकारले कुन रुपमा ग्रहण गर्योे ?

कविको रूपमा परिचित बुद्धिसागरको उपन्यास कर्नाली ब्लुज हालसालै आएका कतिपय उपन्यासभन्दा यथार्थपरक छ। भाषा सरल छ। शैली सरस छ। यसमा कर्नालीको आञ्चलिकताको पृष्ठभूमिमा एक निम्नवर्गीय-मध्यमवर्गीय परिवारको बालखकालदेखि किशोरावस्थासम्मको छोराले देखेको बाबुको संघर्षको कथा छ। समग्रमा यो राम्रो उपन्यास हो। छोटो अवधिमा यसबारे निकै टिप्पणीहरू आए। तीमध्ये नयनराज पाण्डेको कान्तिपुर मा छापिएको समीक्षासँग म बढी सहमत छु।

एउटा पुस्तक सफल हुने लक्षण के हो अनि यौटा लेखक सफल हुने उपाय ?

सफलताको मानक के हो ? बिक्री ?चर्चा ? ख्याति ?पुरस्कार ?  पाठकको श्रद्धा ?  समालोचकहरूको प्रशंसा रु पाठ्यक्रममा समावेश हुनु ? विद्यावारिधिको पात्र हुनु ?  राज्यबाट विदेशी निम्तामा मनोनयन हुनु ? पदप्राप्ति (एकेडेमी वा साझा जस्ता सरकारी संस्थामा)  ? अचेल बाक्लै हुने दल र सरकारका पदधारीहरूको चियापानमा निम्ता पाउनु ? प्रमुख आतिथ्य रु अथवा यी सबैको सम्मिश्रण ? हरेक मानकबारे लामै कुरा लेख बन्छ।

हरेक लेखक सफल हुन चाहन्छ। ऊ आफ्ना हरेक कृति सफल बनाउन चाहन्छ। सफलताको सरल सूत्र छैन। रेडिमेड सूत्रले हुने भए कुनै पनि कृति, लेखक वा व्यक्ति असफल हुने थिएन।

सफल लेखक हुनको लागि जीवन र जगतका आयामको अध्ययन, चिन्तन, मनन, अनुभव, अध्यावसाय र लेख्ने सीप त चाहिन्छ नै, परिस्थिति पनि अनुकूल हुनुपर्छ।

कुनै लेखकको कृति पुरस्कृत नभएर लेखकलाई के फरक पर्छ, बीपी कोइरालाका कुनै कृति पनि कहिल्यै पुरस्कृत भएनन् ?

फरक पर्छ। जस्तो अहिले तपाईंले नै त्यो कुरा उठाउनुभयो। फरक नपर्ने भए यो चर्चा आवश्यक हुने थिएन। बीपी कोइरालाले तपाईंको विचारमा पाउनुपर्ने पुरस्कार पाएको भए पनि तपाईं अर्को नपाएको स्रष्टाको नाम लिन सक्नुहुन्थ्यो। यस विवादको अन्त्य छैन। त्यो त्यस परिवेशको प्रतिष्ठित पुरस्कार हो भने त्यो पाएको र नपाएको भन्ने कुरा हुन्छ। नेपालमा मात्रै होइन संसारैमा कति पाउनै पर्ने व्यक्ति र कृतिले पुरस्कार पाएका हुँदैनन्। कति नपाउनु पर्नेले पनि पाएका हुन्छन्। महात्मा गान्धीले नोबेल शान्ति पुरस्कार पाएनन्, युद्धरत सरकार प्रमुख बेलायती प्रधानमन्त्री चर्चिलले पाए। पाउनुपर्नेले पाएन भने पनि र पाउनु नहुने पायो भने पनि पुरस्कार आलोचित हुन्छ। कुनै पनि पुरस्कार पूर्णतस् विवादरहित हुँदैन। पुरस्कारले कृति वा स्रष्टालाई सो पुरस्कारको औकात अनुरूप प्रतिष्ठित तुल्याउँछ जसका गुण र दोष दुवै हुन्छन्।

नेपालमा हाल विद्यमान पुरस्कार गुठीहरु अधिकांश लेखक वा कृतिलाई पुरस्कृत गर्नभन्दा गुठियारले आफूलाई चर्चामा ल्याउन र आफू केन्द्रविन्दुमा रहनका लागि स्थापना गरिएको आरोप लाग्ने गरेको विषयमा तपाईंको धारणा के हो ?

जो पनि चर्चा त चाहन्छ नै। लेखकले पनि चर्चामा आउन लेख्ने हो। समस्त कलाको मूल लक्ष्य आत्मप्रकाशन हो। लेखन कला हो। आत्मप्रकाशन नचाहने कलाकार हुँदैन। गुठियारले पैसा दान गरेर चर्चामा आउन चाहेकै हुन् भने पनि उनीहरूको चाहना स्वाभाविक हो।

मूल कुरा के हेर्नुपर्छ भने पुरस्कारको स्थापना र संचालन गर्नेहरुले संस्थाको घोषित लक्ष्य अनुरूप न्याय गरेका छन् कि छैनन् रु छन् भने उनीहरू जति चर्चामा आए पनि हुन्छ। जति केन्द्रविन्दुमा रहे पनि हुन्छ ।  नोबेल प्राइज विश्वव्यापी चर्चामा छ । न्याय गर्छ भने चर्चा हुँदैमा के बिग्रन्छ र ?

नेपालका साहित्यिक पुरस्कारहरूको चर्चै पनि कति हुन्छ र ? जीवा लामिछानेले केही वर्षदेखि आफ्नो गोजीबाट दिन थालेको पद्मश्री पुरस्कार हाल डेढ लाख रुपैयाँको छ। नेपाली साहित्यको लागि दिइने यो ठूलो पुरस्कार हो। यस वर्ष त्यसको वितरणको समाचारका लागि प्रमुख छापा र संचारहरूले एक दुई कालममा एक सय शब्दभन्दा बढी खर्च गरेनन् होला। हाम्रा संचारमाध्यमहरूको प्राथमिकतामा यस्ता कुरा पर्दैनन् । संचारमाध्यममा त्योभन्दा धेरै बढी चर्चा नोबेल पुरस्कार पाउनेहरूको भयो । हाम्रा संचारमाध्यमहरूको प्राथमिकतामा नेपालका प्रतिष्ठित साहित्यिक पुरस्कार र गतिविधिहरूभन्दा बढी साँढे जुधेको जस्ता कुरा पर्छन्।

हालै रोटरीले हरेक दुई वर्षमा दशलाख रुयैयाँ नेपालको सबभन्दा ठूलो धनराशिको पुरस्कारको घोषणा गरेको छ। ठूला छापाहरूले त्यसलाई खासै महत्व दिएनन् । यौटा छापा राजधानी दैनिकले मात्र केही महत्व दिएर छापेको पढें। गोपाल(कमला राजभण्डारी रोटरी अवार्डु नामक सो पुरस्कारको न्यायपूर्ण सम्पादन हुने हो भने त्यसका लगानीकर्ता, संस्थापक वा गुठियारहरू चर्चामा आउनु जाति नै हुन्छ।

कहिलेकाहीं तपाईंले लेख्न खोजेको विषयले भाषा वा शैली नभेटेको घटना व्यहोर्नुभएको छ, त्यस्तो वेलामा के गर्नुहुन्छ ?

सबै कला र तिनको माध्यमका सीमा हुन्छन्। शब्दका सीमा हुन्छन्। सबै विधाका सीमा हुन्छन्। भाषा र शैलीका पनि आफ्नै सीमा हुन्छन्। तिनको परिधिभित्र रहेर नै सिर्जना गर्ने हो। सक्षम लेखकले तिनको परिधि फराकिलो पनि पार्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?