+
+

अमेरिकामा नेपाली संगीतको रोयल्टी संकलन अभियान

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १४:०८

काठमाडौं । अमेरिकामा नेपाली संगीतको रोयल्टी संकलन अभियान सुरु भएको छ । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गर्दै आएका नेपाली कलाकारले यस्तो अभियान थालेका हुन् ।

फिल्म निर्देशक गोपालचन्द्र लामिछानेले पहिलोपटक आफ्नो पुनर्विवाह समारोहमा बजाइएका गीत-संगीतको रोयल्टीबापत १५० डलर उपलब्ध गराएका थिए । अभिनेत्री राधा लम्साल (भावु)ले लोकगायक प्रेमराजा महतमार्फत अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)लाई उक्त रकम प्रदान गरेकी थिइन् ।

इनास अमेरिकाका अध्यक्ष राहुल केसी, कलाकारहरु राजबल्लभ कोइराला, ऋचा घिमिरे, उषा पौडेल, अरुणिमा लम्साल, लक्ष्मण पौडेल, सिर्जन ताम्राकार, कन्हैया सिंह परियार, अञ्जना गुरुङ, मनिष शर्मा, आभा मुकारुङ, प्रवेश उप्रेती, उद्धव भट्टराई, शंकर घिमिरे, बाबुराम ढकाल, दिनेश कार्की, सुमन दाहाल, पूर्णसिंह बराइली र विश्व पौडेलको रोहवरमा उक्त रोयल्टी रकम प्रदान गरिएको घोषणा गरियो ।

अभियान थालनीलगत्तै नमस्ते इभेन्टका सीईओ रमेश श्रेष्ठले प्रत्येक कार्यक्रमबापत ५० डलर रोयल्टी प्रदान गर्ने घोषणा गरेका थिए । ‘प्रवासमा नेपाल जोड्ने काम फिल्म र संगीतले गरेको छ,’ लामिछानेले भने, ‘५० डलरको अभियान चलेपनि ५० हजार डलर संकलन हुन्छ ।’

नेपालीले सञ्चालन गरेका चार-पाँच सय रेस्टुरेन्टबाट रोयल्टी संकलन गर्न सकिए, राम्रो हुने उनले उल्लेख गरे । अमेरिकास्थित फेमिली किचनमा वर्षमा सयभन्दा बढी इभेन्ट हुने, यी कार्यक्रममा नेपाली गीत बज्ने र रोयल्टी संकलनको लागि यो राम्रो माध्यम हुने लामिछानेले उल्लेख गरे । ‘यो आवाज र अभियान हो । यसबाट अन्य मुलुकका नेपाली डायस्पोरालाई पनि प्रेरणा हुन्छ,’ उनले भने ।

मेरिल्याण्ड र पेन्सिलभेनिया राज्यका अवैतनिक महावाणिज्यदूत तथा लोकगायक महतले रोयल्टी संकलनको यो अभियानलाई अमेरिकाव्यापी बनाउने बताए । ‘हामी टिम बनाएर जतिसक्दो चाँडो ५० राज्यमा पुर्‍याउँछौं,’ उनले भने, ‘यसका लागि म नेपाल सरकारसँग सहकार्य गरेर काम गर्न तयार छु ।’ महतलसँग यसबारे अनलाइनखबरले संक्षिप्त कुराकानी गरेको छ ।

अमेरिकामा नेपाली संगीतको रोयल्टी संकलन गर्दै प्रवर्द्धन गर्न कसरी काम गर्नुहुन्छ ?

लोकगायक प्रेमराजा महत । फाइल तस्वीर

संगीतलाई प्रवर्द्धन गर्न विश्वव्यापी रुपमा लडेर हिंडेकै छु । निर्देशक भाइ गोपालचन्द्र लामिछानेले सिड्मनी दिएर रोयल्टी संकलनको जुन काम थाल्नुभयो, यसले मलाई प्रेरणा दिएको छ । अमेरिकामा डिजेले हजारौं कार्यक्रम गरेर हाम्रो गीत बजाउँछन् । मान्छेलाई नचाएर आफ्नो पारिश्रमिक त लिन्छन् तर स्रष्टाले रकम पाउने कुरा हुँदैन । यदि उहाँहरुले ५०-१०० डलर पनि दिनुभयो भने अमेरिकाबाट मात्रै लाखौं डलर उठ्ने देखियो । अब प्रत्येक राज्यमा रोयल्टी संकलनको कार्य हामीले लागू गर्दैछौं । यो अचम्मै राम्रो सोच हो । कलाकारले थोरै पैसा भएपनि पाउन सक्ने सुरुवात यहाँ भयो । म अहिले दुई राज्यको महावाणिज्यदूत छु । अरु राज्यमा पनि मेरो सम्बन्ध राम्रो हुने भएकाले यो विषयमा कुरा उठाएर ५० वटै राज्यमा लैजानेतर्फ पहल गर्छु । लामिछाने भाइको नेतृत्वमा एउटा टोली बाल्टिमोर मेरिल्याण्डमा खडा गर्दैछौं ।

 रोयल्टी संकलनको यो अभियानलाई कसरी लिनुहुन्छ ?

हामीले धेरै हिट गीतहरु गायौं । हामीले खास पैसा लिएनौं । पाएका पनि थिएनौं । फलानो गीत गाएर फलानो हिट भयो भन्छन्, यति पैसा कमायो भनेर अन्दाजमा ठोकिदिन्छन् मान्छेले, आफूले पाँच रुपैयाँ पाएको होइन । युट्युब नआउँदासम्म म्युजिक नेपालले एउटा क्यासेटको ३ सुका, ३ मोहर, २ रुपैयाँ दिने गर्थ्यो । त्यसो गर्दा खर्च उठ्ने थिएन । अहिले आएर युट्युबबाट दुई-चार पैसा खातामा आउँछ ।

धेरै हाम्रा गीत संसारभर बज्छन् । तर नचाउने सर्जक र कलाकारले पैसा फिर्ता पाएको रेकर्ड छैन । हाम्रो पछिल्लो गीत ‘बन्दीपुरैमा’लाई धेरैले हेर्नुभएको छ । धेरै ठाउँमा हुने पार्टीमा यो गीत बज्छ । तर यो पार्टीबाट दुई-चार सय आयो भनेर थाहा पाएका पनि छैनौं । यो सोचबाट हामीले अमेरिकामा रोयल्टी संकलन गरेर नेपाल पठाउने ब्यवस्था गर्न सक्यौं भने यहाँबाट लाखौं डलर उठने देखेका छौं । यसलाई कार्यान्वयन गर्न थालेका छौं ।

अमेरिकामा नेपाली फिल्म र संगीतको प्रवर्द्धनका लागि तत्काल कस्ता काम गर्दै हुनुहुन्छ ?

इनास भन्ने संस्था ५० वटै राज्यमा खडा भएको छ । मैले यहाँ कलाकारको संरक्षकको हिसाबले काम गरेर बसिराखेको छु, उहाँलाई जिम्मेवार बनाउनेतर्फ काम हुन्छ । एकजनाले मात्र हुँदैन, सबै राज्यमा बसोबास गर्नेहरुले यो काम गर्नुपर्छ । बिहेबारी, नाचगान हुने ठाउँबाट पैसा उठाउन सकिन्छ । कलाकार पनि खुसी हुने र आयोजक पनि खुसी हुने भूमिका चाहिं म खेल्छु ।

वासिङ्टनस्थित नेपाली नियोगले ‘सांस्कृतिक कूटनीति’मा सक्रियता जनाउन सकिरहेको देखिएको छैन । संस्कृति प्रवर्द्धनका लागि सरकारी नियोगले कसरी काम गर्नुपर्छ ?

संस्कृतिको क्षेत्रमा काम गरौं भनेर प्रस्ताव लैजाँदा दूतावासबाट पैसा छैन भन्ने कुरा निस्किन्छ । नेपाल सरकारबाट मैले पैसा नलिएर पनि नेपाली संस्कृति प्रवर्द्धन गर्न म विभिन्न ठाउँमा गइरहन्छु । अमेरिकाको राष्ट्रिय खाना महोत्सवमा मैले तीनपटक एसियाको प्रतिनिधित्व गरेर भव्य कार्यक्रम पनि गर्‍यौं । अहिले पनि म हिंडिरहन्छु । नेपालको संस्कृति, संगीत र नाचलाई विस्तृत गर्ने मौका पाएका छौं । व्यक्तिगत रुपमा भएपनि संस्थागत रुपमा गर्न सकिएको छैन । अब रोयल्टी संकलनबाट यस्तो काम गर्न खर्च पनि हुनसक्छ । यसका लागि सरकारसँग सहकार्य गरेर काम गर्ने विश्वास दिलाउन तयार छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?