+
+

फुटबल खेलाडी अञ्जिलाबारेको फिल्मको पोस्टर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १३:२४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बापो सुब्बाबारेको फिल्म ‘अञ्जिला’को पोस्टर सार्वजनिक भएको छ । प्रदर्शन मिति भने तय गरिएको छैन ।

निर्माण कम्पनी मुनलभ इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा शुक्रबार पोस्टर ल्याएको हो । फस्टलुक पोस्टरमा दयाहाङ राई र तुम्बापो स्वयं फिचर्ड छन् । तुम्बापोको यो डेब्यु फिल्म समेत हो ।

पोस्टरमा उनको चरित्र चित्रण छ । डोको र फुटबल बोकेर हिंडेको दृश्य पोस्टरमा देख्न सकिन्छ । निर्देशक मिलन चाम्सले फिल्ममा अञ्जिलाको बाल्यकालदेखि राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको वर्तमान समयसम्मको घटनाक्रमलाई चित्रण गरिएको बताए । ‘यो बायोपिक नभएर केही निश्चित घटनाक्रमबाट प्रभावित फिल्म हो,’ चाम्सले अनलाइनखबरसँग भने ।

पोस्टरमा चाँडै प्रदर्शन मिति तय गरिने उल्लेख छ । अञ्जिलाकै जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौंमा छायांकन गरिएको फिल्ममा अञ्जिलाको शीर्ष भूमिका छ ।

फिल्ममा मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई,  सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय छ ।

२०५३ सालमा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी अञ्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यू–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर उनी दुई वर्ष बेन्चमै सीमित भइन् । त्यसयता उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । यो फिल्मलाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?