+
+

बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रमको छात्रवृत्तिका लागि दरखास्त आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १७:१९

४ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तर्गतको छात्रवृत्तिका लागि दरखास्त फारम खुला गरेको छ ।

बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा भर्नाका लागि दरखास्त फारम खुलेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरूमा अध्ययनको लागि विपन्न समुदायका जेहेन्दार विद्यार्थीबाट छात्रवृत्तिका लागि छनोट गरिन्छ ।

बूढानीलकण्ठ स्कुलका लागि खुला तथा आरक्षण सिट संख्या ४२ छ । यसमा ५० प्रतिशत छात्रा रहनेछन् । ४२ जनामा आरक्षणतर्फ लोपोन्मुखबाट २, दलितबाट ४, मुस्लिमबाट १, मधेशीबाट ४, जनजातिबाट ५ र पिछडिएको क्षेत्रबाट २ जना छनोट हुनेछन् । त्यसैगरी विद्यालय रहेको स्थानीय तह बूढानीलकण्ठ नगरपालिकाभित्रका एक छात्रा र एक छात्र छनोट हुनेछन् ।

साझेदारी स्कुलका निमित्त जिल्ला नदोहोरिने गरी ७७ जना विद्यार्थी छनोट हुनेछन् । त्यसमा दलितबाट ५ जना, मुस्लिम २, मधेशी ६, जनजाति ९, सहिद तथा द्वन्द्धपीडित परिवारका सन्तति, वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको परिवारबाट १ र छात्रा कम्तीमा २६ जना छनोट हुनेछन् ।

साझेदारी कार्यक्रममा शीतलादेवी मावि धनकुटा, नवजीवन मावि सर्लाही, कुलेश्वर आवास मावि काठमाडौँ, बालमन्दिर मावि कास्की, जनता मावि पाल्पा र वीरेन्द्र मावि कैलाली छन् ।

छात्रवृत्तिका लागि २८ चैत दिउँसो १ बजेदेखि ४ बजेसम्म र २९ चैत बिहान ८ बजेदेखि १० बजेसम्म दरखास्त बुझाउनुपर्नेछ । बूढानीलकण्ठ स्कुल, शिक्षा तथा मानव स्रोत विकास केन्द्र अथवा शिक्षा मन्त्रालयको वेबसाइटबाट दरखास्त फारम डाउनलोड गरी तोकिएको परीक्षा केन्द्रमा बुझाउनुपर्नेछ ।

छात्रवृत्तिको लागि लिखित परीक्षा २९ चैत बिहान ११ बजे हुनेछ । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा, सामान्य ज्ञानका ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न छात्रवृत्तिमा सोधिनेछ । छात्रवृत्ति परीक्षाका लागि देशभरका २७ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?