+
+

संसदमा बिमस्टेक छलफल : सांसदले खोजे सार्कको सक्रियता

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० चैत ५ गते १९:०९

५ चैत, काठमाडौं । संसदमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को खोजी भएको छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्टेक) सम्झौतामाथि भएको छलफलमा सांसदहरुले सार्कलाई सक्रिय बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

१९८५ मा स्थापना भएको सार्कमा हाल नेपाल अध्यक्ष छ, तर दुई सदस्य राष्ट्र भारत र पाकिस्तानको तिक्ततापूर्ण सम्बन्धका कारण दश वर्षदेखि यसको सम्मेलन हुनसकेको छैन ।

१८ औं सार्क शिखर सम्मेलन २०१४ मा नेपालमा भएको थियो भने १९औं शिखर सम्मेलन २०७३ कात्तिकमा पाकिस्तानमा हुनुपर्ने थियो । तर पाकिस्तानमा सार्क शिखर सम्मेलन गर्न भारत तयार नभएका कारण त्यसयता सम्मेलन नै हुनसकेको छैन ।

भारतले पछिल्लो समय सार्कको सट्टा बिमस्टेकलाई निकै प्राथमिकता दिएको छ, जहाँ पाकिस्तान सदस्य राष्ट्र छैन । त्यही विमस्टेकको वडापत्र संसदबाट अनुमोदन गर्ने सरकारको तयारी छ । त्यसअघि संसदमा भएको छलफलमा सांसदहरुले भने बिमस्टेकसँगै सार्कलाई पनि अगाडि बढाउनुपर्ने बताएका छन् ।

सत्तारुढ नेकपा एमालेका सांसद रघुजी पन्तले सार्कका बैठकहरु बस्न नसक्नु अध्यक्ष राष्ट्र नेपालमाथिकै प्रश्न भएको बताए । ‘बिमस्टेकमा पाकिस्तान छैन । पाकिस्तान नभएको हुनाले भारतको इन्ट्रेस्ट बिमस्टेकलाई अगाडि बढाउने र सार्कलाई निष्क्रिय पार्ने भन्ने छ’ सांसद पन्तले भने, ‘बिमस्टेकलाई अगाडि बढाउँदा हामीले सार्कलाई पनि अगाडि बढाउनुपर्‍यो ।’

एमाले सचिव योगेश भट्टराईले छिटो सार्क शिखर सम्मेलन आयोजना गर्न र बिमस्टेकलाई सँगसँगै अगाडि बढाउने पहल गर्नुपर्ने बताए । दक्षिण र पूर्वी एसियामा भूराजनीतिक तनाव उत्पन्न भइराखेको भन्दै उनले भने, ‘एक अर्कोलाई जसरी निषेध गर्ने ढंगले यो (बिमस्टेक) आएको छ । यसमा हामी जोगिनुपर्छ ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्कलाई ओझेलमा पार्न भारतले बिमस्टेकको उत्पत्ति गराएको दाबी गरे । भारतले नै सार्कलाई विसर्जनको अवस्थामा पुर्‍याएको भन्दै उनले भने, ‘भारतको चाहना अनुसार हामीले पनि सार्कलाई ओझेलमा पारेर बिमस्टेकको कुरा गरेर जनतालाई अलमलमा पार्नुहुँदैन ।’

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सार्कको विकल्प बिमस्टेक हुन नसक्ने बताए । ‘सार्कको पनि उस्तै अस्तित्व हुनुपर्छ’, उनले सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसकै सांसद सञ्जयकुमार गौतमले सार्कलाई सक्रिय बनाउने गरी पहल लिन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘हामी अध्यक्ष छौं, सार्कलाई निष्क्रिय हुन दिनुहुँदैन । परराष्ट्रमन्त्रीज्यू यसतिर पनि ध्यान दिनुहोस् !’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले बिमस्टेकबाट नेपालले के लिन सक्छ भनेर नेपालले तय गर्नुपर्ने बताए । यस्तो संयन्त्रमा सहभागिता जनाउनु मात्रैले अर्थ नराख्ने भन्दै उनले भने, ‘पर्यटक कसरी बढाउने ? उर्जा व्यापारलाई कसरी लैजाने र सम्झौता गर्ने ? यो तय गर्न सकियो भने नेपालको हितमा हुन्छ ।’

रास्वपाकै सांसद मनिष झाले बिमस्टेकमा रहेका देशहरुको अभ्यासबाट नेपालले सिक्नुपर्ने बताए । ‘बिमस्टेकमा रहेका देशहरुबाट के सिक्न सक्छौं ? के कति अभ्यास गर्छौं भनेर जान सक्यौं भने लाभदायी हुन्छ । नत्र यो भीभीआईपी सहभागी हुने एउटा संयन्त्रबाहेक अरु केही हुनेछैन’, सांसद झाले भने ।

जवाफमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले बिमस्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने बताए । साथै सार्कलाई सक्रिय बनाउन नेपाल प्रयत्नशील रहेको बताए ।

‘सार्कको सट्टामा बिमस्टेक स्वीकार गरेका होइनौं र हामी यस रुपमा लिंदेनौं’ उनले भने, ‘सार्कको महत्व आफ्नो ठाउँमा छ । सार्कलाई पुनः क्रियाशील गराउन र समिट आयोजना गर्न नेपाल सरकारले प्रयत्न गरिरहेको छ ।’

त्यसमा उल्लेखनीय प्रगति नभए पनि अफगानिस्तानले पालो भए पनि बंगलादेशबाट महासचिव चयन भएको र हालै मात्र प्रोग्रामिङ कमिटीको बैठक भएको उनले संसदलाई जानकारी गराएका छन् ।

छलफलपछि प्रतिनिधिसभाले बिमस्टेक सम्झौतामाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?