+
+

काहुँडाँडाको डढेलो : बस्तीमा जोखिम टर्‍यो, चिन्ता कायमै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते ९:५३

६ चैत, पोखरा । पोखरा उपत्यकाको पूर्व काहुँडाँडोमा सोमबार साँझदेखि फैलिएको डढेलोबाट बस्तीमा जोखिम टरेको छ । तत्काललाई बस्तीबाट जोखिम टरे पनि पूर्णरुपमा आगो नियन्त्रणमा आइसकेकोक छैन । स्थानीयमा डर र चिन्ता पनि कायमै छ ।

स्थानीयका अनुसार एक/दुई दिन अघिदेखि नै काहुँडाँडाँको झाडीमा आगो लागिरहेको थियो तर सोमबार एकाएक भीषण रुप लिंदा नजिकैको बस्तीमा त्रास सिर्जना भएको थियो ।

पोखराको मुख्य बजारबाटै भीषण रुपममा देखिएको डढेलो प्रहरी, नेपाली सेना, सशत्र र स्थानीयको प्रयासले पनि नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । बस्ती नजिक आगो आइपुगेपछि मानिसहरु जागै बसिरहेका थिए भने पोखरा बजारबाट आगो नियन्त्रण गर्न अन्य नागरिक पनि पुगेका थिए ।

स्थानीय भरत आचार्यका अनुसार आगोबाट बस्ती जोगिए पनि बन्यजन्तु र चराचुरुंगीमा भने ठूलो नोक्सानी पुर्‍याएको छ । ‘काहुँडाँडामा पछिल्लो समय बनबुट्यान बढिरहेको छ । वन्यजन्तु र चराचुरुंगीको संख्या पनि बढिरहेको छ । झाडी र बुट्यानले डढेलो फैलाउन मद्दत गर्‍यो भने वनछेऊ रहेका बस्तीमा त्रासदीपूर्ण अवस्था सिर्जना भयो,’ आचार्यले भने, ‘अहिले आगोबाट बस्तीमा तत्कालका लागि जोखिम टरेको छ तर वनमा डढेलो नियन्त्रणमा आइसकेको छैन । धनजनको क्षति नभए पनि वन्यजन्तु र चराचुरुंगीलाई ठूलो असर गर्‍यो ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार डढेलो नियन्त्रणमा २ वटा दमकलसहित ठूलो संख्यामा प्रहरी, सशत्र, नेपाली सेना परिचालन भएका थिए तर सबै ठाउँमा दमकल पनि नजाने भएकाले समयमै आगो नियन्त्रण गर्न अप्ठेरो परेको हो । लामो समयदेखि पानी नपरेर खडेरी परेकाले पनि आगोले भीषण रुप लिएको थियो ।

सहर नजिक र बस्ती पनि नभएकाले काहुँडाँडामा लागुऔषध प्रयोगकर्ताहरुको थलो बनिरहेको छ  र त्यही क्रममा आगो सल्किएको हुनसक्ने अनुमान स्थानीयको छ । तर, प्रहरीले भने कारणकाके खोजी गरिरहेको जनाएको छ ।

बस्तीमा आगो आउन नदिन अग्नीरेखा बनाइएको थियो । पोखराको मणिपाल शिक्षण अस्पताल नजिकैसम्म डढेलो फैलिएको थियो । सुख्खा याम बढेसँगै पोखरामा डढेलो लाग्ने क्रम बढेको पोखराका मेयर धनराज आचार्यले बताए ।

उनकाअनुसार अहिले पोखराका करिब १० ठाउँमा डढेलो देखा परेको छ । डढेलोबाट जोगिन र आगो लाग्न सक्ने जोखिमबाट सचेत रहन आग्रह गरिएको उनले बताए । हालैेमात्र पोखरा–१८ सराङकोटमा पनि डढेलो लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?