+
+

न्यूनतम सेवा मापदण्डमा गुल्मी अस्पताल प्रदेशको तेस्रो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १७:५९

६ चैत, गुल्मी । स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पूरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ९१ अंक ल्याएर लुम्बिनी प्रदेशका १२ जिल्ला अस्पतालमध्ये गुल्मी अस्पताल तेस्रो भएको हो ।

९६ अंकसहित बर्दिया जिल्ला अस्पताल पहिलो र ९४ अंक ल्याएर कपिलवस्तु जिल्ला अस्पताल दोस्रो बनेको छ ।

गत वर्षको मूल्याङनमा पनि गुल्मी अस्पताल ८९ अंक ल्याएर तेस्रो भएको थियो ।

गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बञ्जाडेले भौतिक संरचनाको अभावका बीच उत्कृष्ट सेवा प्रवाह दिइरहेको बताए । उनले गुल्मी अस्पतालको सेवालाई थप स्तरीय बनाउन भौतिक संरचनाको अभावले अप्ठ्यारो पारेको प्रतिक्रिया दिए ।

जनस्वास्थ्य निरीक्षक बोम अर्यालले न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनले अस्पतालको वास्तविक आधार तय हुने बताए । उनले भने, ‘प्रत्येक वर्ष भइरहेको मूल्याङ्कनले अस्पतालको सेवा कुन अवस्थामा छ भन्ने थाहा हुन्छ ।’ उनका अनुसार सीमित स्रोत साधनका बीच पनि गुल्मी जिल्ला अस्पतालले हाडजोर्नी, गाइनो, हेमोडायलसिस जस्ता सेवा पनि दिइरहेको छ ।

२०७१ सालमा ५० शैय्यामा स्तरवृद्धि भए पनि संरचनाको अभावमा अस्पताल पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । अहिले आईसीयू, सर्जिकल, मेडिकल, चिल्ड्रेनलगायत उपचार कक्षको व्यवस्था सहितको ५ तलाको नयाँ भवन बन्दैछ ।

अस्पतालको न्यूनतम सेवा मापदण्डको बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रमुख अस्पताल नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठको टोलीले मूल्याङ्कन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?