+
+

बटेश्वरमा जथाभावी खोला उत्खननले जोखिममा बस्ती

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० चैत ७ गते २०:३६

७ चैत, जनकपुरधाम । खोला उत्खननको विषयमा छलफल गर्न ४ चैतमा बटेश्वर गाउँपालिका–१ चित्रपुरमा स्थानीयको भेला थियो ।

उनीहरुले चुनावी वाचा विपरीत बडहडी खोला उत्खनन गरेको भन्दै वडाध्यक्ष अशोककुमार महतोलाई केरकार गरे । ‘चुनावमा खोला उत्खनन बन्द गारउँछु भनेर भोट लिने, जितेपछि जथाभावी खोला खनाउने ?’ भन्दै आक्रोश पोख्न थालेपछि वडाध्यक्ष सकसमा परे ।

‘ठेक्कामा किन सही गर्नुभयो भन्दै प्रश्नमाथि प्रश्न गरे, हुलहुज्जत गर्न समेत पछि परेनन्’, वडाध्यक्ष महतो भन्छन् । आफैं संकटमा परेपछि उनी जिल्ला समन्वय समिति, प्रहरी–प्रशासन धाए, नदी उत्खननको अनुगमन गर्न आग्रह गरे ।

जिल्ला समन्वय समिति, इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली लिएर बडहडी खोलामा पुग्यो ।

स्काइभेटर जस्ता उपकरण प्रयोग गरेर ढुंगा बालुवा झिक्दा खोलामा २०÷२५ फिट गहिरो खाडल बनेका छन् । केही खाल्डो बालुवा हालेर पुर्ने प्रयास भएको छ भने केही त्यत्तिकै छ । बडहडी खोलाबाट निकालेर केही ढुंगा बालुवा लगिएको छ भने धेरैजसो खोलाको पूर्वी किनारमा थुपारेको राखिएको छ ।

नदी दोहन हेरेपछि समन्वय समिति सभापति राजनारायण मण्डलले जथाभावी उत्खनन भएको पाइएको बताए । ‘जथाभावी खनेर अति नै गरेका रहेछन्’ उनले भने, ‘समन्वय समितिको बैठक बसेर के कारबाही गर्ने निर्णय लिन्छौं ।’

गाउँपालिका अध्यक्षमाथि गम्भीर आरोप

नदीजन्य पदार्थ स्थानीय तहको अधिकारमा पर्छ । तर जनप्रतिनिधिले जभाथावी नदीजन्य पदार्थ उत्खनन गर्न दिँदा आसपासका बस्ती समेत जोखिममा पर्ने गरेको छ ।

बडहडी खोलामा पनि अघिल्लो पटक तत्कालीन गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले खोला ठेक्का लगाएर जथाभावी उत्खनन गराएका थिए । स्थानीयले विरोध गर्दा क्रसर माफियाले दुई युवकमाथि सांघातिक आक्रमण नै गरेका थिए ।

२०७९ को स्थानीय चुनावमा नदी उत्खनन चुनावी मुद्दा नै बन्यो । नदी दोहन बन्द गराउने बाचा गरेका रामशिष महतो पालिका अध्यक्ष र अशोक महतो वडाध्यक्ष चुनिए ।

तर गाउँपालिका अध्यक्ष महतोले १५ फागुन २०७९ मा बडहडीसँगै सुकजोर र औरही खोलाबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा उत्खनन गरी बिक्री वितरण गर्न टेन्डर आह्वानको सूचना प्रकाशन गराए ।

यसको विरोध भएपछि टेन्डरको सूचना रद्द भयो । तर फेरि गाउँपालिका अध्यक्ष रामशिष महतोको जोडबलमा ठेक्का लाग्यो । महोत्तरी बर्दिबासको पञ्चधुरा सप्लायर्सलाई भ्याटसहित २७ लाख ९ हजार १०३ रुपैयाँमा ठेक्का दिइयो ।

६ फागुनमा भएको ३२ बुँदे ठेक्का सम्झौताअनुसार पञ्चधुरा सप्लायर्सले आगामी जेठ १५ गतेसम्म १४ हजार ४४५ घटमिटर नदीजन्य पदार्थ उत्खनन गर्न पाउँछ । उत्खनन गर्दा चार फिट गहिरोसम्म मात्र ढुंगा बालुवा झिक्न पाउने कानुनी व्यवस्था छ । गाउँवस्तीलाई जोखिममा पार्न पाइँदैन ।

तर ठेकेदारले मनपरी ढंगले उत्खनन गर्दा चित्रपुर, निरशपुर र विजयपुर वस्तीमा बाढी पस्ने जोखिम छ । केही वर्षअघि त्यहाँकै बाँध भत्काएर बाढी बस्तीमा पसेको थियो ।

‘बाँध भएकै ठाउँमा यसरी दिनरात खनेपछि गाउँबस्तीहरुमा झन् बाढीको जोखिम बढेको छ’ चित्रपुरका स्थानीय महेश महतो भन्छन्, ‘चुनावमा भोट माग्दा नदी दोहन बन्द गर्छौं भनेका थिए । ठेक्का लगाउनै हुँदैनथ्यो ।’

गाउँपालिकाले पनि ठेक्का सम्झौताअनुसार उत्खनन भए नभएको अनुगमनसमेत गरेको छैन ।

वडाध्यक्ष महतो, गाउपालिका अध्यक्षकै मिलेमतोमा ठेकेदारले जथाभावी उत्खनन गरेको आरोप लगाउँछन् । खोला ठेक्का नलगाउन पटकपटक आग्रह गरेपनि पालिका अध्यक्षले मापदण्ड अनुसार नै उत्खनन हुने भनेर जोड गरेको उनले बताए ।

‘मापदण्ड अनुसार उत्खनन हुन्छ, राजश्व पनि आउँछ भनेर पालिका अध्यक्षले ठेक्का लगाउन रस्साकस्सी गर्नुभयो । अहिले ठेकेदारसँग मिलेमतो गरी जथाभावी उत्खनन गराउँदै हुनुहुन्छ’, उनले भने, ‘जनताले मलाई घेरिरहेका छन् । अब कुनैपनि हालतमा यो ठेक्का लगाउन दिन्नँ ।’

प्रमुख प्रशासकीय अधिकृत राजगिर महतो पनि जनप्रतिनिधि र उत्खनन गर्नेहरुको दबाबमा ठेक्का लागेको बताउँछन् ।

‘ठेक्का लगाउन नचाहँदा ममाथि धेरै दबाब आयो, अनि बाध्य भएर लगाएँ’ उनले भने, ‘मेरो पनि टाउको दुखाइ बनेको छ ।’

कांग्रेसका स्थानीय नेता रामउदगार महतो पनि पालिका अध्यक्षमाथि पैसा कमाउन वस्तीलाई जोखिममा राखेर मनपरी उत्खनन गराइरहेको आरोप लगाउँछन् ।

‘चुनावमा जनताको घरदैलोमा गएर उत्खनन बन्द गराउँछु भनेर भोट मागे । जितेपछि जथाभावी खनाउँदै छन्’, उनले भने, ‘सम्झौता विपरीत ठेकेदारले दिनरात खनेपनि कारबाही गरेका छैनन् । पैसा लिएर चुप भएर घरमा छन् ।’

गाउँपालिका पालिका अध्यक्ष महतोले भने लेनदेनको आरोप अस्वीकार गरे । कर्मचारी संयन्त्रले साथ नदिँदा अनुगमन गर्न नसकेको भन्दै उनले अगाडि भने, ‘जथाभावी उत्खनन रोक्न मैले भनिसकेको छु, पत्राचार भइसकेको छ ।’

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?