+
+

जलकुम्भीमा कला खोज्दै अमेरिकादेखि नेपाल (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २४ गते २२:२२
भायोला बोर्डन प्रदर्शनी समारोहमा कलाबारे जानकारी दिँदै ।

काठमाडौं । के जलकुम्भी झार कला अभिव्यक्तिको माध्यम बन्न सक्छ ? नेपालका तालतलैयामा फैलिएको यो झारलाई वनस्पती विज्ञ ‘मिचाहा’ झारको रुपमा पनि लिन्छन् ।

तर, नेपाल घुम्न आएकी अमेरिकी कलाकार तथा शोधकर्ता भायोला बोर्डन जलकुम्भीमा कला र जीवन देख्छिन् । जलकुम्भीको रेशा र पातमा उनले कलाको प्राण भरेकी छन् । उनको यो कलात्मक शिल्पको प्रदर्शनी बौद्धस्थित तारागाउँ संग्रहालयमा सुरु भएको छ ।

अमेरिकी दूतावास, फूलब्राइट नेपाल र तारागाउँ नेक्स्टसँगको सहकार्यमा कलाकार बोर्डनका कला प्रदर्शनीमा राखिएको छ । ‘अब्जेक्ट इन फोकस’को सातौं श्रृंखला अन्तर्गत सुरु भएको यो प्रदर्शनी एक महिनासम्म चल्नेछ ।

‘सीमाहरुको पुनर्कल्पना’ थिममा आयोजित यो प्रदर्शनीमा भायोलाले डिजाइन गरेका जलकुम्भीका शिल्पदेखि उनले नेपाल घुम्दा खिचेका तस्वीरदेखि ऐतिहासिक महत्वका नेपाली पुरातत्व संरचनाका तस्वीर र जानकारी पनि प्रदर्शनीमा राखिएको छ ।

रोशन मिश्रले क्यूरेट गरेका यी कलामार्फत भायोलाले प्रकृति, जीवन र कलालाई संयोजन गर्ने प्रयत्न गरेकी छन् । ‘जब म नेपाल घुम्न आएकी थिएँ । मैले तालतलैयामा जलकुम्भी देखेँ । जब मैले यसलाई छोएँ तब तैरिन थाल्यो’ कला सिर्जनाबारे भायोलाले भनिन्, ‘मैले यसमा कला देख्न थालेँ । कोशीटप्पुमा त यसको खेती पनि गरिने रहेछ । अनि मैले यसमा शिल्पको खोजी गरेको हुँ ।’

पारिस्थितिकीय प्रणालीमा जलकुम्भीले कसरी प्रभाव पार्छ भनेर कोशीटप्पुमा आफूले अनुसन्धान गर्दैगर्दा यसलाई शिल्पको रुप दिने प्रेरणा प्राप्त भएको भायोलाले बताइन् । यो विरुवालाई कलाको मुख्य वस्तुको रुपमा प्रयोग गर्दै उनले विचार र संवादलाई एकीकृत गर्ने प्रयास गरेकी छन् । साथै, प्राकृतिक फाइबरमार्फत समकालिन कलामा अन्र्तदृष्टि दिने प्रयत्न उनको कलामा देखिन्छ ।

अमेरिकी दूतावासकी प्रवक्ता जेहरा नकवी ।

समारोहमा बोल्दै अमेरिकी दूतावासकी प्रवक्ता जेहरा नकवीले नेपालको कला संस्कृतिलाई प्रवद्र्धन गर्न दूतावास तयार रहेको बताइन् । कलाकार भायोलाको कलाले प्रकृतिलाई कलासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । उक्त अवसरमा नकवीले प्रदर्शनीको अवलोकन गरेकी थिइन् ।

क्युरेटर मिश्रले भायोलाको कला प्रदर्शनी कार्यक्रम आदिवासी कला र ज्ञानलार्ई मनाउने महत्वपूर्ण अवसर भएको बताए । एक वस्तुमा केन्द्रित रहेर कुनै एक कलाकारको कला प्रस्तुतिलाई प्रदर्शनीमा राख्दै ‘अब्जेक्ट इन फोकस’ प्रदर्शनी श्रृंखला आयोजना गरिएको उनले बताए ।

कला प्रदर्शनी अवलोकन गर्न कलाकर्मी, फिल्ममेकर, वातावरण र वास्तुविद्देखि सर्वसाधारण समेत सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?