+
+
ब्रान्ड स्टोरी :

त्यत्तिकै अर्बौंको ‘ब्रान्ड’ बनेको होइन सेल्सबेरी

पोखराका सुशील प्रधानाङ्‍गले तीन दशकअघि एउटा यस्तो व्यापारिक ‘ब्रान्ड’ को आइडिया फुराए, जुन अहिले नेपालका उत्कृष्ट ब्रान्ड र उत्कृष्ट कम्पनीका रूपमा दरिएको छ ‘सेल्सबेरी’ बनेर ।

सुशील भट्टराई सुशील भट्टराई
२०८० चैत २५ गते २०:३०

२५ चैत, काठमाडौं । चार दशकअघि पोखराको गण्डकी बोर्डिङ स्कुल पढिरहेको एउटा बालकलाई जीवनमा ‘भिन्नै खालको’ व्यापार गर्ने हुटहुटी जाग्यो । उनी आफैं व्यापारिक खानदानका थिए, तर पुर्ख्यौली व्यापारभन्दा केही फरक गर्ने सोच उनको थियो ।

बाउबाजेको पुस्तैनी व्यवसाय थियो- कपडा व्यापार । स्कुल पढ्दै गर्दा बिहान-बेलुका र बिदाका बेला साथीभाइ खेल्न जान्थे, तर उनी भने पुरानाे नेवार बजार भैरव टाेलमा रहेको आफ्नै कपडा पसलमा कैंचीले कपडा काट्दै बेच्न बाउबाजेलाई सघाउँथे ।

साथीभाइ लेकसाइडमा घुम्न जाँदा उनी भने कपडा पसलमै बसेर व्यापार गरिरहेको भेटिन्थे, बाउबाजेसँग व्यापारका ‘आइडिया’ लिइरहेका हुन्थे । वर्षमा दुई-चार पटक बाउबाजेसँगै भारतका नयाँदिल्ली र कानपुरसम्म पुग्थे । बाउबाजेले गुणस्तरीय कपडा छानेको, पोखरा ल्याएर बेचेको स्वाद मानेर हेर्थे ।

यसो भनौं न, खासमा ती बालक कलिलै उमेरदेखि ‘जागिर खाने होइन, व्यापार-व्यवसाय गर्नुपर्छ’ भन्ने मार्काका थिए ।

रहँदा बस्दा त्यही बालकले बालखमै देखेको भिन्नै खालको व्यापार गर्ने सपनालाई पोखरामै हुँदा ३१ वर्षअघि बिजारोपण गरे । उनले एउटा यस्तो व्यापारिक ‘ब्रान्ड’ को आइडिया फुराए, जुन अहिले नेपालका उत्कृष्ट ब्रान्ड र उत्कृष्ट कम्पनीका रूपमा दरिएको छ ‘सेल्सबेरी’ बनेर ।

१ हजार वर्गफिट क्षेत्रफलबाट सुरु भएको सेल्सबेरी अहिले ५ लाखभन्दा बढी वर्गफिट हुँदै पोखरा र संघीय राजधानी काठमाडौंको चोकचोकमा फैलिएको छ ।

अहिले पोखरामा ९ र काठमाडौंमा २४ स्टोर गजबसँग चलिरहेका छन् । एक महिनाभित्र पोखरामा थप तीन र नयाँ वर्ष २०८१ बाट काठमाडौंमा तीन स्टोर सञ्चालनमा आउँदै छ । सेल्सबेरीले पौने ६ सय जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।

‘सेल्वेज’ हुँदै सेल्सबेरीको सफल यात्रा गरेका पोखराका ती बालक हुन्- सुशील प्रधानाङ्‍ग ।

उमेरले पाँच दशक नाघिसकेका सुशील बालखैमा फुरेको आइडियाकै कारण लगभग ‘रिटेल बिजनेस इम्पायर’ बनाउन सकेकोमा दंग छन् ।

तर, एकै थलोमा दैनन्दिन जीवनमा आवश्यक सामान उपलब्ध हुने डिपार्टमेन्ट स्टोरको ‘साम्राज्य’ बनाउन सुशीलले कम्ता पापड बेलेनन्, आधा जुनी यसैमा खर्चिए, दुःख, कष्ट, पीडा, आरोह-अवरोह, चुनौती सबै थेगेर सेल्सबेरीलाई ‘बेस्ट ब्रान्ड’ बनाइछाडे ।

सुशीलले पोखरा चिप्लेढुंगाबाट सुरु गरेको सेल्वेज बिस्तारै उपभोक्ताका मनमा बस्दै गयो । पोखरामा लगभग स्थापित भएपछि भने उनले पोखरामै सीमित हुनुहुन्न भन्दै काठमाडौं हान्निए ।

ब्रान्ड स्थापित भइसक्दा पनि कम्पनी सात/आठ वर्ष घाटामै चलिरहेको थियो । सुशीललाई एक मन त लाग्यो- यसरी अब कति वर्ष अगाडि जान सकिएला ?

तर, उनी यति ‘ज्याद्रा’ थिए कि सितिमिति हार मानेनन् । ‘जे पर्ला पर्ला, जेसुकै होस्, अब हार मानेर फर्किनु भनेको जीवनको उद्देश्यबाट हार खानु हो भन्ने मनमा लाग्यो,’ सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भन्छन्, ‘अनि, यसरी दृढ भएर अगाडि बढेँ कि सफलता हात पारेरै छाडेँ ।’

१२ लाखमा जन्मिएर बनेको अर्बौंको ब्रान्ड

गण्डकी बोर्डिङ स्कुलको पढाइ सकेर कलेज जान थालेका सुशील अझै पनि कपडा व्यापारको पुर्ख्यौली पेसामै अड्किरहेका थिए । उनलाई कता-कता अटेसमेटस भने भइरहेको थियो ।

यसो साँझतिर फुर्सद हुँदा लेकसाइडमा घुम्न जान्थे । त्यहाँ हुने पर्यटक चहलपहलमा उनी मोहित हुन्थे । विदेशी पर्यटकसँग पनि उनको कुराकानी हुन थाल्यो । पर्यटकलाई सेवा दिने व्यापार पो गर्नुपर्छ कि भन्ने मनमा लाग्यो ।

अनायास, एकदिन उनलाई के जङ्ग चल्यो कुन्नि ‘अब यसरी कपडाकै व्यापारमा रमेर हुँदैन, नयाँ व्यापार थाल्नुपर्छ’ ।

अनि, उनी बुबाले हातमा थमाइदिएको २ लाख रुपैयाँ बोकेर दाजुसँग रात्रिबस चढेर काठमाडौं हुइँकिए । यहाँ आएर ठमेलमा एउटा रेस्टुरेन्ट किनेर चलाउन थाले । तर, केही समय चलाएपछि रेस्टुरेन्ट व्यवसाय उनको बुता बाहिरको हुन पुग्यो । घाटा खाए, तर हार नमानी पोखरा फर्किए ।

घर पुगेर फेरि कपडाकै व्यापार गर्ने उनको सोचमा छँदै थिएन । के मनमा लाग्यो, ड्यामसाइडमा एउटा होटल भाडामा लिएर चलाउन थाले । आम्दानी पनि ठिकठिकै थियो । विदेशी पर्यटक पनि आएकै थिए । तर, त्यसमा पनि खासै मन रम्न सकेन ।

सुशील एकदिन लेकसाइडमा टहलिरहेका थिए । एक्कासि, उनको दिमागमा डिपार्टमेन्ट स्टोर खोल्ने आइडिया फुर्‍यो ।

आइडिया त आयो, तर व्यापार गर्न पैसा चाहियो । अनि, घर पुगेर बुबा र हजुरबुबालाई आइडिया सुनाए । घरमा कसैले पनि ‘ग्रिन सिग्नल’ दिएनन् । तै पनि सुशीलले हार मानेनन् । आफ्नो आइडियामा अडिग रहे ।

आखिर, घरमा कसैको केही लागेन । बुबाले जसोतसो ऋणपान गरेर १२ लाख रुपैयाँ जोहो गरिदिए । सुशीलको हर्षको सीमा रहेन ।

अनि, उनी त्यो आइडियालाई मूर्तरूप दिन अगाडि बढे । र, चिप्लेढुंगामा १ हजार वर्गफिटको दुइटा कोठा भाडामा लिएर सुरु गरे- सेल्वेज स्टोर । कम्पनीको नाम राखे- सेल्वेज क्यास एन्ड क्यारी प्रालि । कर्मचारी थिए सात जना ।

सुशील आफैं सामानको बिलिङ गर्नेदेखि सामान छनोट, मूल्य राख्नेमात्र नभई भएभरका काम आफैं भ्याउँथे । उनले यति अथक मिहिनेत र कडा परिश्रम गरे कि सफलतालाई उनको सामु नआइ धरै भएन ।

त्यहाँबाट सुरु भएको सुशीलको डिपार्टमेन्ट स्टोर यात्रा अहिलेसम्म कुदिरहेको छ । बीचमा आर्थिक अभावले केही ‘धरमर’ को अवस्था देखिए पनि दत्तचित्त भएर लागेको लाग्यै सुशील अहिले ३१ वर्षे व्यावसायिक यात्रा गरिरहेका छन् ।

‘तीन दशक लामो व्यावसायिक यात्रा गर्दा पनि मलाई अझै लाग्छ व्यापार–व्यवसाय गर्नु भनेको सजिलो काम होइन । बाहिरबाट सोचेजति सजिलो त छँदै छैन,’ सुशील अनुभव बाँड्छन्, ‘जसले जतिसुकै कठोर अवस्था आए पनि नआत्तिकन अगाडि बढ्ने आँट र साहस बोकेको हुन्छ, उसले मात्र व्यापार-व्यवसाय गर्न सक्छ ।’

कोरोना महामारीले सिकाएको पाठ

सुशीलको जीवन बिन्दास चलिरहेको थियो । सेल्सबेरीको व्यापार पनि चम्किरहेकै थियो । नपुग्दो केही थिएन । उनी फुक्काफाल थिए ।

तर, एकदिन संसारै ठप्प पार्ने कोरोना महामारी देखापर्‍यो । संसारभरि मान्छेको अमूल्य ज्यान हेर्दाहेर्दै गएको र नेपालमा पनि त्यही नियति दोहोरिन थालेपछि भने सुशीलको मन ढक्क भयो ।

‘नेपालमै मानिसहरूको मृत्यु अनायास र अकालमै हुन थालेपछि भने मलाई के लाग्यो भने अब यसरी जीवन अगाडि बढ्दैन, भिन्नै तरिकाले जिउनुपर्छ,’ उनी सम्झिन्छन्, ‘म मरेँ भने यति ठूलो ऋण कसले तिर्छ ? यति ठूलो कम्पनीको व्यवस्थापन कसले सम्हाल्छ ? जस्ता नानाभाँती कुरा मनमा खेल्न थाले । त्यसपछि मैले खरिद, सञ्चालन र व्यवस्थापन मात्र हेर्ने र बाँकी सबै जिम्मा कर्मचारीलाई दिएँ ।’

कोरोना महामारी बिस्तारै मत्थर हुँदै गएपछि उनी फेरि थप लगानी विस्तार गर्नतिर लागे । बैंक तथा वित्तीय संस्थामा ऋण त छँदैछ, अझै पनि ऋण थपिरहेका छन् ।

‘म ऋण देखेर डराउँदिनँ, दिन नलागोस् भन्ने कामनामात्र गर्छु,’ सुशील भन्छन्, ‘त्यही भएर अझै वृहत लगानीमा सुपर स्टोर खोलिरहेको छु ।’

सेल्सबेरीको सफल यात्रा गरिरहेको र तीन दशकको अनुभव हासिल गरिसकेका सुशीललाई उनका ८३ वर्षीय बुबा अहिले पनि सम्झाइरहेका हुन्छन् ।

‘यस्तो जताततै सामान राखेर बेचेर कसरी थाहा हुन्छ, कहाँ कुन सामान हुन्छ, कतिवटा बेचियो, कति बाँकी छन्, काम गर्नेले वा ग्राहकले पनि सामान लगिदेलान्, यस्तो व्यापार नगरेको भए हुन्थ्यो,’ बुबाको अबोध प्रश्नबाट सुशील थप हौसिन्छन्, ‘जमाना धेरै अगाडि बढिसक्यो, मेरो बुबाले दशकौं कपडा बेच्नुभएकाले अरू सामान हराउँछन्, थाहा हुँदैन भन्नुभएको हो । तर, मलाई बुबाका प्रश्नले हौसला प्रदान गर्छन् ।’

महाराजगन्जमा पौने ३ अर्बको ‘सेल्सबेरी सुपरस्टोर’

जीवनका तीन दशक रिटेल स्टोर विकास, सञ्चालन र विस्तारमा बिताएका सुशीलले एउटा ‘ड्रिम प्रोजेक्ट’ काठमाडौं महाराजगन्जमा तयार पारेका छन् ।

नौ रोपनी क्षेत्रफल ओगटेको १६ तला अग्लो सेल्सबेरी सुपर स्टोर नयाँ वर्ष २०८१ वैशाख १० बाट ‘ग्रान्ड ओपनिङ’ हुँदैछ । यसैका लागि सुशीलले २ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेका छन् । यो चानचुने रकम होइन ।

‘सफ्ट ओपनिङ’ पनि गरिसके । युरोपेली मापदण्डको यसलाई ‘फुल फ्लेज’ सञ्चालन गरेर ‘सुपर सपिङ डेस्टिनेसन’ बनाउने ध्येय लिएर सुशील पाँच वर्षदेखि दिनरात नभनी खटिरहेका छन् ।

‘रियल डिपार्टमेन्टल स्टोर कस्तो हुन्छ भन्ने अनुभव गर्न सेल्सबेरी सुपरस्टोर महाराजगन्ज जानैपर्ने गरी हामीले तयार पारेका छौं,’ सुशील भन्छन्, ‘त्यहाँ पाइने सामान सितिमिति अन्य डिपार्टमेन्टल स्टोरमा पाइँदैन । यो प्रिमियम सुपरस्टोर बन्ने विश्वास छ ।’

सुशीलले महाराजगन्ज सुपर स्टोर अन्य स्टोरभन्दा भिन्नै बनाएका छन् । यो स्टोरको पहिलो चार तलामा सवारीसाधन पार्किङ छ । त्यसभन्दा माथि १२ तलासम्म सामान खरिद गर्न पाइन्छ । र, त्यसभन्दा माथिका तलामा सौना, ज्याकुजी, स्पा, रेस्टुरेन्ट, स्विमिङ पुल, भ्यु प्वाइन्ट लगायत पूर्वाधार छन् ।

‘हाम्रो स्टोरमा सामानमात्र किन्ने होइन, अन्य सेवा सुविधा पनि खरिद गर्न पाइन्छ,’ उनी भन्छन्, ‘उपभोक्तालाई यसले पनि भिन्नै स्वाद दिनेमा हामी ढुक्क छौं । काठमाडौं आइपुगेका विदेशी पर्यटकले पनि सेल्सबेरी सुपर स्टोर जाऔं न त भन्ने गरी पूर्वाधार बनाएका छौं ।’

कस्तो छ सेल्सबेरीको अवस्था ?

अहिले काठमाडौंमा सेल्सबेरीका २४ स्टोर कुदिरहेका छन् । पोखरामा नौ स्टोर आरामले चलिरहेका छन् । सुशील अझै हौसिरहेका छन् । नयाँ वर्ष २०८१ मा थप तीन र आगामी एक महिनाभित्र पोखरामा तीन गरी स्टोर संख्या ३९ पुर्‍याउँदै छन् ।

सेल्सबेरीमा अहिले ५ सय ७५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । नयाँ स्टोर थपिएपछि यो संख्या सवा ६ सय पुग्ने सुशील बताउँछन् ।

‘यो वर्ष स्टोर शाखा खोल्ने वर्ष हो, हामी पूर्वाधारमै लगानी गरिरहेका छौं,’ सुशील दृढ सुनिन्छन्, ‘वार्षिक कारोबार सोचेजति नभए पनि लक्ष्यको नजिक-नजिक भने पुगेकै हुन्छौं ।’

उनका अनुसार काेराेना महामारीपछि विश्व अर्थतन्त्र डामाडाेल हुन पुग्याे । त्यसबाट नेपाल पनि अछुताे रहने कुराे भएन । पछिल्लाे पटक नेपालकाे अर्थतन्त्र पनि चलायमान हुन गाराे भइरहेकाे छ ।

‘हाम्राे अर्थतन्त्रले खासै प्रगति गर्न नसक्दा पनि सेल्सबेरीले लक्ष्य राखेकाे नाफाकाे नजिक-नजिक पुगिरहेकाे हुन्छ,’ सुशील भन्छन्, ‘यो वर्ष नाफा लक्ष्य भेट्ने आशा छ । अर्को वर्ष ५ अर्ब ५१ करोडको कारोबार गर्ने लक्ष्य छ ।’

अर्काे साल २० देखि २५ करोड रुपैयाँ नाफा निकालेर कर्मचारी संख्या ७ सय पुर्‍याउने लक्ष्य सुनाउन उनी पछि पर्दैनन् ।

के हो डिपार्टमेन्टल स्टोर व्यापार ?

सुशीलको अनुभवमा डिपार्टमेन्टल स्टोर व्यापार भनेको असाध्यै चुनौतीपूर्ण हुने गर्छ । सहनशीलता नभएको मान्छेले यस्तो व्यापार गर्नै सक्दैन ।

‘झन् पछिल्लो पटक त यो क्षेत्र एकदमै चुनौती र प्रतिस्पर्धाले घेरिएको छ,’ उनी भन्छन्, ‘ठूला प्लेयरसँग भिड्नैपर्छ, लागत उच्च छ, सबैमा महँगी बढेको छ तर प्रतिफल सोचेजति भने छैन । नाफा कम छ ।’

पछिल्लो पटक एक-दुइटा कोठामा खुलिरहेका मार्ट र स्टोरले पनि प्रतिस्पर्धा थपिरहेको सुशीलको अनुभव छ । तर, पनि सबैका आ-आफ्नै ग्राहक रहेकाले ‘नेटवर्क,’ गुणस्तरीय सामान, सेवा, ब्रान्ड, व्यवस्थापन लगायत विषयले ग्राहक आकर्षित वा विकर्षित गर्ने उनी बताउँछन् ।

‘फ्र्यान्चाइजी’ बाँड्दै सेल्सबेरी

पोखरा र काठमाडौंमा ३३ सञ्चालनमा र थप ६ वटा स्टोर निर्माण भइरहँदा सुशीलको दिमागमा फेरि अर्को आइडिया फुरेको छ- फ्र्यान्चाइजी मोडेल ।

फ्र्यान्चाइजी भने उनले सकेसम्म आफ्नै कर्मचारीलाई दिने प्राथमिकता सूची बनाएका छन् । अन्यलाई पनि बिस्तारै फ्र्यान्चाइजी दिने योजना पनि बनाएका छन् ।

ललितपुर झम्सीखेलमा रहेको सेल्सबेरी फ्र्यान्चाइजी हो । सेल्सबेरीमै साढे दुई दशक काम गरेका सीएन पौडेललाई फ्र्यान्चाइजी दिएर सुशीलले काम अगाडि बढाए ।

झम्सीखेल सेल्सबेरीको व्यवस्थापन सेल्सबेरी मुख्यालयले हेर्छ र त्यसको आम्दानीको केही प्रतिशित हिस्सा लिन्छ, बाँकी त्यसैका सञ्चालकले लिन्छन् ।

‘हामीले आफैं चलाको भन्दा फ्र्यान्चाइजी लिएका हाम्रै पूर्व कर्मचारीले चलाउँदा व्यापार ३० प्रतिशतले बढेको पायौं,’ सुशील भन्छन्, ‘त्यही भएर हामी आफू मात्रै पैसा कमाउने वा धनी हुने भन्ने होइन, आफ्ना कर्मचारीलाई पनि व्यवसायी बनाउने, रोजगारी दिन सक्ने बनाउने र अन्तिममा धनी नै बनाउने हाम्रो लक्ष्य हो । र, मलाई लाग्छ यसमा हामी अवश्य सफल हुन्छौं ।’

२०८१ साउन-भदौमा सेल्सबेरी फ्र्यान्चाइजी मोडेलमा जाने औपचारिक घोषणा गर्ने तयारी गरिरहेका छन् सुशील । आफैं लगानी गरेर स्टोर खोल्न सोचेजति सजिलो छैन, त्यही भएर उनी यसमा सहजीकरण गरिरहेका छन् ।

उनका अनुसार एउटा सामान्य स्टोर सञ्चालन गर्न पनि डेढदेखि २ करोड रुपैयाँ खर्च लाग्छ । तर, सेल्सबेरीले ५० लाख रुपैयाँसम्ममा फ्र्यान्चाइजी दिने छ । स्टोर चलाउन चाहिने सम्पूर्ण ज्ञान, व्यवस्थापन, पूर्वाधार, सामान आपूर्ति, बिक्रीलगायत सबै विषयमा सेल्सबेरीले तालिम समेत उपलब्ध गराउने छ ।

सेल्सबेरीमै सामान किन किन्ने ?

सेल्सबेरीमै सामान किन्न ग्राहक जानैपर्नेमा सुशीलका केही तर्क छन् ।

‘कुनै पनि व्यापार गर्दा आफ्नो भिजन र लक्ष्य स्पष्ट हुनुपर्छ । हामीसँग तीन दशक लामो ब्रान्ड अनुभव छ,’ उनी भन्छन्, ‘ग्राहक सत्कार हाम्रो पहिलो लक्ष्य हो । हाम्रोमा उपलब्ध सामान गुणस्तरमा नामी हुन्छन् । हाम्रोमा पाउने सामान सजिलै अन्य डिपार्टमेन्टल स्टोरमा पाइँदैन, यो हाम्रो दाबी हो ।’

तर, यसो भन्दैमा सेल्सबेरी भनेको बढी पैसा खर्च गर्ने, उच्च र घरानियाँका ग्राहकमात्र आउने डिपार्टमेन्टल भने हुँदै नभएको सुशील बताउँछन् । ‘हामीले सबै तह, तप्का र वर्गका ग्राहकलाई सेवा दिइरहेका छौं,’ उनी भन्छन् ।

 तस्वीरहरू  : शंकर गिरी/चन्द्र आले

लेखकको बारेमा
सुशील भट्टराई

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका भट्टराई अनलाइनखबरको आर्थिक ब्युरो संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?