+
+

‘सुदूरपश्चिममा जे भइरहेको छ, त्यसलाई केन्द्रले सच्याउनुपर्छ’

सुदूरपश्चिमको मुख्यमन्त्री हामीलाई दिने भन्ने सहमति भएकै थियो । शीर्ष नेताहरूबीचमा भएको सहमति कार्यान्वयन हुन्छ भनेर हामी पर्खेर पनि बस्यौं । तर त्यस्तो भएन ।

प्रकाश ज्वाला प्रकाश ज्वाला
२०८१ वैशाख ३ गते १४:४६

३ वैशाख, काठमाडौं । केन्द्रमा एमाले–माओवादीसहितको सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षसँग सहकार्यको हात फैलाएको छ । एकीकृत समाजवादीको यो कदमले राजनीति तरंगित भएको छ ।

नेकपा एकीकृत समाजवादीले यस्तो निर्णय किन गर्यो भन्ने चासो पनि छ । यसको कारणबारे नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरुलाई दिने भनेर केन्द्रमा भएको सहमति कार्यान्वयन नहुँदाको देखिएको असन्तुष्टिको परिणाम मान्छन् ।

उनी यसलाई सच्याउन केन्द्रबाटै पहल हुनुपर्ने र दुई दिनभित्र समस्याको समाधान हुने विश्वासमा समेत छन् ।

यही सन्दर्भमा नेता ज्वालाले अनलाइनखबरलाई दिएको प्रतिक्रिया जस्ताको तस्तै–

सुदूरपश्चिमको मुख्यमन्त्री हामीलाई दिने सहमति भएको थियो । पछि फेरि विविध कारणले कार्यान्वयन भएन र समस्या देखिएको छ ।

प्रदेश प्रमुखले दुई दिनको समय माग्नुभएको छ । मलाई लाग्छ यो दुई दिनको बीचमा समस्या हल हुन्छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा पनि विवाद कायम छ । उनीहरू बीचमा पनि एकता हुन्छ र गठबन्धनमा भएको सहमति अनुसार एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति पनि कार्यान्वयन हुन्छ भन्ने विश्वासमा हामी छौं ।

केन्द्रको गठबन्धनले त निरन्तरता पाइरहेको छ, समस्या छैन, सुदूरपश्चिममा पनि केन्द्रको गठबन्धन अनुसार सङ्गति मै हुनुपर्नेछ । पहिलेको सहमति कार्यान्वयन हुन्छ र समस्याको समाधान हुन्छ ।

केन्द्रमा जुन ढंगले अगाडि बढ्नुपर्ने हो, त्यसरी अघि नबढ्दा केही समस्या छन् । सहमति कार्यान्वयन गर्ने ढंगले अगाडि नबढ्दा सुदूरपश्चिमबाट समस्या देखिन थालेको हो । तर केन्द्रलाई दबाब दिनका लागि त्यस्तो गरिएको भने होइन ।

कमिटीबाट पनि कुनै औपचारिक निर्णय भएको छैन । तर सुदूरपश्चिम प्रदेश सभाभित्रको गणित र समीकरण अनुसार को को मिल्दा बहुमत पुग्ने, कोहो नमिल्दा नपुग्ने भन्ने हिसाबकिताब त त्यहींकै साथीहरूले गर्नुहुने नै भयो । त्यसअनुसार प्रदेशस्तरमा संसदीय दलका साथीहरूले छलफल गर्नुभयो र कांग्रेस-नाउपासँग मिलेर अघि बढ्ने सहमति गर्नुभयो । त्यसलाई केन्द्रले सच्याउने गरीअघि बढ्नुपर्छ ।

सुदूरपश्चिमको मुख्यमन्त्री हामीलाई दिने भन्ने सहमति भएकै थियो । शीर्ष नेताहरूबीचमा भएको सहमति कार्यान्वयन हुन्छ भनेर हामी पर्खेर पनि बस्यौं । तर त्यस्तो भएन ।

यही पृष्ठभूमिमा सुदूरपश्चिममा जे भएको छ, त्यो करेक्सन हुन्छ भन्नेमा म विश्वस्त छु । किनभने केन्द्रको गठबन्धनलाई जोगाउनु पर्नेछ, बलियो बनाउनुपर्नेछ र सँगसँगै प्रदेशमा पनि समस्या समाधान गर्नुपर्नेछ । त्यसैले समस्या समाधान हुन्छ, गर्नुपर्छ ।

केन्द्रमा देखिएका समस्याहरूलाई समाधान गर्दै जानुपर्छ । केन्द्रमा देखिएका समस्या समाधान गर्न नसक्दा केन्द्र र अरु प्रदेशमा पनि समस्या उत्पन्न हुनसक्छ । त्यसकारण केन्द्रबाट नै समस्या समाधानको पहलकदमी लिनुपर्छ ।

एउटै पार्टीको बहुमत नहुँदा गठबन्धन बन्ने हो र यसको धरातल कमजोर हुन्छ नै । त्रिशंकु संसदमा समस्या त हुन्छ नै । त्यसकारण गठबन्धनको प्रकृति र चरित्र एवं गठबन्धन संस्कृति अनुसार गठबन्धनलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्छ । कमजोर हुँदाहुँदै पनि बलियो बनाउनुपर्ने बाध्यता सबैसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?