+
+

विद्युत् किन्नेबाट बेच्ने मुलुक बन्नु गौरवको विषय हो : राष्ट्रपति 

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १४:०४

१३ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हिमालयन हाइड्रो एक्स्पो-२०२४ को उद्घाटन गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले भृकुटीमण्डपमा आयोजित समारोहमा एक्स्पोको उद्घाटन गरेका हुन् ।

एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाल विद्युत् आयात गर्ने देशबाट विद्युत् निर्यात गर्ने देशको रुपमा परिणत हुनु महत्त्वपूर्ण रहेको बताए । राष्ट्रपति पौडेलले यो सबैका लागि गौरव र खुसीको विषय भएको बताए ।

नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् छिमेकी भारतमा बिक्रीका लागि बजार खुला गरिसकेको उल्लेख गर्दै यस क्षेत्रमा थप लगानी हुने विश्वास व्यक्त गरे ।

‘सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको संलग्नताबाट विद्युत् उत्पादनका लागि राखिएका लक्ष्य हासिल हुन सम्भव छ,’ उनले भने ।

एक्स्पोले ऊर्जा विकासमा सहभागी सबै पक्षलाई एकै ठाउँमा ल्याएर हातेमालो गर्न सहयोग पुग्ने बताए । राष्ट्रपतिले हरित ऊर्जा विकासमा स्वदेशी र विदेशी सबै लगानीकर्ता एकजुट भएर अघि बढ्न आह्वान गरे ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् विकासको प्रचुर सम्भावना रहेको नेपालको उन्नतिको महत्त्वपूर्ण आधार रहेको बताए ।

‘आगामी १२ वर्षभित्र २८ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको र यो महत्त्वाकाङ्‍क्षीजस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको हो,’ उनले भने ।

लगानीका लागि देशभित्रको स्रोतमात्र होइन, वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकता रहेको बताए । अहिले संसदमा दर्ता भइ दफाबार छलफलमा रहेको विद्युत् विद्येयक चाँडोभन्दा चाँडो पारित भइ कार्यान्वयनमा आउने उल्लेख गरे ।

जलविद्युत् परियोजना विकासका लागि नयाँ विद्युत् ऐनले सहजीकरण गर्ने र लगानी अझ बढेर जाने उनको विश्वास थियो ।

‘परियोजनाका लागि जग्गा प्राप्ति, वन र अन्य प्रक्रियागत विषयमा पनि सरकारले अझ सहजीकरण गर्दै जानेछ,’ मन्त्री बस्नेतले भने ।

अहिले जलविद्युत् परियोजना निर्माणसँगै वातावरण र जलवायुको मुद्दासमेत पेचिलो बन्दै गएको छ । यसबारेमा पर्याप्त छलफल हुनुपर्ने र भइरहेको उनको भनाइ छ । एक्स्पोले आसन्न लगानी सम्मेलनको लागिसमेत टेवा पुग्ने उनले बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले १३ खर्ब रुपैयाँ जलविद्युत् आयोजनामा लगानी भइसकेको बताए ।

‘आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलिरहेको र दक्ष, अर्धदक्ष र अदक्ष गरी ५ लाख भन्दा धेरै नागरिकले रोजगारी पाइरहेको छन्,’ उनले भने ।

उनले पछिल्लो समयमा विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्नमा सफल भएको र यसलाई अझ वृद्धि हुदै जाने विश्वास व्यक्त गरे ।

सरकारले राखेको २८ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गर्नका लागि वन, जग्गालगायतका विषयमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

एक्स्पोले आसन्न लगानी सम्मेलनका लागि पनि सहयोग पुग्ने अध्यक्ष कार्कीको भनाइ छ । विदेशी लगानी वृद्धि गर्नका लागि नीतिगत सुधार र प्रक्रियागत झमेलालाई सहज बनाउदै लैजान उनले सरकारसँग आग्रह गरे ।

जलविद्युत् परियोजना विकाससँग स्थानीय विकासमा महत्त्वपूर्ण सहयोग पुगिरहेको छ । आयोजाना प्रवर्द्धकले स्थानीय सडक, खानेपानी, स्वास्थ्य चौकी, खेलमैदानलगायतका पूर्वाधारमा निर्माणमा योगदान पुर्‍याएको बताए ।

नेपालका लागि क्यानाडाका राजदूत क्यामरुन म्याकीले भिडिया सन्देशमार्फत नेपालको समृद्धिका लागि जलविद्युतको विकास महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नाराको साथ सुरु भएको एक्स्पो शुक्रबार सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?