+
+

ओलीको आरोप : राष्ट्रपतिको निष्पक्षता देखिएन, कांग्रेस भएर जाजरकोट जानुभयो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २ गते १६:००

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले अहिले पनि राष्ट्रपतिले कांग्रेसको प्रतिनिधि भएर काम गरेको आरोप लगाएका हुन् ।

भूकम्पपछि प्रधानमन्त्री र गृहमन्त्री माओवादीको प्रतिनिधिको रुपमा जाजरकोट पुगेको भन्दै ओलीले राष्ट्रपति पौडेल पनि जाजरकोटमा कांग्रेस छुट्यो भनेर आफैं गएको टिप्पणी गरे ।

‘राष्ट्रपति किन जानुभएको ? कति मान्छे मरे भन्ने कुरा उहाँले सुन्नुभएको थियो । टेलिभिजन हेर्नु नै भएको थियो । कति घर भत्कियो भनेर सुन्नुभएकै थियो । कति के भयो भन्ने सुन्नुभएकै थियो । त्यो भन्दा अगाडि नै खबर आइसकेको थियो–नेताहरुको भिडले, नेताहरुको चाकडीमा सेना, प्रहरी खटनुपर्दा त्यहाँ उद्धार गर्न पाईएन भन्ने आएकै थियो । उहाँहरु अस्पतालमा बिरामी हेर्न जाने नाममा अस्पतालका सम्पूर्ण डाक्टरहरु उहाँहरुलाई ब्रिफ्रिङ गर्न आउनुपर्ने । बिरामीको उपचार छोडेर आउनुपर्ने भन्ने कुरा थाहा नै थियो । अनि, माओवादी गए भनेर कांग्रेस भएर किन जानुपर्‍यो राष्ट्रपतिज्यू ? उहाँ राष्ट्रपति भएर त्यहाँ जानुभएन । त्यहाँ कांग्रेस छुट्यो भनेर जानुभयो’, ओलीले भने ।

राष्ट्रपति निर्वाचित भएको एक वर्ष नपुग्दै राष्ट्रपतिले पक्षधरता देखाएको भन्दै ओलीले तनहुँमा दिएको अभिव्यक्तिले पनि कांग्रेसप्रति नरम देखिएको दाबी गरे ।

‘राष्ट्रपतिज्यूले तनहुँमा गएर घण्टीको यत्रा बिगबिगी भएको बेला कांग्रेसलाई भोट दिएकोमा मतदातालाई म धन्यवाद दिन्छु भन्ने भाषा बोल्नुभयो । काँग्रेसलाई भोट दिएकोमा, रुखमा भोट हालेकोमा उहाँले धन्यवाद दिनुभयो । कति निष्पक्ष राष्ट्रपति होला । उहाँको निष्पक्षताको त कुरे नगरौं । उहाँको सम्बन्धमा थुप्रै कुराहरु आइसकेका छन् । एक वर्ष पुग्नुभन्दा अगाडिनै राष्ट्रपतिले आफ्नो क्रियाकलापहरु देखाइसक्नुभएको छ । अलोकतान्त्रिकता, पक्षपातपूर्ण, उहाँलाई संविधानको मतलब छैन’, उनले भने ।

अध्यक्ष ओलीले राष्ट्रपति संविधान अनुसार चल्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?