+
+

कमल किन परेनन् नेपालको टोलीमा ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १९:४०

१३ बैशाख, काठमाडौं । वेष्टइण्डिज एविरुद्ध घरेलु मैदानमा हुने पाँच टी–२० खेलको सिरिज खेल्ने नेपाल टोलीको घोषणा भएको छ । एससीसी प्रिमियर कप खेलेको टोलीले निरन्तरता पाउँदा थप दुई खेलाडी मात्र टिममा थपिएका छन् ।

तर तीव्र गतिका बलर कमलसिंह ऐरीले स्थान बनाउन सकेनन् । अघिल्लो महिना आयरल्याण्ड एसँगको खेलबाट क्रिकेटमा पुनरागमन गरेका कमलले राम्रो प्रभाव छाडेका थिए ।

तर तीव्र गतिका बलर आकाश चन्दसँगै ब्याटर आरिफ शेख टोलीमा पर्दा कमल भने परेनन् ।

नेपालको तीव्र गतिको बलरमा सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र प्रतिश जिसी टोलीमा छन् । पार्टटाइम बलरका रुपमा गुल्सन झा र विवेक यादव छन् ।

अब त्यसमा आकाश थपिएका छन् ।

सोमपाल र करण नेपालका प्रमुख बलर हुन् । नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेल्दा टोलीमा रहेका सोमपाल सबभन्दा अनुभवी खेलाडी हुन् । यद्यपि पछिल्लो समय उनी नयाँ बलमा सफल भएपनि पुरानो बलमा संघर्ष गर्नुपरेको देखिन्छ । त्यही कारण उनले प्रायः डेथ ओभरमा बलिङ गर्दैनन् ।

करणलाई सन्दीप लामिछानेको अनुपस्थितिमा टिमको जिम्मेवारी बहन गर्नसक्ने म्याच विनर बलर मानिन्छ । उनी टी–२० का उत्कृष्ट क्लिन हिटर पनि हुन् । तर प्लेइङ ११ मा परिर्वतन हुँदा करण अस्वभाविक रुपमा बेञ्चमा रहने गरेका छन्, जसको असर उनको प्रदर्शनमा समेत परेको देखिन्छ ।

युवा बलर गुल्सन झाले ब्याटिङमा पनि नियमित अवसर पाउने गरेका छन् । प्रशिक्षक मोन्टी देशाईले उनलाई खेलको अवस्था हेरेर (लेफ्टी बलर बढी भएको अवस्थामा) तेस्रो वा चौथो नम्बरमा ब्याटिङ गर्न पठाउने गरेका छन् ।

पछिल्लो डेढ वर्षदेखि टिममा रहेका प्रतिश जिसीले अधिकांश समय बेञ्चमा बिताएका छन् । टी–२० विश्वकप एसिया क्षेत्रको फाइनलमा ओमानविरुद्ध अन्तिम ओभरमा लगातार तीन छक्का हानेर चर्चामा आएका विवेक यादव पनि टिममा पर्ने गरेका छन् । तर पाएको अवसरमा उनले आफ्नो फिनिसरको भूमिकामा खरोसँग उत्रिन सकेका छैनन् ।

नेपालका प्रमुख छनोटकर्ता दीपेन्द्रसिंह चौधरी आकाश र प्रतिश जिसीलाई करण केसीको विकल्पको रुपमा हेरिएको बताउँछन् ।
जनवरी अन्तिममा यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध ५ विकेट लिएका आकाशले फेब्रुअरी दोस्रो हप्ता क्यानडासँग पहिलो ओडीआई खेलमा डेब्यू गरेका थिए ।

उनले मार्चमा हङकङ र पपुवा न्युगिनीसँग टी–२० आईमा ३–३ विकेट लिए । एसीसी प्रिमियर कपमा अन्तिम १४ मा नपरेपनि उनलाई ओमान लगिएको थियो । त्यसैले टिममा सदस्य बढ्दा आकाश पर्नु स्वभाविक रह्यो ।

तर सोमपालको विकल्पमा आफूलाई प्रमाणित गरिसकेका कमललाई भने टिममा राखिएको छैन ।

सन् २०२० देखि २०२२ सम्म तीव्र गतिका बलर सोमपाल घाइते भएको बेला टिममा अवसर पाएका कमलले उच्च प्रदर्शन गरेका थिए । कमलले २०२० मा आईसीसी विश्वकप लिग–२ मा त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्ध नेपालका लागि डेब्यू गरेका थिए ।

उनले नेपालबाट ३ ओडीआई र १० टी–२० आई खेलेका छन् । २०२२ को टी–२० विश्वकपमा पनि कमलले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सन् २०२२ अप्रिलमा त्रिकोणात्मक टी–२० आई सिरिजमा मलेसियाविरुद्ध भएको खेलका क्रममा ड्राइभ हानेका कमलको घाँटीमुनि रहने बायाँ भागको ब्यूटी बोनमा चोट लागेको थियो ।

शल्यक्रियापछि नेपाली टोलीबाट बाहिर रहेका उनले गत चैतमा आयरल्याण्ड एविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । पहिलो टी–२० खेलमा कमलले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । दोस्रो र तेस्रो खेलमा कमलले १–१ विकेट लिए ।

पहिलो एकदिवसीय खेलमा आयरल्यान्ड ए लाई १५७ रनमा अल आउट गर्न कमलले ६.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसमा ह्याट्रिक सामेल थियो । दोस्रो खेलमा कमलले १ विकेट लिएका थिए । त्यसैले वेष्टइण्डिज ए सिरिजमा कमलले मौका पाउने अनुमान थियो ।

तर प्रतिश, विवेकहरुलाई निरन्तरता दिएर कमललाई भने टिम बाहिर राखिएको छ ।

यसअघिकै टोलीलाई खेलाउने निर्णय हुँदा कमलले मौका नपाएको प्रमुख छनोटकर्ता दीपेन्द्रसिंह चौधरी बताउँछन् । ‘हामीले जसलाई निरन्तर विश्वास गरेका छौं, यो सिरिजमा उसलाई हटाउन कतिको ठिक हुन्छ भन्ने प्रश्न थियो’, उनले अनलाइनखबरसँग भने, ‘छनोटमा संलग्न सबैले निरन्तरतामै जाउँ भन्ने कुरा भयो । त्यसैले कमललाई अन्तिम १६ मा राख्न सकिएन ।’

अर्थात प्रतिश र विवेकलाई कुनै पनि हालतमा टिममा राखिराख्न खोजेको प्रष्ट बुझिन्छ ।

प्रमुख छनोटकर्ता चौधरीले पनि त्यसलाई स्वीकार गरे । उनका अनुसार कमललाई टिममा राख्न आकाश चन्द वा अविनाश बोहरामध्ये एकलाई बाहिर राख्नुपर्ने थियो ।

‘विश्वकप नजिक आएर १२÷१४ महिनादेखि गरेको तयारीलाई तोड्न मिल्छ वा मिल्दैन भन्ने भयो । त्यसैले कमललाई अन्तिम १६ मा ल्याउन सकिएन’, उनले भने, ‘कमलले दुई महिना अघिबाट खेलेको भए मौका पाउने सम्भावना बढी हुन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?