+
+

कमलको राम्रो पुनरागमन  

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत १६ गते २१:२५

१६ चैत, काठमाडौं । तीव्र गतिका युवा बलर कमलसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा दुई वर्षपछि पुनरागमन गरेका छन् ।

शुक्रबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपाल ए बाट आयरल्यान्ड ए विरुद्ध पहिलो टी–२० खेल खेल्दै कमलले क्रिकेटमा राम्रो पुनरागमन गरेका हुन् । १४ महिनापछि मैदानमा फर्किएका उनी केही पालेको कपाल र दाह्रीमा भारतीय क्रिकेटर हार्दिक पान्ड्याको झल्को दिने लुक्समा देखिएका थिए ।

कमल २०२२ अप्रिलमा त्रिकोणात्मक टी–२० आई सिरिजमा मलेसियाविरुद्ध खेल्ने क्रममा घाइते भएका थिए । चोभार एण्डतर्फको लङअनमा चौका रोक्न डाइभ हान्ने क्रममा घाँटी मुनि रहने बायाँ भागको ब्यूटी बोनमा चोट लागेको थियो । कलंकीमा रहेको नेपाल नेशनल अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो ।

त्यसपछि उनले कुनैपनि अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । गतवर्ष भदौमा काठमाडौंमा भएको नवौं राष्ट्रिय खेलकुदमा उनी एपीएफ टोलीमा थिए । तर वर्षाको कारण उनी सम्मिलित एपीएफ क्लब एक खेल पनि नखेली प्रतियोगिताबाट बाहिरियो ।

नोभेम्बरमा भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कमलले ५ खेलमा ११ विकेट लिँदै राम्रो पुनरागमन गरेका थिए । त्यसपछि नेपाल टी–२० लिग २०२३ मा काठमाडौं नाइट्सबाट ११ खेलमा १० विकेट लिएका थिए । २०२३ जनवरी ९ मा विराटनगर सुपर किंग्सको खेलपछि उनी मैदान बाहिर थिए ।

उनी नेपालको सिनियर टोलीको बन्द प्रशिक्षणमा पनि परेका थिए, तर ब्याकपेनका कारण फेरि मैदान बाहिर हुन पुगे । भारतमा गएर उपचार गराएका उनी दुई महिना अघि मात्रै स्वदेश फर्किएका थिए । त्यसैले यस पटकको प्रधानमन्त्री कप खेलेका थिएनन् । तर प्रशिक्षणमा राम्रो गरेपछि नेपाल ए मा परेका हुन् ।

झण्डै दुई वर्ष पहिले आफू घाइते भएको चोभार एण्डबाट आउँदै उनले इनिङको पहिलो बल रस आडैरलाई दुई रन दिँदै सुरुवात गरे  । दोस्रो बलमै लेन्थ बलमा आयरल्यान्डका ब्याटर रस आडैर फस्ट स्लिपमा आरिफ शेखबाट क्याच गराउँदै कमलले उत्कृष्ट सेलेब्रेसन गरे ।

कमलले सुरुवाती ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिएका थिए । १९ औं ओभरमा दुई छक्कासहित कुल १८ रन खर्चिन पुगे । समग्रमा कमलले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए ।

लामो समयपछि मैदान फर्किएका कारण पहिलो बल फाल्ने क्रममा केही नर्भस भएको कमलले सुनाए । ‘पहिलो बल फालेपछि नर्मल भए’ खेलपछि उनले भने, ‘प्रतिस्पर्धात्मक क्रिकेट खेल्न नपाएको, विकेट लिएपछि सेलेब्रेसन गर्न नपाएको पनि धेरै भयो । दोस्रो बलमा विकेट आउँदा खुसी लाग्यो ।’

कमलले २०२२ को टी–२० विश्वकप छनोट ओमानमा शानदार प्रदर्शन गरेका थिए । तर अब उनलाई सिनियर टोलीमा स्थान बनाउन सहज छैन ।

नेपाल ए मा शानदार प्रदर्शन गर्नुपर्ने हुन्छ । पछिल्लो १५ महिनामा नेपाली क्रिकेटले सफलताको उडान भरेको छ । उनले मोन्टी देशाईको प्रशिक्षण र रोहित पौडेलको कप्तानीमा खेलेका छैनन् । ब्याटिङ सुधार, आईसीसी विश्वकप लिग–२ मा अन्तिम १२ मध्य ११ मा जित, एसीसी प्रिमियर कप च्याम्पियन, पहिलो पटक एसिया कपमा सहभागी, टी–२० विश्वकप एसिया छनोट सबै उनले गुमाए ।

‘सुरुमा घाइते हुँदा अलिकित विश्राम मिले जस्तो लागेको थियो । तर विस्तारै लामो हुँदा सबै कुरा मिस गरिन्छ । यो बताउन गाह्रो हुन्छ’, उनले भने ।

कमलले २०२० मा आईसीसी विश्वकप लिग–२ मा टीयुमा ओमानविरुद्ध नेपालका लागि डेब्यू गरेका थिए । सोमपाल कामी घाइते हुँदा उनले पहिलो रोजाईमा दुई वर्ष खेले । नेपालबाट ३ ओडीआई र १० टी–२० आई खेलेका छन् ।

दुई वर्षदेखि नेपाली टोलीमा नरहेका उनलाई फर्किने माध्यम नेपाल ए नै हो । नेपाल ए मा राम्रो गर्न सके आगामी जुनमा टी–२० विश्वकपमा स्थान बनाउन पनि सक्छन् । ‘अब राम्रो खेल्दै जाने हो । म जहाँ अवसर आउँछ त्यहाँ राम्रो गर्ने प्रयास गर्छु’ उनले भने, टिमलाई आवश्यक परेको बेला म  तयार छु ।’

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?