+

नेपाली महिला क्रिकेट : बढ्यो लगानी, बढेन रन

२०८२ फागुन  ६ गते १७:५४ २०८२ फागुन ६ गते १७:५४

विदेशी प्रशिक्षक आइसकेपछि नेपालको खेल प्रदर्शन सुधार हुने धेरैको अपेक्षा थियो । तर, नतिजा भने ज्युँका त्युँ छ ।

नेपाली महिला क्रिकेट : बढ्यो लगानी, बढेन रन

५ फागुन, काठमाडौं ।  ‘क्यानलाई हामीले बारम्बार भनिरहेका छौं । हामीलाई विदेशी प्रशिक्षक ल्याइदिनु, फिटनेस ट्रेनर ल्याइदिनु । यो राम्रो तरिकाले गयो भने मलाई लाग्छ- महिला टिम माथि जान्छ,’ यो नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले केही समयअघि भनेको कुरा हो ।

इन्दुको मागअनुसार नेपाल क्रिकेट संघ (क्यान)ले महिला टोलीको लागि विदेशी प्रशिक्षक ल्यायो । महिला टोलीलाई एक्सपोजर पनि दियो । तर, इन्दुले भनेअनुसार महिला टिम भने माथि जान सकेन ।

क्यानले महिला टोलीका लागि पहिलोपटक विदेशी प्रशिक्षकका रूपमा भारतीय प्रशिक्षक हर्षल पाठकलाई पुस महिला साता अनुबन्ध गर्‍यो । पहिलोपटक टी-२० महिला विश्वकप क्रिकेटमा छनोट हुने महत्त्वकांक्षासहित क्यानले हर्षललाई अनुबन्ध गरेपनि टोलीको प्रदर्शनमा सुधार आउन सकेन । घरेलु मैदानमा नेपाल छनोटको समूह चरणबाटै बाहिरियो । नेपालले समूह चरणमा तीन हार बेहोर्दा एक खेलमा मात्रै जित निकाल्यो ।

विदेशी प्रशिक्षक आइसकेपछि नेपालको खेल प्रदर्शन सुधार हुने धेरैको अपेक्षा थियो । तर, नतिजा भने ज्युँका त्युँ छ ।

घरेलु मैदानमा भएको आइसीसी टी-२० महिला विश्वकपको ग्लोबल छनोट सकिएको १५ दिन बित्न नपाउँदै नेपालले अर्काे महत्वपूर्ण प्रतियोगिता खेल्ने अवसर पायो । एसिया कप राइजिङ स्टार्समा युएईसँगै भारत र पाकिस्तानका दोस्रो रोजाइको टिमसँग नेपाल पराजित हुन पुग्यो । ग्लोबल छनोटमा खराब प्रदर्शन गर्दै छनोट हुन असफल भएको नेपाल यसपटक पनि सम्झनालायक प्रदर्शन गर्न सकेन ।

विदेशी प्रशिक्षक आइसकेपछि नेपालको खेल प्रदर्शन सुधार हुने धेरैको अपेक्षा थियो । तर, नतिजा ज्युँका त्युँ छ ।

नेपाल पाकिस्तान ‘ए’ सँग ३० रन, युएईसँग १८ रन र भारत ‘ए’ टिमसँग ७ विकेटले पराजित हुन पुग्यो । यूएईविरुद्ध कप्तान पूजा महतो र सम्झना खड्काले गरेको ब्याटिङबाहेक अन्य कुनै पनि खेलमा नेपालको ब्याटिङ उत्कृष्ट रहन सकेन । बलिङ र फिल्डिङमा पनि नेपाल फ्लप भयो ।

महिला टोलीको बारम्बारको समस्या यसपटक पनि दोहोरियो । युएईविरुद्ध १७१ रन बनाएको नेपालले अन्य दुई खेलमा १०७ रन कटाउन सकेन । सधैंको समस्या खेलाडी फिटनेसमा पनि नेपाली खेलाडीले निराश बनाए ।

महिला क्रिकेट विकास समिति संयोजक प्रदीप मजगैँयाले महिला टोलीबाट राम्रो नतिजा नभएपनि खेलको स्तर वृद्धि भएको बताउँछन् । ‘पहिलाको तुलनामा राम्रो भएको छ । निराश हुनैपर्ने अवस्था छैन,’ उनी भन्छन्, ‘बलिया राष्ट्रसँगको खेल भएकाले नतिजा हाम्रो पक्षमा नआएको मात्रै हो ।’ क्यानले महिला क्रिकेटमा लगानी वृद्धि गरेकाले छिट्टै नै नतिजा आउने प्रदीपको विश्वास छ ।

टप-अर्डरबाट आशा, मिडिल-अर्डरबाट निराशा

ब्याटर बिन्दु रावल प्रशिक्षक हर्षल आउनुभन्दा पहिले पाँचौं, छैटौं नम्बरमा ब्याटिङ गर्न आउँथिन् । हर्षल आइसकेपछि उनले बिन्दुलाई ओपनिङमा पठाए । पछिल्ला केही खेलमा सम्झना खड्का र बिन्दुले नेपालको ओपनिङ गरे । दायाँ हाते र बायाँ हाते ब्याटरको कम्बिनेसनले सधैँ ओपनिङमा समस्या पर्ने नेपाललाई आशा जगायो ।

उनीहरूसँगै कप्तान पूजा महतोले टपअर्डर सम्हालिन् । नियमित कप्तान इन्दु बर्मा घाइते भएर मैदान बाहिर हुँदा पूजाले नेपालको नेतृत्व गरेकी थिइन् ।

तीन वटै खेलमा नेपालको टप-अर्डर आशालाग्दो नै रह्यो । तर, त्यसलाई मिडिल-अर्डरले साथ दिन नसक्दा नेपाल हारको श्रृंखला तोड्न सकेन । कविता कुँवर, कविता जोशी, रूबिना क्षेत्री, सीता रानामगरजस्ता खेलाडी चल्न सकेनन् । र, नेपाल सानो स्कोरमै अडिन पुग्यो ।

बलिङमा पनि नेपाल कमसल बन्यो । तीन खेलमा नेपालले मात्र १३ विकेट लियो । खराब बलिङको फाइदा उठाउँदै युएईले नेपालविरुद्ध १८९ रनको विशाल लक्ष्य खडा गर्न सफल भएको थियो । टपअर्डरका कारण ब्याटिङमा केही आशा दिलाएको नेपालको बलिङ सुध्रिन सकेको छैन । ग्लोबल छनोटदेखि एसिया कपसँग नेपाललाई बलिङमा विकेटको अभाव बेस्सरी खड्कियो ।

हर्षलको ‘कोचिङ फिलोसोफी’ प्रयोग हुन बाँकी

क्यानले मुख्य प्रशिक्षक हर्षललाई दुई वर्षका लागि टोलीमा अनुबन्ध गरेको हो । प्रतियोगिताभन्दा अघि कम समय भएका कारण हर्षलले आफ्नो ‘कोचिङ फिलोसोफी’ पूर्ण रूपमा लागु गर्न पाएका छैनन् ।

प्रशिक्षक रिजन प्रजुका अनुसार ‘ग्रासरुट’देखि नै महिला क्रिकेट विकासमा काम गर्ने योजना हर्षलको छ । ‘ट्रेनिङ सेसन पूरा भएको छैन । आएलगत्तै खेल भए । केही प्रयोगहरू भइराखेका छन् । नतिजा आउन समय लाग्छ,’ उनी भन्छन् ।

यो सिजनपछि योजना बनाएर महिला टोलीको विकासमा काम गर्ने प्रजुले बताए । ‘फिटनेस ट्रेनिङदेखि नियमित क्याम्प हुँदै जिल्ला, प्रदेशमा गएर ट्यालेन्ट हन्ट गर्ने योजना हेड कोचको छ,’ उनले भने ।

नेपाल क्रिकेट संघ क्यान नेपाली महिला क्रिकेट महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय