+
+

कांग्रेसले कताकताको निर्देशनमा गठबन्धनमा संकट ल्याउने प्रयास गर्‍यो : लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १२:२२

२५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको बताएका छन् ।

रास्वपाको संसदीय दलको बैठकमा मंगलबार समसामयिक विषयमा धारणा राख्ने क्रममा लामिछानेले गठबन्धनमा संकट भने नआएको बताए ।

‘गठबन्धनमा संकट ल्याउने नेपाली कांग्रेसको प्रयास छ । तर आएको छैन,’ गृहमन्त्री समेत रहेका लामिछानेलाई उद्धृत गर्दै सहप्रवक्ता मनीष झाले भने, ‘कांग्रेसले कताकताको निर्देशनमा गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको छ । नेपालको राजनीतिमा त्यो स्वभाविक हो, उनीहरूले जानेकै त्यति हो ।’

समसायिक, बजेट अधिवेशन र उपनिर्वाचन समीक्षाका लागि रास्वपाले संसदीय दलको बैठक बोलाएको थियो । समय अभावका कारणले उपनिर्वाचनको समीक्षा भने गर्न नसकिएको झाले बताए ।

‘बजेट अधिवेशनको तयारी कसरी गर्ने, विभिन्न साझेदार दलसँग छलफल गर्ने, अघिल्लो अधिवेशनको भन्दा संसद्‌मा राम्रो गर्ने छलफल भयो’ झाले भने ।

आजको बैठकमा संसदीय छानबिन समितिका बारेमा छलफल नभएको बताइएको छ । संसदीय छानबिन समिति गठन गर्ने एजेन्डा कांग्रेसको भएकाले रास्वपाको संसदीय दलमा छलफल हुन आवश्यक नरहेको झाले बताए ।

‘सत्ता गठबन्धनको छलफलका आधारमा निष्कर्षमा जे पुग्छ, त्यही गर्ने हो । त्यो एजेन्डा कांग्रेसको होला । हाम्रो होइन,’ झाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?