+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

नेपाल भित्रियो मनसुन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १३:४४

२८ जेठ, काठमाडौं । यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज मनसुन भित्रिएको जानकारी दिएको हो ।

हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनभित्रै क्रमिक रुपमा फैलिँदै जाने छ ।

नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।

यद्यपि कहिलेकाहीँ सरदर मितिभन्दा ढिलो–चाँडो पनि हुने गर्दछ । गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो ।

पश्चिमसम्म फैलिन अझै केही दिन लाग्ने

मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीले आज कोशी प्रदेशमा मनसुन भित्रिए पनि नेपालको सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्ने बताए ।

कोशी प्रदेशका जिल्लाहरुमा केही दिनयता दिनहुँ वर्षा हुँदै आएको थियो । तर काठमाडौं उपत्यकासहित पश्चिम तराईका भूभागमा नियमित पानी नपर्दा अत्यधिक गर्मी छ । महाशाखाले जेठ २६ गते विशेष बुलेटिन जारी गर्दै जेठ २८ गतेसम्म तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन भनेको थियो ।

यस्तो अवस्था अझै केही दिन जारी रहने सम्भावना रहेको मौसमविद अधिकारीले बताए । ‘रोचक त के छ भने पूर्वी नेपालमा मनसुन भित्रिँदा पश्चिमतिर तातो हावाको लहर छ,’ अधिकारीले भने, ‘अझै केही दिनसम्म पश्चिमतिर गर्मी नै हुने सम्भावना छ ।’

सरदरभन्दा बढी वर्षा हुने सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा र सरदरभन्दा बढी गर्मी हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म छ ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

बढी वर्षा हुँदा बाढी पहिरोको जोखिम पनि बढी हुने भएकाले  पूर्व सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

दक्षिण एसियाली देशमा मनसुनलाई ठूलो असर गर्ने प्रणाली भनेको प्रशान्त महासागरमा देखिने ‘अल–निनो’ र ‘ला–निनो’ गतिविधि हो । समुद्रको सतहको पानी सामान्यभन्दा बढी तातेको अवस्थालाई ‘अल–निनो’ भनिन्छ । यसको असर वायुमण्डलमा पर्दा कम वर्षा हुन्छ ।

‘अल–निनो’को ठिक उल्टो ‘ला–निनो’ हो । अर्थात् समुद्रको सतहको तापक्रम औसतभन्दा चिसो भयो भने त्यसलाई ‘ला–निनो’ भनिन्छ । यसो हुँदा औसतभन्दा बढी वर्षा हुन्छ र बाढी पहिरोको जोखिम बढी हुन्छ । गत वर्ष अलनिनोको प्रभाव थियो । त्यसैले नेपालमा कम वर्षा हुने र बढी गर्मी हुने भनेर जल तथा मौसम विज्ञान विभागले गरेको प्रक्षेपण मिलेको थियो ।

यस वर्ष भने ‘ला–निनो’को प्रभाव छ । सास्कोफका अनुसार चार महिनाको मनसुन अवधिमा सुरुका दुई महिना (जुन–जुलाई)मा ‘अल–निनो’को स्थिति तटस्थ अवस्थामा रहने अनुमान छ । त्यसपछिका दुई महिना अर्थात् (अगस्ट–सेप्टेम्बर)मा ‘ला–निनो’को अवस्था हुने सास्कोफको निष्कर्ष छ ।

दक्षिणपूर्वी वायुसहितको प्रणाली पूर्वी नेपालबाट प्रवेश गर्छ र पानी पर्न सुरु हुन्छ । यो मनसुनी प्रणाली मध्य भूभाग हुँदै पश्चिमसम्म फैलिन्छ । पूर्वी वायुलाई पश्चिमी वायुले विस्थापित गरेपछि मनसुन पनि बाहिरिएको मानिन्छ ।

सम्बन्धित ठाउँको ३० देखि ४० वर्षको अवधिमा परेको वर्षाको तथ्याङ्कको आधारमा औसत वर्षाको मात्रा निकालिन्छ । ११० प्रतिशतभन्दा बढी वर्षा भएमा औसतभन्दा बढी भएको मानिन्छ । ठाउँअनुसार औसत वर्षाको मात्रा फरक–फरक हुनसक्छ ।

मनसुन अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशत पानी पर्दछ । मनसुन अवधिमा औसतमा १ हजार ४३० देखि १ हजार ५३० मिलिमिटरसम्म वर्षा हुने गर्छ । कुनै वर्ष त्योभन्दा १० प्रतिशत घटी वा बढी वर्षा भए पनि औसत नै मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?