+
+

कृतघ्नहरूको देश 

न अग्रजहरूको सम्मान, न नयाँ पुस्तालाई प्रोत्साहन-आजको कटु वास्तविकता हो। यस विषयमा तत्कालै गम्भीर नहुने हो भने समकालीन राजनीतिज्ञहरूका लागि पनि खाल्डाहरू तयार छन्।

गुरुराज घिमिरे  गुरुराज घिमिरे 
२०८१ साउन ८ गते ७:१८

यतिबेला कांग्रेसमा ४२औं बीपी स्मृति दिवसको तात्तातो सन्दर्भ छ। नेपाली कांग्रेसका आफ्ना पार्टी संरचनाहरूले यस दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम र गतिविधि सञ्चालन गरेका छन्। यस अवसरमा राजनीतिका बीपी र साहित्यको विश्वेश्वरप्रसाद कोइरालालाई स्मरण गर्दै उहाँको योगदानको चर्चा गरिन्छ। उहाँ नेपालको धर्तीले पैदा गरेको त्यस्तो सपूत, जसलाई नेपालको राजनीतिक इतिहासमा युगपुरुषको रूपमा सम्झने गरिन्छ, जसको तुलना समकालीन र तत्कालीन राजनीतिमा अन्य पात्रसँग हुनसक्तैन। यो कुनै अतिरञ्जना होइन। यस विषयमा सबै नेपाली एकमत छन् र नेपाल एकढिक्का छ।

जीवनभर राजा, उग्र कम्युनिस्ट र छरछिमेकबाट सताइएको अभागी र दु:खी पात्र बीपी। तर स्वयं भने प्रबल आत्मविश्वासी, सधैं उत्साही र प्रेरक महापुरुष, जसलाई सच्चा प्रजातन्त्रवादीहरू महामानव समेत भन्दछन् र मान्दछन् पनि। हरेक वर्ष साउन ६ गते उनै कालजयी व्यक्तित्वलाई सम्झना गरी श्रद्धा सुमन अर्पण गर्ने दिवस र उनले देखाएको बाटोमा हिंड्ने संकल्प गर्ने दिन !

विगतका कमि-कमजोरी सम्झिएर आफूलाई सच्याउँदै अघि बढ्ने अठोट गर्ने ऐतिहासिक तिथि ! यो क्रम वर्षौंदेखि चलिरहेको छ र नेपाल एवं नेपाली रहेसम्म चलिरहनेछ। आजको दिन सत्तामा पुगेका र बारम्बार अवसर पाएका कांग्रेसजनले यान्त्रिक रूपमा र पार्टीको विचार तथा सिद्धान्तलाई आत्मसात् गरेका कांग्रेसजनले भावनात्मक रूपमा उहाँको स्मरण गर्ने गर्दछन्। यस ऐतिहासिक तिथिमा नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रवर्तक उनै जननायक बीपीप्रति भावपूर्ण श्रद्धाञ्जली !

अङ्ग्रेजीमा एउटा भनाइ नै छ-अनग्रेटफुल पिपल किल द स्पिरिट अफ द सोसाइटी एण्ड स्पोइल द ग्लोरियस हिस्ट्री अर्थात् ‘कृतघ्न व्यक्तिहरूले समाजको उत्साहलाई मारिदिन्छन् र गौरवशाली इतिहासको विघटन गर्छन्।’

ठ्याक्कै नेपाल यस्तै मोडमा उभिएको छ। हामीले बुझ्नुपर्छ कि जुन समाजले आफ्ना पुर्खा तथा अग्रजहरूको सम्मान गर्दैन, त्यो समाजको अधोगति र पतन पक्का छ। हाम्रा अग्रजहरूले ठूलो संघर्ष, त्याग र बलिदान गरेर आजको समाज र सभ्यतालाई जोगाएका, हुर्काएका र वर्तमानसम्म डोर्‍याएका हुन्। हामीलाई बाँच्ने, उन्नति गर्ने र अघि बढ्ने कला सिकाएका हुन्।

आफ्ना सन्ततिको सुखद् र सहज जीवनको खोजीमा भयानक जोखिम उठाएका र आफ्नो जीवन गुमाएका हुन्। उनकै त्याग र बलिदानका कारण आज हामी यहाँ उभिएका छौं। यस सन्दर्भका ऐतिहासिक कथा र गाथाहरू हामी सबैले पढ्दै र सुन्दै आएका छौं।

यस्तो प्रसंगमा पृथ्वीनारायण शाह र बीपी कोइरालाको नाम अग्रपंक्तिमा आउँछ। यद्यपि नेताको रूपमा सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद कोइरालाको नाम पनि सँगसँगै आउँछ र सबैको योगदान र संघर्ष नेपालको इतिहासमै अविस्मरणीय छ। पछिल्लो कालखण्डमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सम्पन्न ऐतिहासिक जनआन्दोलनको परिणामस्वरूप नेपालमा भएको युगान्तकारी परिवर्तनका कारण नेपाली राजनीतिमा उहाँको विशिष्ट स्थान रहेको छ।

समग्रमा नेपालको राजनीतिक इतिहासको अध्ययन गर्दा राजा पृथ्वीनारायणदेखि बीपी र अन्ततः जीपीसम्म आइपुग्दा परिवर्तनको गौरवशाली शृङ्खला पूरा भई सिद्धान्त र वादको विवादले निकास पाएको छ। र, देश हिंड्ने राजनीतिक राजमार्ग तय भएको छ। यो चानचुने उपलब्धि होइन। तर यस बाटोमा हामी कति हिंडेका छौं, समीक्षा गर्ने बेला आएको छ।

प्रजातन्त्र अर्थात् लोकतन्त्रको माध्यमबाट जनताको जीवनलाई सुखद्, समाजलाई समुन्नत र राष्ट्रको प्रतिष्ठालाई उच्च बनाउन सकिएन भने चाहिं यी सबै परिवर्तनहरू निरर्थक हुनेछन्। आजका हाम्रा गतिविधिहरूले परिवर्तनलाई सार्थक बनाउन सकेका छैनन्।

संस्थापक र शहीदको अपमान 

समाजको मेधावी सदस्यलाई कसैले दास बनाउन सक्तैन। प्रतिभाले फस्टाउने ठाउँ खोज्छ। यदि उसले त्यो ठाउँ प्राप्त गरेन भने विद्रोहको बाटो रोज्छ या पलायनको। दुवै बाटो देशका लागि हानिकारक छ

यतिबेला नेपाली राजनीतिलाई कृतघ्न र स्वार्थीहरूको सानो झुन्डले कब्जामा लिएको छ। राजनीतिका आदर्शहरू दार्शनिक ग्रन्थमा सीमित दन्त्यकथा बन्दै गएका छन् र फगत बुद्धिविलासका प्रसंग मात्र सावित हुन थालेका छन्। निर्दलीय, बहुदलीय, निरंकुश र गणतान्त्रिक राजनीति फगत स्वार्थ पूरा गर्ने हतियार साबित हुँदै गएको छ।

हामी सबैलाई थाहा छ, आजको दिन नेपालका त्यस्ता राजनेताको देहावसान भएको दिन हो, जसले नेपाली समाजलाई १०४ वर्ष लामो घनघोर निरंकुशता र जहाँनियाँ शासनबाट मुक्ति दिलाएका थिए। र नेपालमा सर्वप्रथम राजनीतिक स्वतन्त्रता, सामाजिक न्याय र आर्थिक समुन्नतिको नयाँ युगको सूत्रपात गरेका थिए। २००७ साल फागुन ७ त्यस्तो ऐतिहासिक दिन थियो, जहाँबाट नेपाली समाजले प्रजातन्त्र र खुला समाजको अभ्यास प्रारम्भ गरेको थियो।

एक शताब्दी भन्दा लामो दमनकारी शासन व्यवस्था समाप्त भई खुला प्रजातान्त्रिक युगको अभ्युदय भएको थियो। जनताको शिरमाथि झुण्ड्याइएको निरंकुशताको तरबार हटेको थियो। समकालीन समाजले त्यस दिनको सम्झना कसरी गर्दैछ त? र त्यस्तो दिन ल्याउन आफ्नो जीवन नै दाउमा राख्ने राजनेताको जन्मदिनलाई कसरी स्मरण गर्दैछ? संसारले हेरिरहेको छ र नेपालीहरूको चरम कृतघ्नताको तमासा हेरिरहेको छ।

कम्तीमा नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको योगदानलाई हामीले पूर्णरूपले स्वीकार्न सकिरहेका छैनौं, न त प्रजातान्त्रिक आन्दोलनका महानायक बीपीको योगदानलाई। यसैबाट हाम्रो कृतघ्नताको स्तर मापन गर्न सकिन्छ।

न प्रेरणा न उत्साह 

समकालीन नेपालमा नयाँ पुस्ताले कहिल्यै सुख पाएन र भविष्यको छाँटकाँट पनि उस्तै छ। समकालीन राजनीतिक नेतृत्वले देशका लागि अतुलनीय योगदान पुर्‍याउने अग्रजको निरन्तर उपेक्षा र अवमूल्यन गरिरहेकाले नेपाली समाजमा खासगरी नयाँ पुस्तामा उत्साह हराएको छ। आफ्नो सम्पूर्ण जीवन समर्पण र बलिदान गर्ने अग्रजहरूले त सम्मान पाउँदैनन् भने हामीले किन काम गरेर बहुमूल्य जीवन खेर फाल्ने भन्ने भावना विकसित भएको छ। राजनीतिक दलभित्र यसको कुनै महत्त्व छैन। जब कुनै पनि देशको समाज उत्साहहीन बन्छ र नयाँ पुस्ताले राज्यबाट प्रेरणा र संरक्षण प्राप्त गर्दैन, त्यो समाजको पतन अवश्यम्भावी छ।

दुःखका साथ भन्नुपर्छ, हाम्रो देश यतिबेला यही बाटोमा छ। नेपालबाट डरलाग्दो रूपमा भइरहेको प्रतिभा पलायनको मुख्य कारण यही हो। समाजको मेधावी सदस्यलाई कसैले दास बनाउन सक्तैन। प्रतिभाले फस्टाउने ठाउँ खोज्छ। यदि उसले त्यो ठाउँ प्राप्त गरेन भनेर विद्रोहको बाटो रोज्छ या पलायनको। दुवै बाटो देशका लागि हानिकारक छ। योग्यता र दक्षताको कदर नहुने देश कहिल्यै उँभो लाग्दैन। यो विश्वव्यापी यथार्थ मान्यता हो। तर हामी आफ्नो स्वार्थमा यति लिप्त छौं कि स्वयं के गर्दैछौं, हामी आफैंलाई थाहा छैन।

यही प्रवृत्ति र सिलसिला जारी रहने हो भने केही वर्षभित्र नेपालमा ज्वरो आउँदा स्लाइन चढाउने सामान्य प्राविधिक पनि बाँकी रहने छैनन्। यसबाट राज्यको गैरजिम्मेवार चरित्र उद्घाटित हुन्छ। र यसका लागि हामी बाहेक अरू कोही जिम्मेवार छैन। के बीपीको सपना यही थियो? कसले समीक्षा गर्ने र कहिले गर्ने? हामी इतिहासको दोबाटोमा छौं। एकापट्टि कहालीलाग्दो सुरुङ छ, अर्कोतिर सुधारको बाटो। निसंकोच भन्न सकिन्छ, हाम्रो यात्रा सुरुङतर्फ अग्रसर छ।

के बीपी कोइरालाले कांग्रेसका लागि मात्र राजनीतिमा आफ्नो जीवन समर्पण गरेका हुन् ? उनलाई नेपालको साझा नेता मानेर राष्ट्रिय रूपमा नै जन्मजयन्ती वा स्मृति दिवस मनाउन सकिंदैन ?

सत्य तितो हुन्छ, सुन्न र पचाउन निकै गाह्रो हुन्छ तर हाम्रो वास्तविकता यही हो। अझ शासनको केन्द्रमा बसेकाहरूका लागि त असह्य नै हुन्छ। किनभने सत्ताले व्यक्तिलाई उन्मादी र अन्धो बनाइदिन्छ। हामी अहिले यही स्थितिमा छौं। र भयानक दुर्घटनातर्फ अगाडि बढ्दैछौं। यो राष्ट्र र जनताका निम्ति ठूलो अपराध हो।

गौरवको अवमूल्यन 

हाम्रा अमूल्य निधि र सम्पदाहरूले हामीलाई समृद्ध बनाएका हुन्। त्यसमध्ये बीपी कोइराला नेपालका राजनीतिक तथा विश्वेश्वरप्रसाद कोइराला साहित्यिक सम्पदा हुन्। यसका अतिरिक्त पनि हामीसँग अनगिन्ती सम्पदाहरू छन्, जसको हामी निरन्तर अवमूल्यन गरिरहेका छौं। सिद्धान्तमा कलात्मक रूपमा महिमामण्डित गर्छौं, गौरवगाथा गाउँछौं तर हाम्रो व्यवहार ठिक विपरित छ।

यसको एउटै उदाहरण, मोरङ जिल्लाको धनपाल गाउँपालिकाको कर्सिया बजारमा अवस्थित बीपी कोइरालाको मधेश आन्दोलनको दौरान भत्काइएको प्रतिमा हो। त्यो प्रतिमा २०४६ को जनआन्दोलन पश्चात् निर्वाचनको माध्यमबाट गठन भएको जिल्ला विकास समितिको अगुवाइमा निर्मित र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा समुद्घाटित गरिएको थियो।

२०६२/६३ को जनआन्दोलनको सफलतापश्चात् भएको मधेश आन्दोलनको दौरानमा जानेर/नजानेर यस प्रतिमालाई ढाल्ने काम भयो। हामी सबैलाई थाहा छ, बीपी कोइराला मधेशलाई असाध्य माया गर्नुहुन्थ्यो, मधेशी जनता र आदिवासी जनजातिलाई सबैभन्दा राष्ट्रवादी ठान्नुहुन्थ्यो। यो कुरा तराई मधेशलाई राम्रोसँग थाहा छ। उहाँप्रति मधेशी जनताको अपार सम्मान छ।

यस्तो हुँदाहुँदै आन्दोलनको क्रममा अनायासै प्रतिमा तोडिएको हो। यस पंक्तिकारलाई लाग्छ, प्रतिमा तोडफोड आन्दोलनको एजेन्डा नै थिएन। तत्कालीन मधेश आन्दोलन आफ्नो पहिचान र अधिकारका लागि भएको थियो, जसमा दर्जनौं नेपाली शहीद भए। त्यस आन्दोलनले नेपाललाई समावेशिता सहितको संघीयतामा लग्यो। त्यसयता १५/१६ वर्ष व्यतीत भइसक्यो।

नेपालको मौजुदा संविधानका विषयमा मधेशको अझै गुनासो बाँकी नै भए पनि दुई दुईवटा संसदीय चुनाव र स्थानीय चुनाव सम्पन्न गरेर संघीयताको पर्याप्त अभ्यास पनि भइसकेको छ। हामीसँग यसका अनुभवहरूको संग्रह पनि छ। धनपाल गाउँपालिकामा २०७४ सालमा तत्कालीन (२०४९) जिल्ला विकास समितिका सभापति रहेका कांग्रेस नेता नै पालिका अध्यक्षको रूपमा निर्वाचित भए। तर प्रतिमाको पुनर्निर्माण उनको प्राथमिकतामा कहिल्यै परेन।

तत्पश्चात् २०७९ को निर्वाचनमा पनि कांग्रेस नेता नै निर्वाचित भएका छन्। तर पुनर्निर्माणको कुनै सुरसार छैन। हुलाकी राजमार्गको सार्वजनिक चौराहामा भत्किएको प्रतिमाले कांग्रेसलाई गिज्याइरहेको छ। यसले नेता, मन्त्री, सांसदहरू कसैलाई पोल्दैन र सामान्य लज्जाबोध पनि हुँदैन।

यसबाट के प्रमाणित हुन्छ भने हामीलाई हाम्रो निहित स्वार्थ बाहेक अन्य कुनै कुराको मतलब छैन, चाहे त्यो बीपीकै हुर्मत या अपमान किन नहोस्। योभन्दा ज्यादा संवेदनहीनता अरू हुन सक्तैन।

पार्टीहरूको साझा प्रवृत्ति 

यस्तो चरित्र र प्रवृत्ति नेपालका सबैजसो पार्टीहरूमा विद्यमान छ। सबैले आफ्ना संस्थापक र अग्रजहरूको गर्नुसम्म अपहेलना गरेका छन्। तर उनीहरूको मुखमा भने चारै प्रहर राम–राम नै आउँछ। विश्वका कुनै पनि देशमा यस्तो कृतघ्नता भेटिंदैन।

के नेपालले आफ्नो इतिहासको विकासक्रममा एउटा पनि साझा अग्रज पैदा गर्न सकेन त ? के हामी राजा पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता मान्न सक्तैनौं ? कि त्यसो गर्दा राजतन्त्र फर्किएर हामी सबै जेल जानुपर्छ भन्ने लाग्छ ? के बीपी कोइरालाले कांग्रेसका लागि मात्र राजनीतिमा आफ्नो जीवन समर्पण गरेका हुन् ? उनलाई नेपालको साझा नेता मानेर राष्ट्रिय रूपमा नै जन्मजयन्ती वा स्मृति दिवस मनाउन सकिंदैन ?

यी सबै गम्भीर प्रश्नहरूको उत्तर हामीलाई कसले दिने? तसर्थ नेपाललाई विवेकशील र अग्रजहरूप्रति कृतज्ञ राष्ट्र बनाउने हो भने यस्ता विषयमा गम्भीर बन्नुपर्छ। दुःखका साथ भन्नुपर्छ हिजोआजका हाम्रा गतिविधिहरूले यस्तो सन्देश दिन सकेका छैनन् र संभवत: दिने पनि छैनन्।

मुलुकका दुई ठूला राजनीतिक दलहरूको सरकार भएका बेला यस्ता संवेदनशील विषयमा ध्यान पुग्नुपर्छ। न अग्रजहरूको सम्मान, न नयाँ पुस्तालाई प्रोत्साहन आजको कटु वास्तविकता हो। यस विषयमा तत्कालै गम्भीर नहुने हो भने समकालीन राजनीतिज्ञहरूका लागि पनि खाल्डाहरू तयार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?