१९ भदौ, काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठक समापनमा पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश पोखेका छन् ।
बुधबार केन्द्रीय मुख्यालय च्यासलमा पोलिटब्यूरो बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डबाट धोका हुन लागेको थाहा पाएरै नेपाली कांग्रेससँग सत्ता सहकार्य सुरु गरिएको बताए ।
‘प्रचण्डले छुरा तिखारेर बसेका थिए । तर मैले एक राउण्ड किक् दिएको हो’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक पोलिटब्यूरो सदस्यले भने, ‘अहिले असन्तुलित भएर बोल्दैछन् ।’
प्रचण्डले अनेक नाममा धोकाको राजनीति गर्ने ओलीले बताएका थिए । एक पोलिटब्यूरो सदस्यका अनुसार प्रचण्डले समाजवादी मोर्चा भनेर पनि धोकाकै राजनीति गर्न खोजिरहेको ओलीले बताएका छन् ।
‘समाजवादी मोर्चाको प्रस्ताव प्रचण्डले गरेका थिए, तर मैले मानिनँ । किनकि त्यसको उद्देश्य सही थिएन’ ओलीको भनाइ थियो, ‘तपाईंहरु कतिपय अझै पनि वाम एकता भन्नुहुन्छ, सुन्दा प्रिय पनि लाग्छ । तर त्यो मोर्चा धोकाको मोर्चा हो ।’
प्रतिक्रिया 4