+
+
दशैं–बसैं :

बसाइँसराइको आधा हिस्सा ‘वैवाहिक बसाइँसराइ’

नेपाल जीवनस्तर सर्वेक्षण अनुसार, बसाइँसराइको करिब आधा हिस्सा वैवाहिक बसाइँसराइको छ । त्यसपछि भने परिवार पछ्याउने, कामको खोजी, शिक्षा र अवसरका लागि बसाइँसराइ हुने गरेको छ ।

विजय पराजुली विजय पराजुली
२०८१ असोज २३ गते १२:४०
दाङका थारु समुदायको परम्परागत बिहे । फोटो : कुलदीप न्यौपाने

काठमाडौं । सुविधा खोज्दै गाउँबाट शहर र हिमाल तथा पहाडबाट तराई झर्ने ‘ट्रेन्ड’ झनै बढ्दै गएको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, वित्त सहित रोजगारीका लागि हिमाल र पहाडको जनसंख्या तराईतिर र गाउँको जनसंख्या शहरतिर बसाइँसराइ गर्ने क्रम बढ्दो छ ।

केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार विगत १० वर्षमा देशको कुल जनसंख्या २६ लाख ९७ हजार ९७६ ले बढ्दा वृद्धिको अधिकांश हिस्सा तराईले नै ओगटेको छ ।

२०६८ यता तराई क्षेत्रमा बसोबास गर्नेको कुल जनसंख्या २३ लाख ४७ हजार १२३ ले बढेको छ । जबकि, १० वर्षमा पहाडी क्षेत्रमा ३ लाख ५४ हजार ५४१ ले बढ्दा हिमाली क्षेत्रमा ३ हजार ६८८ ले जनसंख्या कम भएको छ ।

भौगोलिक क्षेत्र अनुसार, कुल जनसंख्या वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ । २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा बढेर ५३.६६ प्रतिशत पुगेको छ ।

हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा ६.०९ प्रतिशत छ । पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत अंश रहेकोमा २०७८ मा ४०.२५ प्रतिशतमा झरेको छ । वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ०.०२ प्रतिशतले ऋणात्मक छ । पहाडी क्षेत्रमा न्यून ०.२९ प्रतिशत वृद्धिदर र तराई क्षेत्रमा अन्य क्षेत्रमा १.५६ प्रतिशत वृद्धि छ ।

आन्तरिक बसाइँसराइ अत्यधिक हुँदा मुलुकमा जनसंख्या वितरण असन्तुलित बन्दै गएको छ । जनसंख्या वितरणमा तराई क्षेत्रको हिस्सा ठूलो दरमा बढ्दो छ । विज्ञका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार सहित रोजगारीका लागि हिमाल र पहाडको जनसंख्या तराईतिर सर्दैछ । जनसंख्या वितरण थप असन्तुलित बन्दै गए भविष्यमा विकास वितरण र आर्थिक, राजनीतिक तथा सामाजिक व्यवस्था समेत प्रभावित हुने जोखिम छ ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभाग प्रमुख प्रा. डा. योगेन्द्र गुरुङ ‘मोबिलिटी’ बढेसँगै बसाइँसराइ पनि बढेको बताउँछन् । ‘मोबिलिटी विकाससँगै आउने हो । विकसित देशमा नेपालभन्दा धेरै मोबिलिटी हुन्छ’ गुरुङ भन्छन्, ‘नागरिक गतिशील र सक्रिय हुँदा मोबिलिटी बढ्छ । नागरिकले जहाँ अवसर पाउँछन् त्यतै मोबिलिटी बढी हुन्छ । अवसर खोज्दै हुने मोबिलिटी नराम्रो संकेत होइन ।’

तर, नेपालमा भने अवसर खोजीमा हुने मोबिलिटीका कारण जनसंख्या वितरणमा असन्तुलन बढ्दै गएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले ३४ जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको देखाएको छ ।

काठमाडौं र पोखरा जस्ता शहर बाहेक हिमाली र पहाडी जिल्लामा नागरिक बस्न रुचाउँदैनन् । जहाँ सेवा–सुविधा र अवसर छ, मान्छे त्यतै सर्दै जान्छन् । यस्तो असन्तुलित बसाइँसराइ भने जोखिमपूर्ण रहेको प्राध्यापक गुरुङ बताउँछन्  ।

प्रदेशगत वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनीमा १.२५ प्रति वर्ष र सबैभन्दा कम गण्डकीमा ०.३० प्रति वर्ष छ । मधेशपछि तराईका धेरै जिल्ला समावेश भएको लुम्बिनीमा बुटवल र दाङ उपत्यका जस्ता भूभाग छन् ।

दोस्रो धेरै वार्षिक जनसंख्या वृद्धिदर हुने प्रदेशमा मधेश छ । जसको वृद्धिदर १.२० प्रति वर्ष छ । अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.० भन्दा कम छ । यसले पनि मधेश र लुम्बिनी प्रदेशमा जनसंख्या वृद्धिदर उच्च रहेको देखाउँछ ।

जन्मदर उच्च भएर भन्दा बसाइँसराइका कारण पहाड र हिमाली क्षेत्रबाट तराईमा पूर्वाधार र सेवा–सुविधा तथा रोजगारी खोज्दै सर्नेका कारण तराईमा उच्च जनसंख्या वृद्धिदर छ । नेपालगञ्ज र कोहलपुर, दाङ उपत्यका तथा बुटवल जस्ता ठूला शहरमा बढ्दो जनसंख्या चापले लुम्बिनीमा जनसंख्या उच्च दरमा बढिरहेको छ ।

प्रदेश मात्र नभई जिल्लाको जनसंख्या वृद्धिदर तथ्यांकले पनि सुविधा र रोजगारी खोजीमा पहाडबाट तराई र गाउँबाट शहर बस्ने क्रम बढेको देखाएको छ ।

जनगणना २०७८ अनुसार जिल्लागत वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक छ । यसैगरी सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुरमा ३.३२ प्रतिशत र सबैभन्दा कम रामेछाप जिल्लामा भने १.६५ प्रतिशतले ऋणात्मक छ ।

राष्ट्रिय जनगणना २०७८ को ग्रामीण–शहरी जनसंख्या वितरणले पनि गाउँबाट शहर सर्ने जनसंख्या अनुपात बढ्दै गएको देखाउँछ । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई शहरी तथा गाउँपालिका क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा २०७८ सालको कुल जनसंख्यामा शहरी जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ ।

ग्रामीण जनसंख्या ३३.९२ प्रतिशत छ । संघीय संरचनापछि स्थानीय तहलाई शहरी र ग्रामीण क्षेत्र अनुसार वर्गीकरण गरी २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा शहरी जनसंख्या ६३.१९ प्रतिशत र ग्रामीण जनसंख्या ३६.८१ प्रतिशत थियो । यसले ग्रामीण–शहरी जनसंख्या अनुपात हेर्दा शहरी जनसंख्या बढ्दो क्रममा छ ।

पहाडबाट तराई र गाउँबाट शहर

नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० ले बसाइँसराइका विभिन्न कारण औंल्याएको छ । जसमा बसाइँसराइका करिब आधा हिस्सा वैवाहिक बसाइँसराइको छ । त्यसपछि भने परिवार पछ्याउने, कामको खोजी, शिक्षा र अवसरका लागि नेपालमा बसाइँसराइ हुने गरेको छ ।

वैवाहिक कारणले हुने बसाइँसराइ आर्थिक वा सेवा–सुविधाको कारण नभई सांस्कृतिक विशेषता समेत हो । त्यसपछि बसाइँसराइको प्रमुख कारण शिक्षा, रोजगारी जस्ता अवसर खोजी नै रहेको देखिन्छ । त्यसमा पनि धनी र सम्पन्न वर्गभन्दा गरिब र विपन्न वर्गमा बसाइँसराइ उच्च हुने गरेको छ ।

नेपालमा सन् २०१०/११ मा आन्तरिक बसाइँसराइ दर ३६.९ प्रतिशतबाट २०२२/२३ मा ३८.१ प्रतिशत पुगेको नेपाल जीवनस्तर सर्वेक्षणमा उल्लेख छ । जसमध्ये २०२२/२३ मा ४९.६ प्रतिशत महिला र २५ प्रतिशत पुरुष जन्मस्थान भन्दा बाहिरका ठाउँमा बसोबास गरिरहेका छन् ।

विशेषगरी धनी र सम्पन्न वर्गमा बसाइँसराइ दर उच्च हुने गरेको छ । गैरगरिब जनसंख्यामा बराइँसराइ हुने सम्भावना सबै प्रदेशमा लगातार उच्च देखिन्छ । लुम्बिनीमा गैरगरिब जनसंख्यामा माइग्रेन्टको संख्या ४३.२ प्रतिशत छ । जबकि, गरिब जनसंख्यामा यो संख्या २२.१ प्रतिशत मात्र छ ।

कोशीमा पनि यही प्रवृत्ति छ । कोशीमा गैरगरिब व्यक्तिमा ४४ प्रतिशत बसाइँसराइ छ । गरिब व्यक्तिमा ३० प्रतिशत मात्र छ । काठमाडौं उपत्यकामा सबैभन्दा धेरै बसाइँसराइ छ । काठमाडौं उपत्यकामा रहेको ६०.२ प्रतिशत जनसंख्या बसाइँसराइ गरी आएका हुन् । ग्रामीण क्षेत्रतर्फ सबै प्रदेशमा बराइँसराइ दर न्यून छ ।

ग्रामीण क्षेत्रमा वैवाहिकका कारण बसाइँसराइ हुने भए पनि ती क्षेत्रमा बसाइँसराइ गरी जाने जनसंख्या अनुपात अत्यन्त न्यून छ । तर, ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा बसाइँ सर्ने जनसंख्या उच्च हुँदा काठमाडौं उत्यकामा ६० प्रतिशतभन्दा माथि बसाइँसराइ गरी आएको जनसंख्या देखिएको हो ।

ग्रामीण क्षेत्रमा पनि सबैभन्दा कम कर्णालीमा १६.८ प्रतिशत बसाइँसराइ दर छ । ग्रामीण क्षेत्रमा यो दर २६.७ प्रतिशत हुँदा शहरी क्षेत्रमा ३९.९ प्रतिशत छ । यसले शहरी र ग्रामीण क्षेत्रको राष्ट्रिय प्रवृत्ति प्रतिबिम्बित गरेको नेपाल जीवनस्तर सर्वेक्षणमा उल्लेख छ ।

नेपालमा २९.५ प्रतिशत जनसंख्या पहिलो पटक ग्रामीण क्षेत्रबाट बाहिर सरेको पाइएको छ । ५.१ प्रतिशत शहरी क्षेत्रबाट बाहिर गएको देखिएको छ । यसले पनि बसाइँसराइका प्रवृत्ति ग्रामीण क्षेत्रबाट अन्यत्र बसाइँ सर्ने दर उच्च हुँदा शहरी क्षेत्रमा न्यून रहेको देखाउँछ । ३.५ प्रतिशत नेपाल बाहिरबाट सरेका छन् ।

काठमाडौं उपत्यकामा बसाइँसराइ गरी आउने ४७.३ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रबाट उत्पत्ति भएका पाइएको हो । नेपालमा वैवाहिक कारण बसाइँसराइ गर्ने जनसंख्या ४९.३ प्रतिशत छ । यसबाहेक रोजगारी अथवा विविध सेवा–सुविधाका कारण परिवार पछ्याएर बसाइँसराइ गर्ने जनसंख्या २५.६ प्रतिशत छ । ७.३ प्रतिशतले शिक्षा र तालिमका लागि बसाइँसराइ गरेका छन् । ७.१ प्रतिशतले कामका लागि बसाइँसराइ गरेको सर्वेक्षणले देखाएको छ ।

बागमती प्रदेशमा विवाहका कारण ३३.१ प्रतिशत बसाइँसराइ हुँदा काम खोज्ने १५ प्रतिशत र शिक्षाका लागि ११.४ प्रतिशत बसाइँसराइ भएको पाइएको छ । कर्णालीमा ९.२ प्रतिशतले शिक्षाका लागि बसाइँसराइ गरेका छन् ।

काठमाडौं उपत्यका बाहेक शहरी क्षेत्रमा बसाइँसराइका कारणमा परिवार पछ्याउने २७ प्रतिशत र कामको खोजीमा सर्ने ५.३ प्रतिशत छन् । काठमाडौं उपत्यकामा कामका लागि सर्नेको दर उच्च  छ । कामको खोजीमा १८.९ प्रतिशत उपत्यका सर्ने गरेको पाइएको छ ।

त्यस्तै शिक्षाका लागि सर्नेको प्रतिशत १३.७ छ । यसले पनि अवसरको खोजी र शैक्षिक कारण गाउँबाट शहर सर्ने क्रम उच्च रहेको देखाउँछ, अवसरलाई प्रतिविम्बित गर्छ । नेपालको समग्र जनसंख्यामा बसाइँसराइ अनुपात १४.६ प्रतिशत छ ।  जसमा पुरुष अनुपात १८.८ र महिलाको १०.८ प्रतिशत छ ।

जीवनस्तर सर्वेक्षण अनुसार मुख्य सुविधामा पहुँच मापनले पनि ग्रामीण क्षेत्रमा सुविधा पाउन तुलनात्मक असहज रहेको देखाएको छ । शिक्षादीक्षा, स्वास्थ्य, सडक पूर्वाधार, बजार, कृषि, बैंकिङ तथा वित्त, पिउने पानी स्रोत, सुरक्षा (प्रहरी), प्रशासनिक सेवा (वडा कार्यालय) र सार्वजनिक पुस्तकालय जस्ता प्रमुख सुविधामा पहुँच मापनमा ग्रामीण, पिछडिएको क्षेत्रको तुलनमा शहरी सुगम क्षेत्रमा सहज पहुँच रहेको देखाउँछ ।

सर्वेक्षणले पहुँचलाई ‘घर नजिक’ र ‘पुग्न लागेको समय’ विभिन्न यातायातका साधन (पैदल सहित) र किलोमिटरमा दूरीका आधारमा मापन गरेको छ । ‘अहिले सबैभन्दा धेरै बसाइँसराइको लागि रोजाइको गन्तव्य काठमाडौं उपत्यका नै छ । क्षमता र पहुँच हुनेले पहिलो प्राथमिकतामा रोज्ने काठमाडौं उपत्यका नै हो । राज्यले समावेशी विकास आवश्यक छ भनेर नसोच्दा यो समस्या बढेको हो’, प्रा.डा. गुरुङ भन्छन् ।

काठमाडौं उपत्यकामा मात्रै प्रशासनिकदेखि सबै सेवा–सुविधा र शक्ति केन्द्रित हुँदा देशभरिबाट अवसर खोज्दै आउने काठमाडौं वा पूर्वाधार विकास भएको तराईका सुगम क्षेत्र नै रहेको उनले बताए ।

‘त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको सुदूरपश्चिमको कुनै क्याम्पस पढ्यो भने त्यसको सर्टिफिकेट लिन काठमाडौं आउनुपर्छ’ गुरुङ भन्छन्, ‘२०४६ पछि विकेन्द्रीकरणको जति कुरा गरे पनि सबै झन धेरै केन्द्रीकृत भएर गयो । संघीयताले पनि केन्द्रीकृत पद्धति बढ्दै गएको छ ।’

सुविधा र पहुँचले बढायो बसाइँसराइ

सुविधा पहुँचले पनि बसाइँसराइ आकर्षित गर्छ । काठमाडौं उपत्यकामा बसाइँसराइ उच्च छ भने बागमती प्रदेशकै रामेछापमा जनसंख्या वृद्धिदर सबैभन्दा धेरै ऋणात्मक छ । काठमाडौं उपत्यकामा सबैभन्दा धेरै जनसंख्या रहेको र बसाइँसराइ समेत उच्च छ । काठमाडौं उपत्यका र चितवनले गर्दा बागमती प्रदेश सुविधा पहुँचको हिसाबले अगाडि छ ।

त्यसपछि लुम्बिनी र मधेश प्रदेश पनि सुविधा पहुँचका हिसाबले अगाडि छन् । कर्णाली, गण्डकी, सुदूरपश्चिम र कोशी सुविधा पहुँचका हिसाबले पछाडि छन् । कोशीमा चार जिल्ला र सुदूरपश्चिमका दुई जिल्ला तराईमा पर्छ ।

यस्तै गण्डकीमा पनि पोखरा उपत्यका बाहेक अन्य सबै पहाडी र हिमाली भूगोल छ । विभिन्न ८ वटा सुविधाको पहुँच विश्लेषण गर्दा पनि बागमती, लुम्बिनी र मधेश प्रदेश अगाडि रहेको देखाउँछ । जुन बसाइँसराइको प्रमुख कारण पनि हो ।

शिक्षा, स्वास्थ्य, सडक यातायात, बजार केन्द्र, कृषि तथा पशु सेवा/पशु चिकित्सा केन्द्र, सहकारी र बैंक, प्रहरी चौकी, वडा कार्यालय लगायतको सहज पहुँच जहाँ बढी उपलब्ध हुने गर्छ, अधिकांश जनसंख्या त्यतै बसाइँसराइ गर्ने गरेको पाइन्छ ।

दशैं-बसैं
लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?